|

काठमाडौं : प्रेमका विषयमा सबैका आ-आफ्नै परिभाषा हुन्छन्। शनिबार बत्तिसपुतलीस्थित शिल्पी नाटकघर भएको प्रेम बहसमा साहित्यकारहरुले आफ्नै शैलीमा प्रेमको परिभाषा दिए। त्यसपछि एउटै निस्कर्षमा पुगे,'प्रेमबिना जीवन अधुरो छ।'

'पर्फ्युम: समकालीन प्रेमकथा' पुस्तक आनावरण कार्यक्रममा भएको थियो प्रेमबारे बहस। संयोजक घिमिरे युवराजले प्रेमबारे प्रश्‍‍न राखेपछि उपस्थित भएका स्रष्टाहरुले प्रेम,जीवन र जगत् सम्बन्धी आफ्ना रोचक अनुभव सुनाए।  'मान्छेले जीवन जीउने क्रममा सजिलो पार्न कसैले साथ दिन्छ भने त्यसलाई प्रेम भनिन्छ', कवि संगीत स्रोताले भने, 'विपरित लिंगीहरुको आकर्षण मात्रै प्रेम हो भन्ने म मान्दिंन। त्यो त कुखुराको भालेपोथी र जनावरमा पनि हुन्छ।' उनले प्रेमलाई जीवनको सहजतासँग जोडेर बुझ्नुपर्ने बताए।

समयसँगै  प्रेमबारेको बुझाइमा फरकपन आएको लेखक नारायण ढकालले बताए। 'विभिन्न साहित्यकारहरुले प्रेमलाई 'धोका हो' र 'पागलपन हो' भन्ने गरेका थिए तर अबको जमानामा प्रेम पागलपन हैन भन्ने बुझाइ स्थापित भैसकेको छ,' उनले भने।

उनले आफू पढ्ने बेलाको अनुभव सुनाए, 'एक जमानामा प्रेम गर्नु अपराध मानिन्थ्यो। म आइएस्सी पढ्दाखेरी मेरो साथीले लभ गरेको। उनीहरु घुम्दै थापाथली को मन्दिर गएछन्। उनीहरुलाई जोडी भएको देखेर त्यहाँका मान्छेले पिटिदिएछन्।'

उनले अहिले आएर प्रेमको बुझाइमा महिला र पुरुषमा फरकपन आएको बताए। प्रेम दिवस लगायतका कुराले महिलाले झन् राम्रो अवसर पाएको ढकालले बताए। 'महिलाहरुले प्रेम अभिव्यक्त गर्ने मामलामा बढी स्वतन्त्रता पाएका छन्। विगतका उर्वसी मेनाकाका जस्ता कसैले प्रयोग गर्ने मामलाका प्रेम भएका छैनन्।'

लेखक प्रगती राईले समाज, धर्म र संस्कृति अनुसार प्रेमबारेको बुझाई फरक रहेको बताइन्। 'किराँतहरुको धर्मग्रन्ध मुन्धुममा महिला नै प्रमुख रहेका छन्, जसले महिलाहरुलाई स्वतन्त्रता दिएको छ। तर अन्य धर्म र संस्कतिका समाजमा प्रेमलाई बर्जित भएको हुनसक्छ।'

पुस्तकबारे बोल्दै राईले भनिन्, 'यी कथाहरु गहिरा छन्। प्रेममा युवायुवतीबीच हुने आकर्षण यी कथाहरुमा छन्। तर फराकिला हुन भने सकेका छैनन्।'

कथासंग्रहमा संकलित कथाहरु पढेपछि समकालिन समाजका युवाहरुले प्रेमलाई लिएर कस्तो धारणा बनाएका छन् भन्ने बुझ्न सकिने बहसमा सहभागीको साहित्यकारहरुको धारणा थियो।

पुस्तकमा अमर न्यौपाने, अश्विनी कोइराला, अभय श्रेष्ठ, विनोदविक्रम केसी, लेनिन बञ्जाडे, मनिषा गौचन, उमा सुवेदी, ऋचा भट्टराई, नयनराज पाण्डे लगायत २४ लेखकका कथाहरु संग्रहित छन्। राजकुमार बानियाँ र दीपक सापकोटाले सम्पादन गरेको कथासंग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.