|

  •  अनिल खत्री-

 गुल्मी : गुल्मी जिल्लामा २ सय ९५ क्षयरोगका बिरामी रहेको तथ्यांक भेटिएको छ। महिला ९९ र पुरुष १ सय ९६ गरी २ सय ९५ जनाले जिल्लाका विभिन्न स्थानमा रहेका उपचार केन्द्रमार्फत डट्स विधिबाट औषधी खाइरहेबाट यस्तो तथ्यांक फेला परेको हो।

जसअन्तर्गत खकारमा किटाणु देखिएका महिला ३६ र पुरुष ७१ र पुनः उपचारमा आएका पुरुष २० जना गरी १ सय २३ जना रहेका छन्। खकारमा किटाणु नदेखिएका फोक्सोको क्षयरोगका बिरामी महिला २३ र पुरुष ४३ गरी ६३ जना रहेका छन्।

सो संख्यामा पुनः उपचारमा आएका महिला एक र पुरुष चार जना रहेको जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग सुपरभाइजर शिशिर शिलवालले बताए। शरीरका अन्य भागमा यो रोग भएका महिला ४० र पुरुष ६६ गरी १ सय ६ जना रहेका छन्।जसमा दुई जना पुनः उपचार गर्न आएको पुरुष रहेका शिलवालले बताए। ०७१/०७२ मा कुल खकारमा किटाणु देखिएका १ सय १७ मध्ये ६ जनाको मृत्यु भएको उपचार केन्द्रले जनाएको छ।

सरदरमा प्रत्येक वर्ष पाँच प्रतिशतको मृत्यु हुने सुपरभाइजर शिलवालले बताए। आगामी वर्ष घरघरमै पुगेर बिरामीहरुलाई औषधी वितरण गर्ने कार्यक्रम सुरु भएको केन्द्रले जानकारी दिएको छ। औषधी खानकै लागि बिरामीहरु स्वास्थ्य संस्था धाउन नपरोस् भनेर प्रत्येक स्वास्थ्य संस्थामार्फत समुदायमा आधारित डट्स विधि सञ्चालन गरिएको केन्द्रले बताएको छ। टोल टोलमा उपचार सहयोगी नियुक्त गरी तालिम दिने काम भइरहेको पनि कार्यालयले जनाएको छ।

जिल्लाका चार स्थानमा क्षयरोगका जटिल प्रकारका बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ। धुर्कोट गाउँपालिकाको पीपलधारा र जैसीथोक, इस्मा गाउँपालिकाको दोहली र छत्रकोट गाउँपालिकाको पल्लिकोटमा जटिल प्रकारका क्षयरोगका बिरामी रहेका छन्। अरू १० स्थानमा क्षयरोगका बिरामीको संख्या उच्च रहेको कार्यालयले जनाएको छ।

रेसुंगा नगरपालिकाको तम्घासमा सात र दुविचौरमा चार, सत्यवती गाउँपालिकाका ठूलोलुम्पेकमा पाँच र जोहाङमा तीन जना, मुसिकोट गाउँपालिका अन्तरगतका वामीमा आठ र वडागाउँमा पाँच जना क्षयरोगका बिरामी रहेका छन्।

त्यस्तै, छत्रकोट गाउँपालिकाको बिरवासमा सात र दरबार गाउँपालिकाको दरबारदेस्थिानमा तीन जना बिरामी रहेका तथ्यांकले देखाएको छ।

 एकजना क्षयरोगीले समयमा औषधी नगर्दा एक वर्षमा १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन्। सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातिमा पसिना आउने, थकाइ लाग्ने, तौल कम हुँदै जानेजस्ता समस्या केही दिन या केही महिनासम्म देखिन्छ।

तत्काल परीक्षण गराएर औषधी सुरु गरिहाले रोगबाट जोगिन सकिने जिल्ला अस्पताल तम्घासका डाक्टर प्रकाश पुनले बताए। क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुनेबित्तिकै नियमित औषधी सेवन गरे यसबाट जोगिन सकिने पुनको भनाइ छ।

औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमिततामा दिनुपर्नेमा पुनले जोड दिए। नेपालमा बर्सेनि पाँचदेखि सात हजार क्षयरोगीको मृत्यु हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.