|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : पनौती–१२ खोपासीका कृष्णदास उलक जसले च्याउ खेतीबाट नै मासिक रुपमा लाखौं आम्दानी गरिरहेका छन्। ५३ वर्षीय उलकले १२ वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका हुन्।अहिले उनी खोपासी बजारभन्दा केही वर जय माँ हारती च्याउ उद्योग खोलेर काम गरिरहेका छन्। उनले त्यहाँ च्याउ उत्पादनको उद्योग खोलेको १ वर्ष भयो।

च्याउ उद्योगबाट उनले दैनिक २ सय केजीदेखि २ सय ५० केजीसम्म च्याउ उत्पादन गरी बिक्री गरिरहेका छन्। त्यहाँबाट उत्पादन भएको च्याउ काभ्रेपलाञ्चोकको बनेपालगायत काठमाडौंको बजारसम्म पुगेको उनले बताए।

काभे्र खोपासी नै स्थायी घर भएका कृष्णदास ३० वर्ष अगाडिदेखि नै च्याउ खेती गर्न थालेको बताउँछन्। उनी भन्छन्, ‘अहिले म व्यावसायिक रुपमा नै यसै खेतीलाई निरन्तरता दिइरहेको छु।’ यसरी गरिएको खेतीबाट मासिक ३ देखि ४ लाख कमाइ हुने उलकको भनाइ छ। ‘खेती पहिलादेखि नै गरेको भए पनि यसरी मासिक ३ / ४ लाखको कमाइ गरेको भने करिब एक वर्ष जति भयो’ कृष्णदासले भने।

कृष्णदास भन्छन्, ‘मेरो उद्योगमा काम गर्ने मान्छे दैनिक ११÷१२ जना हुन्छन्, उनीहरु दैनिक काम भनेको प्लास्टिकको थैलीमा पराल भर्ने हो।’ त्यससँगै रेखदेख गर्ने पनि अरु मान्छे राखिएको उनको भनाइ छ।

च्याउ खेतीको अनुभव सुनाउँदै उलकले भने, ‘३० वर्ष अगाडिको कुरा हो, पहिला चाहिँ च्याउ कसैले पनि खाँदैनथ्यो, यहाँदेखि काठमाडौंको खिचापोखरीसम्म बेच्न लाँदा पनि खाँदै खाएनन्, च्याउ खायो भने मान्छे मर्छ भन्ने बुझाइ थियो मान्छेहरुमा।’ उनले भने, ‘त्यसैकारणले त्यहाँदेखि बीचमा च्याउ खेती गर्न छाडेको थिएँ।’

पछि आएर सबैको चासो र खाँचोको विषय भएपछि पुन सुरु गरें, यसै खेतीबाट आफैंले खाएर, कामदारलाई दिएर सबै खर्च कटाएर १२ वर्षको बीचमा ४५÷५० लाख जति चाहिँ नगद कमाइ गरेको छु।’ उलकले भने, ‘यो पेसाबाहेक अरु कुनै पनि काम गरेको छैन।’

च्याउ उद्योगमा पुग्ने जो कोहीसँग पनि कुरा गर्ने समय हुँदैन उलकको। उनी च्याउ उद्योगमा आउनेहरुसँग काम गर्दै कुरा गर्ने गर्छन्। ‘कमाएको जति सबै च्याउ खेतीमा नै लगानी गरिरहेको छु।’ उलकले भने, ‘अहिले यस उद्योगबाहेक ३ ठाउँमा यस्तै च्याउ खेती नै गरिरहेको छु।’

 अहिले चाहिँ कामदारहरु पनि राखेर उत्पादन गरिरहेको उनले बताए। उनले एक वर्ष अगाडिदेखि वार्षिक ८० हजारमा ५ रोपनी जग्गा लिजमा लिएर काम गरिरहेका छन्। सबैजसो खेती गरेको जग्गा भाडामा नै लिएको उनको भनाइ छ।

त्यही खेतीबाट दुई छोरा र एक छोरीलाई हुर्काएको उनी बताउँछन्। अहिले उनका दुई छोरा एक जना डोजर अपरेटर र अर्को डोजर चालक रहेका छन्। छोरीले च्याउ खेती नै गरिरहेकी छन्। ‘सुरुमा उनीहरुलाई आफैंले लगानी गरेर काम सिकाए पनि अहिले छोराछोरीको लागि कुनै पनि खर्च दिनु पर्दैन।’ सबै उनीहरु आ–आफैंले कमाएर खाने भएको उलकले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.