|

  • चिरञ्जीवी घिमिरे-

दमक :  तीव्र सहरीकरण तथा पार्किङ अभावमा झापाकै सुन्दर नगरको परिचय बनाएको दमक नगरपालिका यतिबेला अस्तव्यस्त बन्दै गएको छ। नगरपालिकामा जनघनत्व र यातायतको घनत्व बर्सेनि बढे पनि व्यवस्थित पार्किङ नहुँदा समस्या बढ्दै गएको हो।

राजमार्ग आसपासमा तीव्र सहरीकरण तथा पार्किङ अभावका कारण दमकमा सवारी चाप बढ्दै गएकोे छ। जनसंख्या वृद्धि र भौतिक संरचनाको पनि त्यतिकै मात्रामा वृद्धि भए पनि सम्बन्धित निकायले उचित पार्किङको व्यवस्थापन नगर्दा पछिल्लो समय दमक अस्तव्यस्त बन्दै गएको हो।

सिटी सफारी त झनै दमक नगरपालिकाका लागि काउछो बनेको छ। करिब १५ सयको संख्यामा सञ्चालित सिटी सफारीका कारण दमकमा बाटो काट्नसमेत मुस्किल हुने गरेको स्थानीय महेश घिमिरेले बताए। उनले भने, ‘सम्बन्धित निकायले ध्यान नदिँदा बजारको क्षमताभन्दा धेरै सिटी सफारी दर्ता गर्दा समस्या भएको छ, सफारीका कारण दुर्घटना जोखिम बढेको छ, उनीहरुमा चेतनाको कमी हुँदा ट्राफिक नियम पालना गर्न सक्दैनन्।’ तीव्र सहरीकरण भएको दमकको पार्किङ  व्यास्थापनमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने उनी बताउँछन्।

राजमार्ग आसपास मात्र नभई भित्री सडकहरुमा पनि निर्माण सामाग्री जताततै राखिँदा दुर्घटना जोखिम बढेको स्थानीय व्यवसायी गणेश सापकोटा बताउँछन्। उनी भन्छन्,‘नगरपालिकाले नै विभिन्न ठाउँमा संरचना निर्माण गर्दासमेत निर्माण सामग्री जताततै छोडेको हुन्छ, अब आफ्ना सामग्रीसमेत मिलाएर राख्न नसक्नेले कसरी नगरको पार्किङ व्यावस्थापन गर्छ?’

दमकको मुख्य बजार क्षेत्रमा समेत उचित पार्किङ व्यवस्थापन छैन। यहाँको बजार क्षेत्रमा समेत जताततै पार्किङ  गरेको प्रशस्तै भेटिन्छ। बसहरुले पनि जताततै रोकी मान्छे चढाउने र ओराल्ने गर्दा दुर्घटना जोखिम बढेको नेपाली कांग्रेस नगर सभापति रोशन विष्ट बताउँछन्। उनी भन्छन्, ‘दमकमा उचित पार्किङ छैन त्यसैले बसहरु पनि जताततै रोक्छन्, यस्तो गर्दा बसको पछाडि हिँडिरहेको मोटरसाइकल ठोकिने सम्भावना धेरै हुन्छ।’

पार्किङ अस्तव्यस्त भएका कारण दुर्घटना न्यूनीकरणमा समस्या परेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ।तीव्र रुपमा सवारीसाधनको चाप बढीरहेका बेला ट्राफिकले मात्र केही गर्न नसक्ने इलाका ट्राफिक  प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी सहायक निरीक्षक दिनेश चन्द्र अधिकारीले बताए।

सवारीका साधन जताततै रोक्ने र सिटी सफारी चालकमा जनचेतनाको अभावले मुख्य समस्या निम्तिएको उनको भनाइ छ। उनले भने, ‘मैले धेरै पटक छलफल र बहस चलाएको छु तर, पार्किङ व्यवस्थापनमा कसैले चासो देखाउँदैन, यहाँ सिटी सफारी धेरै भए यसको व्यवस्थापन गर्न जरुरी छ, त्यसका लागि सफारी चालकमा अनिवार्य लाइसेन्सको व्यवस्था गरिनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.