|

रौतहट : रौतहट कर्कच कर्मैयाकी ३० बर्षीय सुत्या देवी लामो समयसम्म सुत्केरी व्यथा लाग्यो। आर्थिक अवस्था कमजोर भएकाले परिवारले अस्पताल लैजान सकेको थिएन। 

उनी प्रसव पीडाको छटपटी रहेका बेला लडेर खुट्टा भाँचियो। त्यसपछि भने परिवारले रौतहट जिल्ला अस्पताल पुर्‍यायो। चैत ८ गतेदेखि  रौतहटको गौरमा स्वास्थ्य शिविर सञ्चालन गर्न नेपाली सेना र स्वास्थ्य मन्त्रालयका स्वास्थ्यकर्मीहरु पुगिसकेका थिए। चिकित्सकहरुले उनको आकस्मिक अपरेसन गरे। नेपाली सेनाका चिकित्सक डा. उदय बज्राचार्यले भने 'लामो समयको प्रसव पीडाकै कारण उनको पेटमा रहेको बच्चा र उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भइसकेको थियो। तर हामीले उनी र शिशुलाई बचाउन सक्यौं।'  

१५ वर्षदेखि आङ खस्ने समस्या लिएर बसेकी टैटीदेवी यादव आफ्नो व्यथा ठीक पार्न धेरै खर्च लाग्ने डरले अस्पताल गएकी थिइनन्। नेपाली सेनाले सञ्चालन गरेको शिविरमा उनले पाठेघरको अपरेसन गराइन्। हाल आराम गरेकी उनले बेडबाटै भनिन् 'आर्थिक अभावकै कारण १५ बर्षदेखि व्यथा खपेर हिडिरहेको थिएँ। अहिले यहाँ आएर अपरेसन गरेँ, अब व्यथा ठीक हुने भयो।' नेपाली सेना र स्वास्थ्य मन्त्रालयको सहकार्यका चैत ८ गतेदेखि रौतहटमा सञ्चालित स्वास्थ्य शिविरमा यस्ता सुत्यादेवी र टैटीदेवी जस्ता धेरै विरामीले उपचार गराए। स्वास्थ्य जाँच गर्न सर्वसाधारणको भीड नै लाग्छ। शिविरमा विहान ८ बजेदेखि उपचार सुरु गरिने भए पनि मानिसहरु ६ बजे देखि नै लाइन लाग्छन्। 

शिविर व्यवस्थापनमा खटिएका नेपाली सेनाका महासेनानी दीपक अधिकारीले परीक्षण गराउन आउनेको संख्या बढिरहेको बताए। उनले भने ' परीक्षण गराउन आउनेको संख्या बढिरहेको छ, बिरामीको संख्या घट्नु भन्दा झन् बढिरहेको छ।'

सेनाले सञ्चालन गरेको शिविरमा पहिलो दिन नै ९ सय जनाले स्वास्थ्य जाँच गराए। दोश्रो दिन १३ सय, तेस्रो दिन ११ सय, चौथो दिन साढे ८ सयले उपचार गराएका नेपाली सेनाले जनाएको छ। नेपाली सेना र स्वास्थ्य मन्त्रालयका चिकित्सक टोलीले हरेक दिन औसत २० जनाको अपरेसन गरिरहेको छ। 

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. भोलाराम श्रेष्ठले पहिलो पटक सघन उपचार सहितको बृहत शिविर राख्दा सेवाग्राहीहरु बढेको बताए। उनले भने 'क्षमताले भ्याएसम्मकालाई सोही दिन र नभ्याउनेहरुलाई अर्को दिन उपचारका लागि बोलाउने गरिएको छ। पहिलो पटक सघन उपचार शिविर राखिएको हुँदा पनि विरामीहरु बढिरहेका छन्।'

शिविरका लागि नेपाली सेनाले मोवाइल अस्पताल राखेको छ। जसमा १२ वटा कन्टेनर प्रयोग गरिएको छ। त्यस्तै अपरेसन र भर्ना गर्नुपर्ने विरामी जिल्ला अस्पतालमा राखिएको छ। 

शिविरमा नेपाली सेनाले २१ जना चिकित्सक सहितको १०५ जनाको टोली परिचालन गरेको छ। स्वास्थ्य मन्त्रालयले १९ जना चिकित्सक सहितको टोली परिचालन गरेको छ। मन्त्रालयले वीर अस्पताल, भरतपुर अस्पताल, हेटौडा अस्पताल र गौर अस्पतालबाट चिकित्सकहरु परिचालन गरेको हो। शिविरमा रौतहट सहित बारा पर्सा, सप्तरी, धनुषा, महोत्तरी,सर्लाही लगायतका तराईका झण्डै ८ जिल्ल्लाका नागरिकहरु स्वास्थ्य उपचारका लागि आएका छन्। 

झण्डै ३० प्रतिशत विरामी भारतीय 

निशुल्क स्वास्थ्य शिविरमा नेपाली मात्रै नभई भारतीय नागरिक पनि उपचार गराउन आएका छन्। स्थानीय वासिन्दाका अनुसार सीमा पारी बैरगनिया तथा सितामणिका मानिसहरु उपचारका लागि शिविरमा आएका छन्। स्थानीय रामबाबु यादव भन्छन्, 'झण्डै एक तिहाई त पारीबाट आएकाहरु नै छन्। यहाँ भएको उपचार सेवाले लामो समयसम्म विरामी भएका र राम्रो उपचार नपाएकाहरुले राम्रो उपचार सेवा पाइरहेका छन्।'

स्वास्थ्य टोलीको नेतृत्व गरेका सेनाका चिकित्सक डा. उदय बज्राचार्यले विरामीहरु वारी पारीको भनेर नसोधिएको तर आउने जति सबैको राम्रो उपचार गरिएको बताए। उनले भने 'विरामीहरु आएका छन्, हामीले उपचार गरिहेका छौं। कहाँबाट कति आए भनेर हेर्न भ्याइएको छैन,आउने जतिले स्वास्थ्य लाभ लिएका छन्।'

पाठेघर र हाइड्रोसिलका विरामी धेरै

शिविरमा हाइड्रोसिल र पाठेघर सम्बन्धी समस्या भएका विरामी आएका उपचारमा संलग्न  डा. सर्वेश शर्माले बताए। 'आर्थिक अवस्था र चेतनाको कमीकै कारण धेरैले रोग लुकाएर बसेको पाइयो। महिलाहरुले त १५, २० बर्षदेखि आङ खस्ने रोग उपचार नगरी बसेको पाइयो' उनले भने ' यसबाहेक शिविरमा पित्तथैली, एपेन्डिसाइटिस र पाइल्सका बिरामीको पनि शल्यक्रिया गरिएको छ।' 

नेपाली सेनाले शान्ति प्रक्रियामा आएपछि पहिलो पटक यति वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको हो। यसअघि गत वर्ष भूकम्पका बेला स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच उपचारमा सहकार्य भएपनि यो स्तरको बृहत शिविर भएको थिएन। सोमबारसम्म हुने शिविरमा स्वास्थ्य शिविरमा मोवाइल हस्पिटल मार्फत् ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिइएको छ भने विभिन्न सरकारी अस्पतालका श्रोत साधनहरुको पनि प्रयोग गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.