|

चितवन : चितवन राष्ट्रिय निकुञ्जले गैंडा स्थानान्तरणका लागि ३० वटा हात्ती परिचालन गर्ने भएको छ। २१ चैतदेखि सुरु हुन लागेको गैंडा स्थानान्तरणका लागि निकुञ्जले ३० वटा हात्तीको प्रयोग गरी करिब सय जना परिचालन गर्ने प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

चितवनको सौराहामा आइतबार गैंडा स्थानान्तरणबारे स्थानीय संरक्षणकर्मी र पत्रकारहरुलाई जानकारी दिन आयोजना गरिएको एक कार्यक्रममा यस्तो जानकारी दिइएको हो।

चितवनबाट शुक्लाफाँटा वन्यजन्तु आरक्षका लागि पाँच वटा गैंडा पठाउन २१ चैतदेखि काम सुरु हुँदै छ। यसपटक चितवनबाट २ भालेसहित पाँच वटा गैंडा पठाइने छ। यसपटक निकुञ्जको पश्चिम क्षेत्र सुकिभार, मेघौली र नमुना सामुदायिक वनक्षेत्रबाट गैंडा पठाइने जनाइएको छ।

गैंडा पठाउँदै गर्दा शुक्लाफाँटाबाट बाह्रसिंगेसमेत ल्याइने तयारी भएको कँडेलले जानकारी दिए। ब्राहसिंगे हाल अर्ना ल्याएर राखिएको क्षेत्रमा छाडिने छ।

‘हामीले गैंडा लैजाने टोली शुक्लाफाँटा पुग्ने र त्यही टोलीले बाह्रसिंगेसमेत ल्याउने तयारी गरेका छौं, कँडेलले भने, प्राविधिक रुपमा कुनै समस्या नभए दुवै काम एकैचोटि हुन्छ।’

गैंडा स्थानान्तरणको आवश्यक काम चलिरहेको र अहिले खोरको काम अन्तिम चरणमा पुगेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

समग्र व्यवस्थापन र अनुगमनका लागि निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलको नेतृत्वमा टोली बनाइएको छ। यस्तै प्राविधिक टोलीको नेतृत्व वरिष्ठ पशु चिकित्सक डा. कमल गैरे तथा डाट टोलीको नेतृत्वमा वन्यजन्तु प्राविधिक हर्कमान र विष्णु लामाले गरेका छन्।

अघिल्लो वर्ष फागुन तेस्रो साता चितवन निकुञ्जबाट ५ वटा गैंडा बर्दिया पठाइएको थियो। तीन वर्षमा चितवनबाट बर्दिया र शुक्लाफाँटामा गरी ३० गैंडा स्थानान्तरण गरिने २०७१ सालको सरकारी निर्णय छ।

नेपालमा ६ सय ४५ गैंडा गणना गरिएको छ। जसमा चितवनमा मात्रै ६ सय छन् भने बर्दियामा ३४ गैंडा छन्। यस्तै, शुक्लाफाँटामा यसअघि ४ वटा गैंडा पठाइएकोमा हाल ९ वटा गैंडा रहेको तथ्यांकमा जनाइएको छ।

चितवनको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले गैंडा स्थानान्तरण गर्दै गर्दा संरक्षण कार्यलाई समेत प्रभावकारी बनाउनुपर्ने भन्दै यसअघि गरिएका प्रतिबद्धताहरु कार्यान्वयन गर्न माग गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.