|

काठमाडौँ : नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसीसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ। बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। 

टोलीमा कप्तानको जिम्मेवारी नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले पाएका छन्। नेपालको प्रतिनिधित्व गर्दै मल्लले पहिलो पटक नियमित कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन्। उनले यसअघि घरेलु मैदानमा गत फागुन महिनामा भएको आइसिसी विश्व लिग क्रिकेट प्रतियोगताअन्तर्गत केन्याविरुद्धको खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए।

नेपालका कप्तान पारस खड्का स्वास्थ्यमा समस्या आएका कारण टोलीमा समावेश छैनन्। त्यसैगरी शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामी प्रतियोगितामा सहभागी छैनन् भने फास्ट बलर करण केसी पनि स्वास्थ्य समस्याका कारण आराम लिएका छन्। वरिष्ठ खेलाडीलाई आराम दिएका कारण यस पटक तीन नयाँ खेलाडी आशिफ शेख, दिलीप नाथ र दीपेश श्रेष्ठले पहिलो पटक खेल्न लागेका हुन्। 

खेल तालिकानुसार नेपाल समूह ‘बी’ मा छ। सोही समूहमा आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन्। त्यस्तै समूह ‘ए’ मा भने भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन्। उक्त प्रतियोगिता करिब चार वर्षपछि हुन लागेको हो। यसअघि सन् २०१३ मा सिङ्गापुरमा भएको थियो। यही चैत १२ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता चैत २२ सम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.