|

दीपक शर्मा-

सल्यान : सांस्कृतिक र धार्मिक पर्यटनको हिसाबले उत्कृष्ट मानिने सल्यान अब कृषि पर्यटनको हिसाबले पनि चिनिन थालेको छ। साविकको राप्ती अञ्चलमै पहिलो इजारायली प्रविधिबाट तरकारी खेती सुरु गर्न थालेदेखि सल्यानमा धार्मिक तथा प्राकृतिक मनोरममा रमाउने कृषि पर्यटकको रुपमा पनि आउन थालेका छन्।

छत्रेश्वरी गाउँपालिका वडा न ५ दारिमज्युला (साविकको झिम्पे गाविस) मा इजरायली प्रविधिबाट खेती गरी मनग्य आम्दानी गर्न थालेपछि आन्तरिक पर्यकटका साथै छिमेकी रुकुम,रोल्पा, दाङ, प्युठान, जाजरकोट लगायतका जिल्लाबाट पर्यटकहरु अवलोकनमा आउन थालेको दारिमज्युला कृषि सहकारी संस्था लि. का अध्यक्ष केशबहादुर विष्टले जानकारी दिए।

थोपा सिँचाइ प्रविधिबाट सिँचाइको व्यवस्था गरिएको यस क्षेत्रमा ८ मिनेटमा १२ हजार विरुवालाई एकैपटक सिँचाइ हुँदै आइरहेको छ। कुल ६० लाखको लगानी रहेकोमा एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको ४८ लाख र बाँकी स्थानीय किसानहरुको लगानी छ। कृषकहरुले ३८ वटा फलामे टनेलभित्र १२ हजार बढी टमाटर, सिमी, काक्रो, करेलाका विरुवा लगाएका छन्।

उनले भने, ‘हामीले यो फर्म दर्ता गरी सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छैन तर, यस फर्म हेर्न विभिन्न संघ संस्था, संघ संस्थाको भ्रमण टोली, तथा अन्य कृषकहरु आइरहनु भएको छ। राप्ती अञ्चलकै नमुना भएकाले होला यसको प्रविधिबारे बुझ्न तथा जानकारी लिन आन्तरिक तथा बाह्रय पर्यटकहरु आउने गरेका छन्।’

पर्यटकको साथसाथै विभिन्न विद्यालयका विद्यार्थीहरु समेत अध्ययन भ्रमण गर्न आउने गरेको विष्टको भनाइ रहेको छ । ३६ सय वर्गमिटर फैलिएको जमिनमा ३९ वटा प्लास्टिकका टनेलभित्र तरकारी फलेको देख्दा पर्यटक तथा भ्रमणटोली मख्ख पर्ने गरेको संस्थाका सदस्य ६४ वर्षीय लुटबहादुर विष्टले बताए।

उनले भने, ‘हामीले तरकारी खेती गरेर आम्दानी होला भनेर सोचेका पनि थिएनौं त्यसपछि दारिमज्युलामा भ्रमण गर्न कोही आउला भनेर सोचेको पनि थिएनौं तर, सबै मिलेर टनेल निर्माण गरेर आम्दानी गर्न थालेपछि आत्मविश्वास बढेको र पर्यटक आउँदा पनि खुसी लागिरहेको छ।’

सांस्कृतिक र धार्मिक पर्यटनको हिसाबले अब्बल मानिएको सल्यानमा कृषिमा आधारित पर्यटन विकासको पनि सम्भावना भएकाले एग्रिकल्चर टुरिजमको अवधारणाअनुसार कार्यक्रम बनाउन सके दारिमज्युला जस्तै अन्य ठाउँको विकास  हुने अध्यक्ष विष्टको भनाइ रहेको छ ।उनले भने, ‘हामीले सम्भवतः यस क्षेत्रमै पहिलोपटक हाइटेक प्रविधिबाट गोलभेडा खेती सुरु गरेका छौं।’ 

एकपटक लगानी गरिसकेपछि पटक–पटक ठूलो लगानी गर्नु नपर्ने र गोडमेल पनि धेरै गर्नु नपर्ने भएपछि यसतर्फ हामीले हात हालेका हौं।’एकैपटक ठूलो लगानीबाट तरकारी खेती सुरु गरिएको पहिलो घटना भएको बताउँदै उनले हाइटेक प्रविधि सल्यानीहरु सबैका लागि नयाँ प्रविधि भएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.