को कहाँ–कहाँ पुगे

|

काठमाडौं : हिजोआज देशभरीका उद्योगी व्यवसायीहरुलाई चुनावको चटारो छ। आफ्नो प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते तोकिएको अधिवेशनमा आफू वा आफ्ना उम्मेदवारलाई जिताउन उद्योगी व्यवसायीहरु देश दौडाहामा छन्।

विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था भएकाले यसपटकको अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन मुख्य आकर्षक छ।अहिलेका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र एसोसिएट उपाध्यक्ष शेखर गोल्छाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। फागुन २२ गते प्रधानको प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा शंकरप्रसाद पाण्डे र जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। उनको प्यानलबाट एसोसिएट उपाध्यक्ष र कोषाध्यक्षको उम्मेदवार घोषणा गरिएको छैन।

त्यस्तै गोल्छाको प्यानलबाट चैत ६ गते ३ उपाध्यक्ष, १ कोषाध्यक्षले उम्मेदवारी घोषणा गरेका छन्। गोल्छाको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएटमा चन्द्र ढकाल र वस्तुगतमा उमेश श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवार छन्। अहिले दुवै प्यानल आफ्नो पक्षमा मत माग्न जिल्ला र नगर उद्योग वाणिज्य संघको प्रतिनिधि भेट्न जिल्ला दौडाहामा छन्।

को कहाँ कहाँ पुगे

देश दौडाहामा हिँडेका दुबै टोली चैत १६ गते काठमाडौं फर्किदैछन्। आइतबारसम्म शेखर गोल्छा प्यानल ५७ जिल्लामा रहेका जिल्ला संघ र नगर संघमा पुगेको छ। 'अहिलेसम्म ५७ जिल्लामा हामीले भिजिट गरिसकेका छौं, अब दुई दिनमा सबै सकेर काठमाडौं फर्कने कार्यक्रम छ, अहिले दार्चुलामा हिँडिरहेका छौं' गोल्छा प्यानलका व्यवसायी दिनेश श्रेष्ठले थाहाखबरसँग भने। काठमाडौं आएर थप तयारी गरेपछि चैत २० गते पूर्ण टिम घोषणा गर्ने तयारी गरेको श्रेष्ठले बताए।

उता किशोर प्रधान टिमले अहिलेसम्म ८९ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुसँग भेटघाट र छलफल गरिसकेको छ। 'जिल्ला र नगर उद्योग वाणिज्य संघ गरेर अहिलेसम्म ८९ वटामा हामी पुगिसकेका छौं, फागुन १६ गतेसम्म सबै सकेपछि काठमाडौं आउने कार्यतालिका छ' प्रधानले थाहाखबरसंग भने। उनले पूर्ण प्यानल घोषणा गर्ने मिति तय गरिनसकेको जानकारी दिए। 

जिल्ला तथा नगरमा भोट माग्नको लागि किशोर प्रधान टिमबाट प्रधान आफै उपस्थित भएका छन्। तर गोल्छा प्यानलबाट जिल्ला नगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ सहभागी भएका छन्। गोल्छा भने केही जिल्लामा मात्र गएका छन्। 

पहिले जिल्ला नगर किन?

नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला, नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट संघ गरी तीन किसिमको आवद्धता रहेको छ। त्यसमध्ये अधिवेशनमा जिल्ला नगर उद्योग वाणिज्य संघको मतभार बढी रहेको छ। जिल्ला नगरको ५० प्रतिशत मतभार हुन्छ भने वस्तुगत र एसोसिएट गरेर ५० प्रतिशत (वस्तुगत २० प्रतिशत, एसोसिएट ३० प्रतिशत) हुन्छ। वरिष्ठ उपाध्यक्ष निर्वाचित हुन उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत ल्याउनुपर्छ। त्यसै कारणले गर्दा पनि महासंघको दुवै टिमले पहिले जिल्ला तथा नगर संघहरुमा भोट आफूतिर आकर्षित गर्न देश दौडाहामा लागेका हुन्।

भोट माग्नको लागि देश दौडाहामा लागेका दुवै टिमले उत्साहित भएको प्रतिक्रिया दिएका छन्। '८९ जिल्ला नगरहरुमा पुगियो, म उठेकोमा साथीहरु निकै उत्साहित पाएँ र मैले जित्ने छु भन्ने विश्‍वस्त छु' वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले थाहाखबरसंग भने।

त्यस्तै गोल्छा प्यानलका दिनेश श्रेष्ठले पनि देश दौडाहाका क्रममा राम्रो प्रतिक्रिया पाएको बताए। 'हामी जहाँ जहाँ पुगेका छौँ उद्योगी व्यवसायीहरुले राम्रो रेस्पोन्स देखाउनुभएको छ र भोट दिनेमा विश्‍वस्त पार्नु भएको छ, परिणाम चुनाव पछिनै देखिने छ' उनले थाहाखबरसँग भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.