|

काठमाडौं : सरकारले छ वर्षअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी मृत्यु भएका मोरङका वासुदेव साहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मोरङ अमारीबरियातीका साहको परिवारलाई पनि १० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका हुन्। आइतबार बसेको व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री निधिले गृह मन्त्रालयमार्फत् साहको परिवारलाई सो आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिइएको जानकारी दिए।

पीडित परिवारले पनि क्षतिपूर्तिको व्यवस्था गर्न केही साताअघि स्थानीय प्रशासनमार्फत् गृहमन्त्रालयसँग लिखित आग्रह गरेको थियो। गृह मन्त्रालयले सकेसम्म सोमबार नै पीडित परिवारलाई राहत उपलब्ध गराउने तयारी गरेको पनि जनाएको छ।

उपप्रधानमन्त्री निधिले सरकारले सबै पीडितलाई न्याय दिने गरी कार्ययोजना बनाएर काम अघि बढाएको पनि स्पष्ट पारे। भारतीय सीमा सुरक्षा बलको गोली लागी साहको २०६७ जेठ ११ गते मृत्यु भएको थियो। राज्य व्यवस्था समितिको आजको बैठकले यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्न बनेको विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.