|

दाङ : स्थानीय शान्ति समितिको आयोजनामा आइतबारदेखि देउखुरीको भालुवाङबाट सद्भावका लागि शान्ति पदयात्रा सुरु भएको छ। भालुवाङको पुलचोकमा दाङका प्रमुख जिल्लाअधिकारी मेघनाथ काफ्लेले सो पदयात्राको उद्घाटन गरेका हुन्।

पदयात्रा उद्घाटन गर्दै प्रजिअ काफ्लेले शान्ति पदयात्रा र्‍यालीले समाजमा शान्ति, मेलमिलाप र सद्भाव स्थापना गर्न सहयोग पुग्ने धारणा राखे। काफ्लेले बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भयरहित तरिकाले मतदान गर्ने वातावरण बनाउन सबैमा आग्रहसमेत गरे। 

उनले दशवर्षे जनयुद्धदेखि २०६२/०६३ सालको जनआन्दोलनका क्रममा ज्यान गुमाएका परिवारमा अझै पनि शान्तिको दियो बल्न नसकेकाले वास्तविक द्वन्द्वपीडितहरूको पहिचान गरी न्याय दिलाउन सके मात्र समाजमा शान्तिको पूर्ण अनुभूति हुने बताए। अझै पनि वास्तविक द्वन्द्वपीडितहरूले सरकारबाट पाउने सेवा सुविधा सहज तरिकाले पाउन नसेकेको प्रजिअ काफ्लेले स्वीकार गरे। 

कार्यक्रममा अन्य वक्ताहरूले द्वन्द्वपीडितहरूको हकअधिकारका बारेमा जानकारी गराउन सके मात्र पीडितहरूले आफूले पाउने न्याय तथा अधिकारको अनुभूति गर्न पाउने बताए।

स्थानीय शान्ति समितिका जिल्ला संयोजक नेत्रप्रकाश पाण्डेको अध्यक्षतामा भएको र्‍याली उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका कार्यकारी अधिकृत तिलकबहादुर खड्का, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल, स्थानीय शान्ति समितिका पुर्व जिल्ला संयोजक बमबहादुर डीसी, शान्ति समिति लालमटियाका संयोजक लक्ष्मी गिरीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

पदयात्रा उद्घाटनपछि शान्ति समितिको र्‍यालीले द्वन्द्वपीडितको चाहना, शान्ति र मेलमिलापको कामना, दिगो शान्तिका लागि राजनैतिक स्थिरता, शान्ति र सद्भाव मेलमिलापको आधार जस्ता नारा लगाउँदै भालुवाङ बजार परिक्रमा गरी पुनः सिसहनियाँमा आई सभाको आयोजना गरेको थियो। 

यसै बीच आइतबार नै लमही र घोराहीमा पनि शान्ति पदयात्रा र सभा भएको जिल्ला संयोजक पाण्डेले बताए। सोमबारका दिन उक्त पदयात्रा बिहान घोराहीबाट सुरु भई नारायणपुर, बिजौरी, तुलसीपुर, श्रीगाउँ हुँदै पश्चिम पुरान्धारामा गई समापन हुने स्थानीय शान्ति समिति दाङका संयोजक पाण्डेले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.