|

काठमाडौं: व्यवस्थापिका संसदमा रहेको संविधान संशोधन विधेयकलाई अघि बढाएर मात्र स्थानीय तहको निर्वाचन गर्न नेपाली कांग्रेस भित्र दबाब परेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकमा अधिकांस नेताले विधेयक अघि बढाएर मात्र निर्वाचन गर्न सुझाव दिएका हुन्। विधेयकलाई सम्भव भएसम्म पास गर्न र नभए पनि निर्णयार्थ पेश गर्न अधिकांस केन्द्रीय सदस्यले सुझाव दिएका थिए।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मागलाई पन्छाएर चुनावमा जाँदा तराईका धेरै जिल्ला र पहाडि जिल्लामा समेत अबरोध गर्ने स्थिति आएको भनाई राखेका थिए। ‘संविधान संशोधन बिधेयकलाई निर्णयार्थ पेश नगरी चुनावमा जाँदा दुई नम्बर प्रदेशमा अबरोध र पाँच नम्बर प्रदेश र पहाडि जिल्लामा  आदिवासी÷जनजातिको असन्तुष्टिले प्रभावित हुन सक्ने सुझाव सबैजसोले दिनुभयो’ वैठकपछि केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने।

 विधेयक पारित गर्न दुई तिहाई बहुमत पुग्छ वा पुग्दैन भनेर पार्टीले जिम्मेवारी लिन नसक्ने भन्दै अधिकांसले लोकतान्त्रिक प्रक्रियाबाट विधेयकलाई टुंग्याउनुको बिकल्प नभएकोमा जोड दिएका थिए। पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा वसेको बैठकमा विधि र प्रकृया बमोजिम विधेयकलाई टुंग्याउनु पर्ने सुझाएका थिए।

एमालेले अस्थिरता ल्याउँदैछ

बैठकमा कांग्रेस नेता डा. शेखर कोइराला र गुरुराज घिमिरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खोक्रो राष्ट्रवादको नाराले मुलुकमा अस्थिरता निम्त्याएको वताएका थिए। कोइरालाले मधेशमा अस्थिरता निम्त्याएर एमाले र अध्यक्ष ओली कांग्रेसलाई मधेशमा कमजोर बनाउन खोजिरहेको आरोप लगाएका थिए।

नेता घिमिरेले राजनीतिक अस्थिरता ल्याउन एमालेले तराई÷मधेश केन्द्रीत दलहरु आन्दोलनमा रहेको स्थिति थाहा भएर पनि तीन÷तीन जना प्रधानमन्त्रीलाई राजविराजमा लगेर मुठभेड निम्त्याएको वताए। उनले जुनसुकै दलले कार्यक्रम गर्न पाउने अधिकार भएपनि तराई÷मधेशको स्थिति बिग्रिएको थाहा भएर पनि भिडन्त निम्त्याउन एमालेले नकरात्मक भूमिका खेलेको जनाए।

एमालेलाई पन्छाइए संविधान कार्यान्वयनमा जटिलता: सिटौला

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस नेतृत्वले जारी गरेको संविधान कार्यान्वयन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पन्छाएर सम्भव नहुने वताए। उनले राजनीतिक स्थिरताको लागि पनि प्रतिपक्षीलाई मनाउनु कांग्रेसको दायित्व भएको वताएका थिए।

‘हामीले चाहे पनि नचाहे पनि एमाले दोश्रो ठूलो दल भएकोले उसको सहयोग हामीले लिनु पर्ने हुन्छ’ सिटौलाको भनाई उधृत गर्दै एक नेताले भने ‘एमालेलाई सही बाटोमा ल्याएर भएपनि संविधान कार्यान्वयन गर्न कांग्रेसले नेतृत्व लिन सक्नुपर्छ।’ 

फरमुल्लाहको प्रश्न ‘हामी असफल भएका हौं?’

कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले मुलुकका जल्दा बल्दा समस्यालाई समाधान गर्न कांग्रेस नेतृत्व असफल भएको आरोप खप्नु परेको वताए। ‘गिरिजाप्रसाद र सुशील कोइरालाले नेतृत्व गरेको कांग्रेसले आजको राजनीतिक समस्यालाई संवोधन गर्न नसकेर हामी असफल भएकै हौं त?’ मन्सुरको प्रश्न थियो।

भण्डारीले भने ‘सभापतिज्यू म तपार्इँको आज्ञाकारी सिपाही हुँ’

पाँच नम्बर प्रदेशबाट पहाडि जिल्लालाई चार नम्बर प्रदेशमा मिलाउने गरी संसदमा पेश भएको संविधान संशोधन बिधेयकको विपक्षमा उभिएका कांग्रेस यूवा नेता चन्द्र भण्डारीले आफ्ना भनाई केवल जनतालाई चित्त बुझाउनको लागि मात्र भएको स्पस्ट पारेका छन्।

‘प्रजातन्त्रमा सबैको बोल्ने हक अधिकार हुन्छ। जनताले पाँच नम्बर प्रदेशबाट पहाडि जिल्ला अलग गर्ने प्रस्तावको बिरुद्ध बोले’, बैठकमा सहभागी एक नेताले भण्डारीको भनाई उधृत गर्दै थाहाखबरसँग भने ‘मैले त्यही जनताको आवाज बोलेको हुँ। पार्टीले गरेको निर्णयलाई मैले सँधै साथ दिएकै छु। म त सभापतिज्यू तपाईंको आज्ञाकारी सीपाहिँ हुँ।’

बैठकले नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र तयारी समिति गठन गर्ने निर्णय गरेको छ। समितिलाई आवश्यकता अनुसार समिति गठन गर्ने अधिकार दिएको छ। 

पार्टीका ४२ वटा केन्द्रीय विभागहरु कायम गर्ने र आवश्यकता अनुसार विभागको संख्या थप गर्न सकिने निर्णय समेत बैठकले गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले वताए। 

वैठकमा प्रकाशमान सिंह, सिटौला, विमलेन्द्र निधि, खुमबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., नरहरि आचार्य, रमेश रिजाल, मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, डा. कोइराला, भण्डारी, अजयकुमार चौरसिया, महेन्द्र यादव, विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, श्यामकुमार घिमिरे, घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र बहादुर सिंह लामाले  धारणा राखेका थिए। 

बैठक भोलि सोमबार विहान साडे आठ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.