नयाँ शक्तिको हिमाल, पहाड, तराई-मधेस राष्ट्रिय अभियानको समापन

|

कैलाली : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाल र सबै नेपाली समृद्ध बनाउने आफ्नो साझा सपना भएको बताएका छन्। नयाँ शक्तिले आइतबार धनगढीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै डा. भट्टराईले संविधानपछि देशमा शान्ति छाउने र समृद्धिको यात्रामा अघि बढ्ने सपना अझै पनि कार्यान्वयन हुन नसकेकाले नयाँ शक्तिले त्यसैलाई कार्यान्वयन गर्ने लक्ष्य निर्धारण गरेको दाबी गरे।

उनले केही व्यक्तिहरूले यो देशका विभिन्न समुदायहबीच विभाजन ल्याएर देशमा विखण्डनको बिउ रोप्ने कोसिस गरिरहेको आरोप पनि लगाए। ‘जातीय विभेद, विद्वेष, घृणा र विखण्डनको बिउ रोप्नेहरूका विरुद्ध प्रतिक्रिया स्वरूप एउटा युवापंक्ति मधेसलाई खुलेआम टुक्र्याएर छुट्टै देश बनाउनुुपर्छ भन्दै मधेसमा अर्कोथरि विखण्डनको विउ रोपिएको छ’, उनले भने, ‘यी दुईबीच सालनाल जोडिएको छ  त्यसको विरुद्ध हामीले राष्ट्रिय एकताको पक्षमा यो अभियान संचालन गरेका हौं।’ 

एउटा समुदायलाई खुसी बनाउँदै उनीहरूलाई भोट बैंक बनाएर चुनाव जित्ने, सत्तामा जाने र भ्रष्टाचार गर्ने पुरानो राजनीतिक दलहरूको प्रवृत्तिप्रति आक्रोश पोख्दै उनले त्यसको अन्त्यका लागि नयाँ शक्तिले सदाचारयुक्त राजनीति गर्ने बताए। 

डा. भट्टराईले नेपालीहरूको तीन थरी जातीय क्लस्टर, उनीहरूको सही इतिहास जनतालाई बुझाएर, यो देशलाई सही अर्थमा भावनात्मक रूपमा जोडेर राष्ट्रिय एकता बलियो बनाउनुनर्पे आवश्यकता रहेको पनि बताए। 

‘भृकुटी, सीता र जनकलाई विभूति भन्ने तर, त्यही भूमिमा बस्ने मधेसी, थारूहरूलाई विदेशी भन्न मिल्छ?’, उनले प्रश्न गर्दै भने, ‘हामी चाहे खस आर्य, आदिवासी, जनजाति, मधेसी, थारू जे भए पनि हामी सबै नेपाली हौं। जो बढी घुमन्ते हुन्छ, ऊ टाठोबाठो हुन्छ। भावनामा बग्न हुँदैन, विज्ञान र तथ्यमा आधारित भएर निiष्कर्ष निकाल्नुपर्छ । यसर्थ, हामी सबै बराबरी हौं।’ 

संयोजक भट्टराईले 'केही भुइँफुट्टा मानिस, जसले महाकाली जस्तो राष्ट्रघाती सन्धि गरे, तिनलाई प्रश्न गर्न चाहन्छु' भन्दै भने, 'देशलाई एकतावद्ध गर्नेहरूको विरुद्ध बिष बमन गरेर युवाहरूमा भ्रम छरेर अराजकता सिर्जना किन?' 

संघीयता भनेको अलग घर बनाउने होइन, एउटै घरमा अलग कोठा बनाउने भनेको हो भन्दै डा. भट्टराईले भने, 'अखण्ड र सार्वभौम नेपालभित्र उनीहरूको ऐतिहासिक थातथलोलाई सीमांकन गरेर बनाइने संरचना नै संघीयता हो।’

विगतमा आफूले चुनेका नेताहरूले काम नगरेको तर्क गर्दै अब नेतृत्व छान्दा योग्य व्यक्तिलाई रोज्नसमेत आग्रह गरे। उनले हाम्रो जस्तै अवस्थामा रहेका देशहरूले छोटो समयमा समृद्धिको फड्को मारेका तथ्य उल्लेख गर्दै भने, ‘हामीले पनि त्यो समृद्धि हासिल गर्नका लागि नयाँ शक्तिले समृद्धिको एजेण्डा उठान गरेको हो।’

नेतृ हिसिला यमीले नयाँ शक्तिले विकासको मात्र कुरा नगरेको बताउँदै यसले विकासको सँगसँगै समावेशीको कुरा पनि गरेको बताइन्। उनले महिला, पुरुषका साथै तेस्रो लिंगी समुदायलाई पनि नयाँ शक्तिले समाहित गरेको बताउँदै सबैलाई अधिकारसम्पन्न गराउने लक्ष्य रहेको दाबी गिरन्। उनले सुदूरपश्चिम काठमाडौंबाट उत्पीडित भएको तर्क गर्दै हिमाल, पहाड र तराई-मधेशका जनता एकताबद्ध हुनुपर्ने धारणा राखिन्।

सांसद गंगा चौधरीले आदिमकालदेखि बसोवास गर्ने थारूहरूको अधिकार सुनिश्चित गरिदेऊ भन्दा जेलमा जीवन बिताउनुपर्ने अवस्था भएकोमा दुःख व्यक्त गर्दै आफूहरूले अधिकारको कुरा गर्दा देशद्रोही र विखण्डनकारीको बिल्ला लगाइएको आरोप लगाइन्उ। उनले राष्ट्रिय रूपमा थारू, आदिवासी, जनजाति, कमलरी मुक्त कमैयाहरूको मुद्दालाई सम्बोधन गरेर देशलाई आर्थिक विकास र समृद्धिमा लैजाने जिम्मेवारी नयाँ शक्तिको भएको पनि बताइन्।

आमसभामा स्वागत मन्तव्य राख्दै नयाँ शक्ति पार्टीका कैलाली जिल्ला संयोजक कृष्णकुमार चौधरीले नयाँ शक्तिको जारी राष्ट्रिय अभियानले सबै वर्ग र समुदायका नागरिकलाई एउटै मालामा उन्न प्रयत्न गरिरहेको बताए। साेही कार्यक्रममा संयोजक डा. बाबुराम भट्टराईले कृषि प्राविधिक राजु रानाले निर्माण गरेको आलु रोप्ने मेसिन सार्वजनिक गरे। सभामा विभिन्न स्थानीय कलाकारहरुले सांगितीक प्रस्तुति दिनुको साथै कवितावाचन तथा देउडा गीत प्रस्तुत गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.