|

  • मणिलाल विश्वकर्मा-

मलेठ (सप्तरी) : सप्तरीको मलेठ गोलीकाण्ड भएको २१ औं दिन आइतबार अपरान्ह उक्त घटनामा मारिएकाहरुको सम्झनामा संयुक्त लोकतान्त्रि मधेसी मोर्चाले श्रद्धाञ्जली सभा गरेको छ।। श्रद्धाञ्जली सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, लगायतका मधेस केन्द्रित दलका शीर्ष नेताहरुले सम्बोधन गरेका छन्।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको पुनः सीमाङ्कन र संविधान संशोधन गरी मधेसी, दलित, थारु, जानजातिहरुको अधिकार संविधान संशोधनमार्फत् सम्बोधन नभएसम्म मधेशमा चुनाव नहुने बताए। ‘मधेसको मूल एजेण्डा संघीयतलाई थाती राखेर संविधान संशोधन हुनै सक्दैन’ अध्यक्ष यादवले भने ‘संविधानमा रहेका त्रुटीहरु नसच्याउने तर एकोहोरो चुनावको मात्र रट लगाउने हो भने जनविद्रोहबाट नयाँ संविधान लेखिन्छ।’ 

मधेसीहरुले आत्मसम्मान र पहिचानका लागि गरेको आन्दोलन राष्ट्रिय मुक्ति आन्दोलन रहेको चर्चा गर्दै उनले स्वायत्त मधेस र स्वशासन प्राप्त नभएसम्म मुक्ति आन्दोलन नरोकिने उद्घोष समेत गरे। संघीय संरचनामा गइसकेको मुलुकमा स्थानीय तहको चुनाव गर्ने अधिकार प्रान्तीय सरकारको हुने जिकिर गर्दै यादवले मधेस सरकारले नै मधेसमा स्थानीय तहको निर्वाचन गराउने उल्लेख गरे। ‘स्थानीय तहबाहेक संसद र प्रान्तको चुनाव गराए हामी सहर्ष भाग लिन्छौं’ उनले भने।

महन्थको हिन्दीमा सम्बोधन 

त्यस्तै, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले हिन्दी भाषामा सम्बोधन गर्दै सीमाङ्कन, संविधान संशोधनमार्फत् आफूहरुले उठाएका मागहरु सम्बोधन गर्न माग गरे। ‘संविधानमा रहेको विशेष, संरक्षित क्षेत्रहरुको टुङ्गो नलगाई स्थानीय तहको चुनाव घोषणा हुनु कानुनतः गलत छ’ ठाकुरले भने ‘देश विखण्डनको हल्ला पिटाएर फेरि मधेसीहरुलाई ठग्न खोजिंदैछ।’

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरी पेलेर स्थानीय तहको निर्वाचन गराउन खोजिए मुख्य दलहरुका लागि दुर्भाग्य हुने चेतावनी दिए। मधेस र मधेसीको अधिकारका लागि लामो बन्द हड्ताल, यातायात बन्द जस्ता आन्दोलन धेरै गर्‍यौं’ अध्यक्ष महतोले भने ‘जनताले साह्रौ दुःख पाए, त्यसैले आन्दोलनको स्वरुप परिवर्तन गरी मधेसीप्रति धोकाधडी गर्ने पार्टी र तिनका मतियारहरुलाई गाउँ गाउँबाट राजनीतिक बहिष्कार गर्‍यौं भने  जनताले अनावश्यक दुःख पनि पाउँदैनन् र आन्दोलन पनि सफल हुन्छ।’

श्रद्धाञ्जली सभालाई राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादव, आदिवासी जनजाति नेताहरु कुमार लिङ्देन, जय गोले, लाक्पा शेर्पा लगायतका नेताहरुले सम्बोधन गर्दै मधेश केन्द्रित दलहरुको कार्यगत र पार्टी एकतामा जोड दिंदै एउटै पार्टी र झण्डामुनि गोलबन्द भए मधेशीहरुले पटक पटक बलिदानी दिनु नपर्ने औंल्याए।

मलेठ घटनामा मृत्यु हुनेको परिवारलाई जनही १ लाख

मलेठ गाउँ नजिकै रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको उत्तरपट्टि खाली खेतमा आयोजना गरिएको सभामा करिब दस हजारको उपस्थिति रहेको थियो। मलेठ गोलीकाण्डमा मारिएकाहरुको परिवारलाई शीर्ष नेताहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने अमेरिकास्थित मधेसी एशोसिएसन इन अमेरिकाका तर्फबाट सरोज रायले प्रति परिवार एक/एक लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए। 

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित जनसभा सुरक्षार्थ खटिएका प्रहरीको गोली लागेर गत फागुन २३ गते मलेठ गाउँका २ का २४ वर्षका सञ्जन मेहता, प्रसवनी टेङ्ग्रीका वर्ष ४२ का सिनियर अहेव आनन्दकुमार साहको त्यही दिन मृत्यु भएको थियो भने मलेठ २ का वर्ष ४० का बीरेन्द्र महतो, मलेठ ४ जलहरीका वर्ष ४५ का पिताम्बर मण्डल र जमुनी मध्यपुरा १ कटवीका करिब ५७ वर्षका इनर यादवको उपचारको क्रममा धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.