|

    उदयपुर :  उदयपुरको ग्रामीण क्षेत्रमा रहेको एक सामुदायिक वनले याँहाका गाउँकै मुहार फेरिदिएको छ। उदयपुरगढी गाँउपालिका ७ मा रहेको विश्वकन्चन सामुदायिक वनले गाउँमा बिजुली, खानेपानी, पुल तथा विद्यालय निर्माण जस्ता कार्यमा सहयोग गरेर गाउँको मुहार नै फेरिदिएको हो।

    घना चुरे क्षेत्रको भलायडाँडा ३ मा विश्वकन्चन सावउसमा जम्मा ७४ घरधुरी आबद्ध छन्। जंगलभित्र रहेको बस्तीमा अहिलेसम्म कुनै पनि सरकारी तथा गैरसरकारी निकायबाट विकास निर्माणका योजना पुगेका छैनन्। गाउँमा गाविस र जिविस लगायतमा पहुँचवाला व्यक्ति नहुँदा विकासे योजना नआएको स्थानीयको भनाइ छ।

    गाउँको विकास निर्माणमा गाउँकै वनले टेवा पुर्‍याएको समूहका सचिव गणेशबहादुर खड्काले बताउँछन्। उनी भन्छन्, ‘हाम्रो गाउँमा विद्यालय थिएन, विद्यालय स्थापना गर्‍यौं, कुवाको पानी खानुपथ्र्याे, घर घरमा खानेपानीको धार जोड्यौं, गाउँमा जनचेतनामूलक कार्यक्रमसमेत हामीले वनबाटै आएको पैसाले गरेका हौं।’

    २०६० सालबाट वैधानिक रुपमा काम सुरु गरेको यस सामुदायिक वनले पहिलो पटक ४ हजार ५ सय क्युफिट काठ प्रतिक्युफिट २५० का दरले बिक्री गरेर आएको जम्मा ११ लाख २५ हजारले खानेपानीको धारा गाउँमा जोडेको थियो।

    दोस्रो पटक ४ हजार ३ सय क्युफिट काठ प्रतिक्युफिट रु २७० का दरले बिक्री गरेको थियो। जसबाट ११ लाख ६१ हजार आम्दानी भएको थियो। त्यो पैसा पनि गाउँकै लागि विभिन्न काममा खर्च गरेको समूहको जनाएको छ।

    यसैगरी अध्यक्ष बस्नेतका अनुसार तेस्रो पटक फेरि ४ हजार ५ सय क्युफिट काठ प्रति क्युफिट रु २७० दर बिक्री गर्दा १२ लाख १५ हजार समुहमा आम्दानी गरेको थियो। गरिबी निवारणको कार्यक्रम अन्तर्गत समूहको प्रत्येक घरमा बाख्रा वितरण गरेको थियो।

    ०६९ सालबाट यता विभिन्न चरणमा बिक्री गरेको काठको जम्मा बचत ५६ लाख रहेको अध्यक्ष बस्नेतले बताए। ‘हामीसँग अहिले पनि ५६ लाख नगद छ,’ अध्यक्ष बस्नेतले भने, 'त्यस बजेटले केही नयाँ काम गर्ने योजना बनाएका छौ।’ समूहमा अहिले पनि हावा हुन्डरीले ढालेका काठ २ हजार क्युफिटभन्दा माथि काठ बिक्रीको लागि तयारी गरिएको छ। वनले दिएको पैसालाई वन संरक्षणमा पनि खर्च गर्ने समूहले जनाएको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.