|

काठमाडौं : एनसेलको सेयर स्वामित्व खरिद बिक्रीको पुँजीगत लाभ कर असुल गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ।

प्रर्दशनीमार्गमा प्रदर्शन गर्दै अनेरास्ववियुले कर असुली नभएसम्म एनसेलका सेवा नलिन संगठन मातहतका सबै कमिटीहरुलाई निर्देशन दिइसकेको छ। करिब ३३ अर्ब पुँजीगत लाभ कर एनसेलबाट असुली नभएसम्म उसको सेवा नलिन सर्वसाधारणलाई समेत अपिल गरिएको अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्यले जानकारी दिए।

अनेरास्ववियु कार्यकर्ताले एनसेलले तिर्नुपर्ने लाभ कर मिनाहा गर्ने प्रयास सफल हुन नदिने भन्दै कर छलीः राज्यलाई क्षति, कर असुलीः राज्यको समृद्धि लेखिएको प्ले कार्डसमेत प्रर्दशन गरेका छन्।

अनेरास्ववियुले एनसेलबाट कर असुली गर्न माग गर्दै अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाउने तयारी पनि गरेको छ। उसले व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा एनसेलको कर असुली गर्न माग गर्दै ज्ञापन पत्र बुझाइसकेको छ।

अनेरास्ववियुले एनसेलको कर असुल गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत दबाब दिने तयारी गरेको जनाएको छ। एनसेलबाट कर असुली नभएसम्म दबाब आन्दोलनलाई निरन्तरता दिने अनेरास्ववियुका कार्यवाहक अध्यक्ष आचार्यले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.