'सर्वोच्चले लोकतन्त्रको मर्ममाथि प्रहार गर्‍यो'

|

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वोच्च अदालतले नेपाल प्रहरी प्रमुखको नियुक्तिको बिषयमा हात हालेर शक्ति पृथकीकरणको सिद्धान्त र लोकतन्त्रको मर्म माथि प्रहार गरेको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबारबाट शुरु केन्द्रीय कार्यसमिति बैठकमा नेता डा. कोइरालाले सर्वोच्च अदालतले गल्ती गरेको आरोप लगाएका हुन्। उनले प्रहरी प्रमुखको नियुक्ति बिषयमा जुन न्यायाधीशले अन्तरिम आदेश (स्टे अर्डर) दियो सोही न्यायाधीश नै अन्तिम फैसलामा बस्नु न्यायिक मर्म र अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको बताए। 

‘यसमा सर्वोच्च अदालतले गल्ती गरेकै हो र शक्ति पृथकीकरणको सिद्धान्त एवं लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ’, डा. कोइरालाले आफ्नो लिखित चार पृष्ठ लामो पत्रमा भनेका छन् ‘लोकतन्त्र कमजोर बनाउने खेलमा न्यायलय लागेको छ भन्ने कुरा अब प्रष्ट भएको छ।’ सर्वोच्चको फैसलालाई नै आधार मानेर नै अब सरकारले निर्णय गर्न उनले सरकारलाई सुझाव समेत दिएका छन्।

उनले पार्टी सभापति देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीचको असहमति मिडियामा आएजस्तै भए त्यो पार्टीको निम्ति राम्रो नभएको बताए। उनले प्रहरी प्रमूखको नियुक्ति गर्ने अधिकार सरकारको भएकोले नियमावलीको अधीनमा रहेर सरकारले काम गर्नुपर्ने धारणा राखे। सरकारले गत फागुन एक गते प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। 

सरकारको निर्णय बिरुद्ध नायव महानिरीक्षक नवराज सिलवालले रिट निवेदन दिएपछि सर्वोच्चले तत्काल अन्तरिम आदेश दिएको थियो भने यसै साता मात्र अन्तिम आदेश दिइसकेको छ।

हिमाल र पहाडमा एमालेको नक्कली राष्ट्रवादले जरा गाड्यो

केन्द्रीय सदस्य डा. कोइरालाले हिमाल–पहाडमा एमालेको नक्कली राष्ट्रवाद र उग्रराष्ट्रवादले जरा गाड्न सुरू गरिसकेको र एमाले अतिवादी पार्टी भएको निष्कर्ष निकालेका छन्। उनले एमालेलाई परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्न नदिएर लोकतन्त्र धरापमा पार्ने खेलमा लागेको आरोप लगाएका छन्। उनले संविधान संशोधन प्रक्रियाका सवालमा नेकपा एमालेले सबैभन्दा ठूलो अवरोध सिर्जना गरिरहेको आरोप लगाए। 

‘कहिले संसदमा यस विषयमा छलफल नै गर्न दिन्नौं भन्ने, कहिले एकदिनका लागि मात्रै छलफल दिन्छौं भन्ने यो एमालेको अत्यन्तै लज्जास्पद दोहोरो चरित्र हो’, कोइरालाले भनेका छन्, ‘कतै एमालेले यो संविधान फेल गराएर मुलुकलाई द्वन्द्वमा लैजान खोजेको त हैन?’

कोइरालाको प्रश्न थियो ‘अहिलेको समस्याको जड नै एमाले हो भनेर भन्न हामी किन सकिरहेका छैनौं? एमालेका करतुतहरूलाई जनतासामू लगेर भण्डाफोर गर्न किन सकिरहेका छैनौ?’ उनले एमालेकै दम्भ र हठले देश द्वन्द्वको नजिक पूगेको र अहिलेको जटिल परिस्थिति पैदा भएको हो भन्ने यथार्थता जनतालाई नबुझाएसम्म कांग्रेसको अवस्था नसुध्रने धारणा राखे। 

उनले न्यायालयदेखि मिडियासम्म एमालेको छायाँ परिसकेको र राज्यका प्राय सबै निकाय एमालेकरण भैसकेको ठहर गरेका छन्। मुलुक बिस्तारै विखण्डनतर्फ अगाडि बढिरहेको भन्दै यसलाई समयमै नरोक्ने र संवेदनशील नबन्ने हो भने देश जटिल र अकल्पनीय अवस्थामा पुग्ने खतरा पक्का भएको उनले दाबी गरे।

देउवामाथि पार्टी गतिशील बनाउन नसकेको आरोप

नेता डा.कोइरालाले पार्टीको सांगठनिक जीवनका बिषयलाई लिएर पार्टी सभापति शेरबहादुर देउवामाथि पार्टी पदाधिकारी चयन गर्न नसकेको, केन्द्रीय बिभाग नबनाएको र पार्टीको प्रादेशिक संरचना बनाउन नसकी पार्टीलाई गतिशील एवं चलायमान बनाउन नसकेको आरोप लगाएका छन्। 

उनले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको एक बर्षसम्म संगठनलाई पूर्णता नदिइनु दूर्भाग्य भएको टिप्पणी गरेका छन्। ‘पार्टी संस्थागत र सहज ढंगले चल्न सकेको छैन’, उनले भनेका छन् ’केन्द्रमा बसेर नेताहरूले गुटको खेती गर्दा कार्यकर्तामा विभाजित भावना छाएको छ।’ गुटको खेतीले गर्दा आम कार्यकर्ताले कांग्रेस भएर बाँच्न नपाएको र कार्यकर्ताको मनोबल खस्केको आरोप पनि कोइरालाले लगाएका छन्।

कोइरालाले दूर–दराजका आमजनता र कार्यकर्ताले पार्टी सरकारमा भएको अनूभूति गर्न नसकेको गुनासो गरेका छन्। ‘जनतामा वितृष्णा र कार्यकर्ताहरूमा निराशा छाएको छ’, कोइरालाले प्रश्न गरे, ‘चुनावमा हामीले जनतासामु लिएर गएको घोषणापत्र र महाधिवेशनमा कार्यकर्तासामु प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कति पूरा भयो? त्यसको समीक्षा गरिनुपर्छ कि पर्दैन?’

घोषणा पत्र र प्रतिवद्धतालाई केवल औपचारिकताका लागि मात्रै जनता र कार्यकर्ताहरू सामु प्रस्तुत गरिएको हो भने त्यो पार्टी र मूलूक दुवैका निम्ति दुर्भाग्य हुने कोइरालाले बताए। उनले केवल सत्ता प्राप्तिका लागि मात्रै कांग्रेसले राजनीति गरेको हो भने मुलुकले कहिल्यै निकाश पाउन नसक्ने ठहर गरेका छन्।

राजदूत सिफारिसले कांग्रेस लज्जित

नेता डा. कोइरालाले राजदूत नियुक्तिको सिफारिसको बिषयले आम कांग्रेसजनलाई लज्जित बनाएको गम्भीर आरोप सभापति देउवालाई लगाएका छन्। उनले म्यानपावर सञ्चालकलाई उसैले जनशक्ति पठाउने मुलुकमा राजदूत बनाउने प्रस्ताव गरेर पार्टी पटक्कै संवेदनशील नबनेको दाबी गरे। 

संविधान संशोधन नगरी चुनावमा जान सकिदैन 

कोइरालाले पार्टीका तत्कालिन सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेर मुलुकलाई अग्रगामी बाटोतर्फ प्रवेश गराए पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई कमजोर बन्न नदिन संविधान संशोधनको विकल्प नभएको बताए।

उनले छलफल र प्रक्रियामा रहेको संबिधान संशोधनको विषयलाई थाती राखेर निर्वाचनमा कुनैपनि हालतमा जान नसकिने बताए। ‘संविधान संशोधनको मुद्दालाई संसदबाट पारित गराउन कांग्रेसले नै नेतृत्वदायी भूमिका खेल्नूपर्छ’, कोइरालाले भने ‘संशोधनका चारैवटा विषयलाई प्रक्रियागत हिसाबले अगाडि बढाइनुपर्छ। यदि सीमांकन बिषयमा विवाद भए संवैधानिक आयोग बनाएर अघि बढ्नुपर्छ।’

पार्टीको विधानलाई परिमार्जन गर्न ढिलाइ 

देश संघीय संरचनामा प्रवेश गरेपनि पार्टी संगठन पुरानै विधान र संरचनामा चलिरहेको भन्दै कोइरालाले जतिसक्दो छिटो महासमिति बैठक बोलाएर देशको संविधान अनुरूप पार्टीको विधान संशोधन र परिमार्जन गर्न ढिलाइ गरिएको आरोप लगाएका छन्।

उनले स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) र प्रादेशिक सांगठनिक संरचना नबनाइएको र यिनीहरूलाई अधिकार सम्पन्न बनाउन ढिलाई गरेको दाबी गरेका छन्। उनले महासमितिको बैठकबाट विधानलाई संशोधन र परिमार्जन गर्नैपर्ने बताए। 

उनले क्रियाशील सदस्य लिएको भोलिपल्टै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्न पाउने प्रावधान रोक्न माग गरेका छन्। उनले क्रियाशील लिएको न्युनतम यति बर्षपछि मात्रै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्न पाउने भनेर विधानमा लेखिनै पर्ने बताए। उनले जीवनभर दुख गरेका इमान्दार र निष्ठावान व्यक्तिहरु किनारा लाग्दै जाने चेतावनी समेत दिए। 

सभापतिको बचाउमा कोइराला 

कोइरालाले सभापति देउवाको आलोचना मात्र होइन बचाउ पनि गरेका छन्। पार्टी सभापति संस्था भएकोले सभापति कमजोर हुँदा पार्टी कमजोर हुने  र अहिलेको विधानले सभापतिको भूमिकालाई खुम्च्याउने र कमजोर पार्ने काम गरेको उनले बताए।

कोइरालाले भने, ‘सभापतिको हात खूट्टा बाँध्ने काम भएको छ। हिजोको सभापतिलाई पनि यही विधानले काम गर्न अप्ठ्यारो बनायो, हालको सभापति पनि त्यसैको शिकार बन्दै हुनुहुन्छ र भोलि आउने सभापतिको पनि त्यही हालत हुन्छ।’ 

मोर्चालाई सँगै नलिए मधेसमा अतिवादी शक्ति आउने ठोकुवा

कोइरालाले अहिलेका मधेसी मोर्चा मध्यमार्गी रहेको भन्दै मोर्चालाई खुम्च्याउने प्रयास गरिए वा साथ नलिए तराई–मधेसमा अतिवादी शक्तिको जन्म हुने ठोकुवा गरेका छन्। उनले प्रदेश नं २ बाहेक अन्य स्थानमा मात्र निर्वाचन गराउने गल्ती गरेमा विखण्डनको बिउ रोपिने र त्यो मूलुककै निम्ति दुर्भाग्य हुने चेतावनी दिए। 

तराई–मधेसमा उग्रमधेसको नारा लाग्न थालेको तथा उग्रराष्ट्रबाद र उग्रमधेसवादको मिलनविन्दु कतै एकै त होइन भन्ने आशंका बढेर गएको कोइरालाले आशंका व्यक्त गरेका छन्। उनले हाल तराई–मधेस आतंकित र आक्रान्त भएको भन्दै कांग्रेसले मात्रै तराई–मधेसको संवेदनशीलता, भावना र मर्म बुझ्न सक्छ भन्ने सन्देश दिन जरूरी रहेको धारणा राखे। 

हेर्नुस् शेखर कोइरालाको लिखित मन्तव्य

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.