|

विराटनगर :  छ वर्षअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर मृत्यु भएका मोरङको अमहिबरयाती ७ का ५५ वर्षीय बासुदेव साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिएको छ। जिल्ला प्रशासन कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विमलेन्द्र निधिले वासुदेव साहकी पत्नी उर्मिलादेवी साहलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

घटनापछि राहत रकम दिने, परिवारको एक जनालाई प्रहरीमा भर्ना गर्ने भनिएपनि ६ बर्षपछि मात्र राहत रकम दिइएको हो। गृहमन्त्री निधिले साहका दुई जना छोराहरुलाई म्यादी प्रहरीमा भर्ना गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए। उनले अभिभावक गुमाएको साह परिवारका लागि राज्य अभिभावक भएको बताए।

जनतालाई दुख पर्दा समाज र राज्यले हेर्नु दायित्व भएकोले राज्यले दायित्व पुरा गरेको गृहमन्त्री निधिको भनाइ छ। गृहमन्त्री निधिले कञ्चनपुरको पुनर्बासमा हालै भएको यस्तै घटनापछि मोरङमा भएको घटनाका बारेमा राहत नपाएको आफूले थाहा पाएको बताएका थिए। २०६७ साल जेठ ११ गते  मंगलबार राति एक टिन तेल ल्याएको विषयमा विवाद हुदा एसएसबीका इन्स्पेक्टर हितेन्द्र सिंहले साहलाई गोली हानेर हत्या गरेका थिए। अररिया जिल्ला लैलोखर बेस क्याम्पबाट सादा पोशाकमा हतियारसहित आएका एसएसबीले नेपाली भूमिका आएर साहको गोली हानी हत्या गरेका थिए।

सो विषयमा राज्यबाट पीडित परिवारलाई राहत प्रदान लगायतका विषयमा कुनै पहल नभएपछि राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक तथा पत्रकारहरुले दवाव सिर्जना गरेका थिए। अभिभावक गुमाएका उनीहरुको परिवार मुस्किलले चल्दै आएको थियो। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण साहका माहिला छोरा पाच महिना अधि वैदेशिक रोजगारमा गएका छन्। अभिभावक गुमाएपछि छोराहरुले पनि पढाई छोडेको तथा परिवार धान्न मुश्किल भएको साहकी पत्नी उर्मिलाले बताइन्।

मोर्चाले निर्वाचनमा भाग लिन्छ : गृहमन्त्री निधि

उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउन सरकार गम्भीर भएर लागेको बताएका छन्।  

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसंग कुरा गर्दै उनले तोकिएको मितिमा निर्वाचन गराउन सबै प्रक्रिया अघि बढिसकेकाले अब कुनै पनि हालतमा निर्वाचन स्थगित नहुने दावी गरे। उनले निर्वाचनका लागि निर्वाचन आयोग तथा राजनितिकदलले आ–आफनो गतिविधि अगाडि बढाइसकेलाले अब निर्वाचन नरोकिने प्रष्ट पारे।

उपप्रधानमन्त्री निधिले निर्वाचनमा सहभागी गराउन मधेसी मोर्चासंग वार्ता र छलफल चलिरहेकाले उनीहरु पनि निर्वाचनमा सहभागी हुन् विश्वास व्यक्त गरे।निर्वाचन अघि पूरा गर्न सकिने मागलाई पूरा गर्ने र बाँकी  मागलाई निर्वाचनपछि सम्बोधन गर्दै जाने विषयमा मधेसी मोर्चासंग छलफल चलिरहेको गृह मन्त्री निधिले बताए।

अधिकार सम्पन्न संघीय आयोग बनाएर सीमाकंनको विषय टुंग्याउने विषयमा मोर्चासंग छलफल भइरहेको र सो विषयमा मोर्चा पनि सकारात्मक रहेको उनले बताए। निधिले पूर्वाञ्चलका तीनवटै सुरक्षा निकायका प्रमुखसंग सुरक्षा अवस्थाबारे जानकारी लिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.