|
ओरलाण्डो सेरेल

काठमाडौं : धेरैजसो मानिसमा विभिन्न खालका आधारभूत क्षमता हुन्छन्। अत्यन्तै मेधावी मानिसमा यस्तो क्षमता रहस्यमयी रूपमा देखिने पनि गर्छ। यस्तै केही मानिसबारे यहाँ चर्चा गरिएकोछ, जसमा अनौठो मात्र होइन, रहस्यमयी क्षमता रहेको छ।

ओरलाण्डो सेरेल

मस्तिष्क क्षतिबाट ग्रस्त केही मानिस यस्ता हुन्छन्, जससँग अर्को अदभूत र अद्वितीय क्षमता सँगसँगै विकास भएको हुन्छ। टाउकोको अभिघात (ट्रमा)बाट पीडितहरू केहीमा यस्तो विशेष क्षमता विकसित हुनसक्छ, जसलाई ‘एक्वायर्ड सेभान्ट्स’ भनिन्छ। सामान्य अर्थमा भन्दा यस्ता व्यक्तिहरूमा अत्यन्तै तीब्र गणितीय क्षमता हुन्छ र यिनीहरूले कुनै पनि चिज वस्तुको चित्र तत्काल बनाउन, वर्णन गर्न सक्छन्।

सन् १९७९ मा ओरनाल्डो सेरेल स्कुलमा बेसबल खेलिरहेका थिए। बल उनको टाउको नजिकैबाट गयो। यद्यपि, यसले उनलाई कुनै ‘डिस्टर्व’ अनुभूत भएन। उनी खेलि नै रहे। एक वर्षपछि सेरेलले टाउको दुखेको महसुस गर्न थाले। सो वर्षको अन्त्यतिर उनले महसुस गरे कि उनले क्यालेण्डरका मिति, तिथि सजिलैसँग भन्न सक्छन्। जस्तो कि सन् १९८० मा कतिवटा सोमबार थिए? यस्तो अविश्वसनीय क्षमताका कारण उनले प्रत्येक दिनको विस्तृत विवरण बताउन सक्ने भए, हाइपरथिमेसिया रोगी झैँ। सेरेलको विषयमा यो निश्चय पनि मस्तिष्क क्षतिको कारण थियो, यद्यपि, यो टाउकोमा हुने अभिघात नै हो।

वास्तवमा यस्ता मानिसदेखि अन्य मानिस इष्र्यालु बन्ने गर्छन्। तर वास्तवमा यस्ता व्यक्तिहरूसँग यस्तो महान् मस्तिष्क हुन्छ, जसका कारण उनीहरू हरेक कुरालाई मिहिन र तार्किक ढंगले हेने गर्छन्, जसमा हामी सामान्य मानिस केन्द्रित हुन नै सक्दैनौँ।

थाई नोक

भियतनामका किसान थाई नोक सन् १९७३ मा ज्वरोबाट थलिए। सुरुमा यो सामान्य जस्तो थियो। ज्वरो निको भएपछि उनी इन्सोम्निया (निद्रा नलाग्ने रोग)बाट पीडित भए। उनले ठाने, यो धेरै लामो समयसम्म नरहला। उनले यतातिर धेरै ध्यान दिएनन् पनि। तर विगत ४० वर्षदेखि उनी निदाउन सकेका छैनन्। परीक्षणको रिपोर्टअनुसार उनको सामान्य समस्या भनेको कलेजोमा देखिएको छ। उनमा पनि सामान्य रिस उठ्ने समस्या मात्र महसुस भएको बताउँछन्, यस समस्याबाट।
उनले यस समस्याबाट मुक्ति पाउन धेरै बासस्थान परिवर्तन गरे, आफूलाई पूरै मदिरामा डुबाए, तर कुनै प्रगति महसुस भएन।

यसको एउटा कारण ‘माइक्रोस्लिप’ हुनसक्ने तर्क विज्ञहरूको छ। हाम्रो मस्तिष्कको एक भाग थकित भएको अवस्थामा यो समस्या देखिने गर्छ र शीघ्र निद्रा भंग हुने गर्छ। हरेक व्यक्तिले संभवतः थकानको समयमा यस्तो महसुस गरेको हुनसक्छ। गाडी चलाइरहेको समयमा निदाउनु यसको राम्रो उदाहरण हो। यही समस्या नोकले चार दशकदेखि भोगिरहेका छन्।

तिब्बती र नेपाली शेर्पाहरू

शेर्पाहरू विश्वकै अग्लो चुचुरो सगरमाथाका पथप्रदर्शकका रूपमा चिनिन्छन्। नेपाल तथा तिब्बतका शेर्पाहरूले यस्तो वंशाणुगत गुण वा क्षमता लिएर आएक हुन्छन्, जसका कारण उनीहरू समुद्र सतहभन्दा चार किलोमिटर (१३ हजार फिट) माथि उनीहरू आरामले बस्न सक्छन्। केही वर्षअघि मात्र अनुसन्धानकर्ताहरूलाई थाहा थिएन कि के कारणले उनीहरू यसो गर्न सक्छन्? तर अहिले उनीहरूले थाहा पाएका छन् कि ८७ प्रतिशत तिब्बतीहरूमा विशेष प्रकारको जिन हुन्छ, जसका कारण उनीहरूलाई सामान्य मानिस भन्दा ४० प्रतिशतसम्म कम अक्सिजनले पनि काम गर्छ।

ईपीएएस१ जिन तिब्बतीहरू यति अग्लो स्थानमा यति लामो समयसम्म रहन सक्नुको महत्त्वपूर्ण कारक रहेको पत्ता लागेको छ। धेरैजसो मानिस, जो तीन किलोमिटर (१० हजार फिट) उचाइमा पुग्छन्, उनीहरूको हेमोग्लोबिनको मात्रा बढ्ने गर्छ। हेमोग्लोबिनले नै हाम्रो शरीरमा अक्सिजनलाई शरीरका सबै भागमा पुर्‍याउने गर्छ। ईपीएएस१ जिनले तिब्तीहरूको हेमोग्लोबिनको मात्रा बढ्न दिँदैन, जसले गर्दा हृदयसँग सम्बन्धित समस्या उनीहरूमा कमै मात्र देखिने गर्छ वा देखिन दिँदैन।

अनुसन्धाताहरूका अनुसार तिब्बतीहरूले यो क्षमता अहिले लोप भइसकेका ‘डेनिसोभान्स’बाट प्राप्त गरेका हुन्। डेनिसोभान्स अहिले तिब्बतीहरू बसोवास गरिरहेका क्षेत्रमा बस्ने गर्थे। उनीहरूका अवशेषमा पनि तिब्बतीहरूमा रहेको ईपीएएस१ जिन पाइएको छ।

एलिजावेथ सुल्सर

अहिले धेरै मानिसले अविश्वसनीय अनौठो अवस्था ‘सिनेस्थेसिया’बारे जान्न सक्छन्, जसमा व्यक्तिका ज्ञानेन्द्रियमा गडबडी हुने गर्छ। उदाहरणका लागि यस्तो समस्या भएकाहरूले रातो रङको कुनै बल खाए भने, त्यसको स्वाद चेरीको जस्तो लाग्छ, यद्यपि, यो सत्य होइन। कतिपयले आफ्ना आँखा बन्द गर्दा विभिन्न रङ देख्न सक्छन्। एलिजावेथ सल्सरको दृष्टि, श्रवण शक्ति र स्वाद मिश्रित छ, उनी रङ्गीन ध्वनि तरंगहरू हेरेर संगीतको स्वाद लिन्छिन्।

यो सामान्य कुरा हो भन्ने ठानेर उनी अन्य मानिस पनि उनले जसरी नै संगीत र ध्वनिको स्वाद लिन्छन् र हेर्छन् भन्ने मान्छिन्। यद्यपि, जब सुल्सरलाई यो महसुस भयो कि अरू कसैसँग पनि यस्तो क्षमता छैन, त्यसपछि उनले एक्ली महसुस गरिन् र आफ्ना अनुभूति, अनुभवहरू अरूसँग बाँड्न छाडिन्। सिनेस्थेसिया सबैमा राम्रो होइन। व्यक्ति, जसले ध्वनिलाई देख्छ, ऊ प्रायः हल्ला हुने ठाउँबाट टाढै रहन खोज्छ, टाउको दुखेको महसुस गर्छ।

भाग्यवस, सुल्सर आफैँमा एक संगीतकार हुन्, यसकारण उनमा रहेको यस्तो समस्या पनि उनका लागि सहायक नै बनेको छ। उनमा देखिएको यस्तो रहस्यमयी अवस्थामा पनि सुल्सरमा सिनेस्थेसियाको कुनै पनि नराम्रो असर देखिएको भने छैन।

एसएम

'एसएम' भनेर चिनिने यी महिला अज्ञात रोगबाट ग्रस्त छन् किनकि उनको एमिग्डाला (मस्तिष्कको डर नियन्त्रण गर्ने भाग) पूरै क्षति भएको छ। अहिले तीन सन्तानकी आमा एसएमलाई डरको कुनै अनुभूति हुँदैन, चाहे जतिसुकै ठूलो समस्या आओस्। उनको डर जाँच गर्दा एसएमले अत्यन्तै डरलाग्दो चलचित्र मजाले हेरिन् र सर्पको जिब्रो समातिन्।

जब एसएम बच्ची थिइन्, उनी अँध्यारोदेखि डराउँथिन्, तर समयक्रममा जब उनी किशोरी हुँदै आइन्, उनको एमिग्डाला पूरै नष्ट भयो। यथार्थमा, उनी प्रायः एउटा घटना सुनाउने गर्छिन्, एकदिन उनी राती बाटोमा एक्लै हिँड्दै गर्दा एक पुरुष आएर उनको घाँटीमा चक्कु राख्यो। उनले नआत्तिईकन उसलाई सम्झाइन्। उनको हत्या गर्न आएको सो व्यक्ति आफैँ शान्त भयो।

डिन कार्नाजेज

म्याराथनमा भाग लिएक जोकोहीलाई थाहा हुन्छ कि कुनै निश्चित बिन्दुमा पुगेर उसले बिश्राम लिनुपर्छ। तर डिन कार्नाजेजलाई उनको मांसपेसीले दौडिरहन प्रेरित गर्छ।

साधारणतया, मानिसको शरीरले ग्लुकोजबाट शक्ति प्राप्त गर्छ, जसले ल्याक्टेट उत्पादन गर्छ। यदि ल्याक्टेट बढी उत्पादन भएमा शरीरले ल्याक्टिक एसिड उत्पादन गर्छ। डिनको शरीर ल्याक्टेटबाट प्रावित भएन, जसका कारण उनलाई कहिल्यै थकान महसुस भएन। डिन स्कुलमा रहँदैदेखि दौडन सुरु गरेका हुन्, जब उनी ट्र्याक टिममा आवद्ध भए।

कोलोराडोका केही वैज्ञानिकले उनको यस्तो क्षमताको जाँच गरे। उनीहरू भन्छन् कि सो जाँच जम्मा १५ मिनेटमै सकियो, तर उनी ट्रेडमिल (पैदल व्यायाम गर्ने मेसिन)मा एक घण्टासम्म दौडिरहे। उनको यही क्षमताका कारण उनी एक पटक ५० दिनमा ५० वटै म्याराथनमा दौडिए।

(एजेन्सीको सहयोगमा)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.