काठमाडौं : रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि मतदान जारी रहँदा क्याम्पस आसपासको क्षेत्र तनावग्रस्त बनेको छ। आरआरमा मतदान चलिरहँदा सँगैको बाल्मिकी क्याम्सप अगाडि अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ।
पेट्रोल बम कसले प्रहार गर्यो भन्ने खुल्न सकेको छैन। बिहानदेखि अहिलेसम्म प्रहरी र प्रदर्शनकारीबीच पटक-पटक झडप भइसकेको छ।
निर्वाचन रोक्न माग गर्दै नेकपा माले, नेकपा क्रान्तिकारी माअोवादी (वैद्य), नेकपा (विप्लव) र नयाँ शक्ति पार्टीनिकट विद्यार्थीहरुले संयुक्त विद्यार्थी संगठनको नाममा प्रदर्शन र नाराबाजी गरिरहेका छन्।
यसअघि फागुन २३ का लागि तय भएको चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो। तर, सर्वोच्च अदालतले निर्वाचन रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि चुनाव भएको हो।
आन्तरिक विवादका कारण अन्योलमा रहेको नेविसंघले आइतबार मात्र मनोनयन दर्ता गराएको थियो। क्याम्पस प्रशासनले एकलौटी ढंगले निर्वाचन गराउन खोजेको भन्दै गठबन्धनले बहिस्कार गरेको अखिल क्रान्तिकारीका नेता नरेश रेग्मीले जानकारी दिए।
चुनावमा एमालेसम्वद्ध अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही, कांग्रेससम्वद्ध नेविसंघबाट उत्तम साउद र माओवादीसम्वद्ध अखिल क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको प्यानल सहभागी छ। माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आफूलाई भोट नदिन आग्रह गर्दै शुन्य भोट मागेको छ।
उम्मेदवारी फिर्ता लिन नपाएको भन्दै उसले आफूलाई भोट नदिन आग्रह गरेको हो। अारअारमा पहिले अखिलको मात्र उम्मेदवारी परेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।