|

जनकपुरधाम : फूल खेतीबाट राम्रो आम्दानी हुन थालेपछि धनुषाका किसानहरु व्यावसायिक रुपमा फूल खेतीतर्फ रमाउन थालेका छन्। बजारमा फूलको माग अत्यधिक रहेका कारण राम्रो आम्दानी हुने देखेपछि किसानहरु व्यावसायिक रुपमा फूलखेती गर्न थालेका हुन्।

फूल खेतीमा राम्रो आम्दानी रहे पनि मिहिनेत पनि उत्तिकै गर्नुपरेको घोडघासकी साधना पण्डितले बताइन्। फूलका बेर्नालाई राम्ररी हेरचाह गर्नुका साथै समय–समयमा पानी दिनुपर्ने, मलखाद्य र औषधी छर्किनुपर्ने जस्ता कार्यमा विशेष ध्यान दिनुपर्ने  पण्डित बताउँछिन्।

धनुषाको देवपुरारुपैठा, घोडघास, देउरीपरबाहा, जुगेश्वरपुरलगायत ग्रामीण क्षेत्रका ४ हेक्टर जग्गामा व्यावसायिक रुपमा फूलखेती हुन थालेको जिल्ला कृषि विकास कार्यालय धनुषाका योजना अधिकृत सुरेन्द्र गोइतले जानकारी दिए।

फूलखेतीप्रति आकर्षण बढाउन किसानहरुलाई मलखाद्य र उन्नत जातको बिउ कृषि विकास कार्यालय धनुषाले उपलब्ध गराँउदै आएको छ। मिथिला क्षेत्रमा विवाह, व्रतबन्ध, गृह प्रवेश लगायतका शुभकार्य र रामजानकी विवाह पञ्चमी, छठ, दसैं, तिहार लगायतका महत्वपूर्ण चाड पर्वमा फूलको माग अत्याधिक हुने गरेको छ।

स्थानीयस्तरमा माग अनुसारको फूलको उत्पादन हुन नसकेपछि भारतको कलकत्ता, पटना, सिलिगुडी लगायतका स्थानबाट बर्सेनि ५० लाखभन्दा बढीको फूल आयात गर्नुपर्ने बाध्यता रहेको फूल व्यवसायीहरु बताउँछन्।

जनकपुरका  डेढ दर्जनभन्दा बढी व्यवसायीहरु चाडपर्व र मठमन्दिरमा फूलको माला बेच्नुका साथै  विवाहमा जिप कार सजाउँदै आएका छन्। एउटा कार जिप सजाएवापत ५ देखि १० हजार र सो भन्दामाथि रुपैयाँसम्म लिने गरेका फूल व्यवसायीहरु बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.