|

काठमाडौं : काठमाडौं जिल्लाको कागेश्वरी मनहरा नगरपालिका– ७, गोठाटारमा सामूहिक रूपमा वातावरणमैत्री व्यावसायिक तरकारी खेती उपआयोजनाको सुरुवात भएको छ। पाथिभरा उन्नतिशील कृषक समूहले व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को अनुदान सहयोगमा सो उपआयोजना सुरु गरेको हो। 

देशको युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गरी स्थानीय रूपमा कृषिलाई व्यावसायिक तथा रोजगारमुखी बनाउने उद्देश्यका साथ सो कार्यक्रम सुरु गरिएको समूहका अध्यक्ष कुमार ओझा बताउँछन्।

कृषिमा आधुनिकीकरण गर्दै थोरै जमिनमा बढी भन्दा बढी उत्पादन गरी स्वास्थ्यवद्र्धक तरकारी उपभोक्तालाई सरल रूपमा उपलब्ध गराउने समूहको दाबी छ। स्थानीय युवालाई रोजगार दिलाउने उद्देश्यले गोठाटारमा ११ रोपनी जमिन भाडामा लिई तरकारी खेती उपआयोजना सञ्चालन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा समूहका अध्यक्ष ओझाले जानकारी दिए। 

उपआयोजना सञ्चालनका लागि समूहसँग नेपाल सरकारको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले ३४ लाख ९५ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता गरेको छ भने समूहले ३६ लाख ५४ हजार २२८ रुपैयाँ गरी कुल ७१ लाख ४९ हजार २ सय २८ रुपैयाँको लागतमा सो उपआयोजना सञ्चालन हुने कार्यक्रममा जानकारी दिइयो। 

व्यावसायिक तरकारी खेतीबाट वार्षिक रूपमा ५७ लाख रुपैयाँ बराबरको तरकारी उत्पादन गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष ओझाले जानकारी गराए। उनका अनुसार समूहले प्लाष्टिक टनेलभित्र गोलभेंडा, बन्दा र काउली उत्पादनलाई पहिलो प्राथमिकता दिनेछ। आधुनिक प्रविधिको प्रयोग तथा बिषादीरहित उत्पादनमा जोड दिने र स्वास्थ्यबद्र्धक तरकारी उत्पादन गरी बिक्री वितरण गर्ने समूहको लक्ष्य रहेको पनि कार्यक्रममा जानकारी दिइएको छ। 

समूहले फलामको टनेल, सिँचाइका लागि बोरिङ तथा थोपा सिँचाइ प्रविधिको प्रयोग गर्ने र वातावरण आचारसंहिताअनुसार उत्पादनलाई प्राथमिकता दिने तरकारी खेती उपआयोजनाका व्यवस्थापक मुकुन्द श्रेष्ठले जानकारी दिए। 

सो सार्वजनिक सुनुवाइमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, युवा कृषक समूह र स्थानीय निकायका प्रतिनिधिहरूले व्यावसायिक तरकारी उत्पादनले युवा वर्गलाई कृषितर्फ आकर्षण गर्न प्रभावकारी बन्नुपर्ने, कृषि निर्वाहमुखी भन्दा व्यवसायमुखी हुनुपर्नेमा जोड दिएका थिए। 

उपआयोजनाको सम्झौता अवधि एक वर्षको भएको भए पनि तरकारी खेती भने दश वर्षसम्म सञ्चालन हुने समूहले जानकारी गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.