|

काठमाडौं :  एशियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १० वर्ष यताकै उच्च हुने अनुमान गरेको छ। मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म पुग्ने अनुमान गरेको हो। यद्यपी नेपाल सरकारले  बजेट मार्फत नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने अनुमान गरेको छ। 

आर्थिक वर्ष २०६४/६५ मा भएको ५.८ प्रतिशतको आर्थिक वृद्धिदर नै नेपालमा सबैभन्दा बढी थियो। तर, एडिबीले उक्त वृद्धिदर भन्दा एक प्रतिशत विन्दु बढी आर्थिक वृद्धिदर कायम हुने प्रक्षेपण गरेको हो। 'हामीले न्युनतम ५.२ र अधिकतम ६.२ प्रतिशतको आर्थिक वृद्धि नेपालले हासिल गर्ने प्रक्षेपण गरेका छौं यसमा औसत ५.७ प्रतिशत सम्मको आर्थिक बृद्धि हुनसक्कछ तर ६.२ प्रतिशतको आर्थिक बृद्धि हासीले गर्ने संभावना पनि छ' एडबीका कन्ट्री डाइरेक्टर केनिच योकोओमाले भने। 

नेपालले आर्थिक वर्ष २०७०/७१ मा पनि ५.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो। गत आर्थिक बर्षमा भने नेपालको आर्थिक वृद्धिदर जम्मा ०.७७ प्रतिशत मात्र रहेको थियो। दुई महिनाअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको अधिकतम आर्थिक वृद्धदर ५.५ प्रतिशत रहन सक्ने प्रक्षेपण गरेको थियो।

एडिबीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ 'कृषि उत्पादनमा भएको अधिक वृद्धि, आर्थिक वर्ष २०७३/ ७४ का पछिल्ला दुई त्रैमासिकमा भूकम्पपछिको पुन:निर्माणले लिएको गतिबाट सिर्जित सम्भावना र लगानीको वातावरणमा आएको सुधारले अघिल्लो पटक आँकलन गरिए भन्दा आशालाग्दो आर्थिक परिदृश्य सुनिश्‍चित छ'। नेपालले हालसम्म सबैभन्दा बढी आर्थिक वृद्धिदर २०५०/५१मा ७.९ प्रतिशत रहेको थियो। 

न्युन मुल्य बृद्धि

एडिबीले नेपालको मुल्य वृद्धिदर ६.५ प्रतिशतकै सेरोफेरोमा रहने अनुमान गरेको छ। आर्थिक वर्षको पहिलो ६ महिना अर्थात गत साउनदेखि माघ मशान्तसम्म औसत ५.८ प्रतिशतको मूल्य वृद्धि रहेकोमा यो दर आर्थिक वर्षको अन्त्यसम्ममा ६.५ प्रतिशत भन्दा माथि नजाने एडीबीको अनुमान छ।

आपुर्ति व्यवस्था सामान्यीकरण, कृषि उत्पादनमा वृद्धिको सम्भावना इन्धन तथा वस्तुको मूल्यमा आएको निरन्तर कमीका कारण चालु आर्थिक वर्षमा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ६.५ प्रतिशतको मूल्य बृद्धि हुने प्रक्षेपण एडीबीको छ। आपूर्ति असहजताको कारण गत आर्थिक वर्षमा ९.९ प्रतिशतको मुल्य वृद्धि कायम भएको थियो। सरकारले चालु आर्थिक वर्षमा मूल्य बृद्धि ७.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.