|

मर्चवार (रुपन्देही) : मर्चवारी गाउँपालिका– ९ कि गीता केवट २७ वर्ष पुगिन्। उनले यसअघि एकपटक मात्रै मतदान गरिन्। तर उनलाई थाहा छैन, त्यतिबेला कसले चुनाव जितेको थियो। ‘भोट माग्न आएका थिए, जसलाई भोट हाल्नुपर्छ भने त्यसैलाई भोट हालेको हो’, उनी भन्छिन्। उनलाई कुन पार्टीका नेता कुन चुनावका लागि भोट माग्न आएका थिए भन्ने पनि थाहा छैन। 

सरकारले आगामी बैशाख ३१ मा गर्ने भनेको चुनावको बारेमा पनि थाहा छैन उनलाई। ‘हामी त काम गर्ने मान्छे हो, हामीलाई हसियाँको बारेमा सोध्नुस्, चुनावको बारेमा नेतालाई गएर सोध्नुस्, प्रधानपञ्चलाई सोध्नुस्, उहाँले बताइदिनुहुन्छ, हामी गरिब मान्छेलाई के थाहा हुन्छ?’, केवट भन्छिन्। 

मर्चवारीकै कलावती साहनीलाई पनि चुनाव हुँदैछ भन्ने थाहा छैन। रायपुर गाविस खारेज भएर मर्चवारी गाउँपालिका भयो र वडा नम्बर पनि परिवर्तन भयो भन्ने कुरा उनले थाहै पाएकी छैनन्। ‘यस्तो कुरा हामीलाई कसरी थाहा हुन्छ? हामी त काम गर्न जान्छौं, मिटिङ विटिङमा जाँदैनौं’, उनले भनिन्, ’नेताहरूले हाम्रो माग पूरा भएको छैन भन्छन्, यही थाहा छ, अरू त उहाँहरूलाई नै सोध्नुस्।’

मर्चवार रूपन्देहीको सबैभन्दा विकट र विकासका हिसाबले पछि परेको क्षेत्र हो। १६ वटा गाविस रहेको मर्चवार क्षेत्रमा अहिले अरू केही गाविससमेत थप गरी एउटा नगरपालिका र चारवटा गाउँपालिका बनेका छन्। यी क्षेत्रमध्ये वुद्ध जन्मस्थल लुम्बिनी रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका घोषणा गरिएको छ।

पक्की सडक, कृषि उत्पादनमा अगाडि रहे पनि चेतनाका हिसाबले अझै पछाडि छ यो क्षेत्र। मर्चवार क्षेत्रबाटै सर्वेन्द्रनाथ शुक्ल, ओमप्रकाश यादव गुल्जारी जस्ता नेता पटक पटक मन्त्री बने। तर यहाँ चेतनाको स्तर माथि उठ्न सकेको छैन। गाउँमा हुने गतिविधि र सामाजिक सेवाका क्षेत्रमा सर्वसाधारणले चासो राख्दैनन्। नेताहरूले राजनीतिका कुरा बुझाउनै खोज्दैनन्। 

गीता र कलावती जस्तै रूपन्देहीको विकट मानिने मर्चवार क्षेत्रका अधिकांश बासिन्दा चुनावको बारेमा जानकार छैनन्। उनीहरूसम्म सरकारी सूचना नै पुग्दैन। मधेसी मोर्चाको आन्दोलनका वास्तविक कुरा पनि उनीहरूलाई थाहा छैन। मधेसी मोर्चाले कुन माग लिएर आन्दोलन गर्दै आएको छ र मधेसको समस्या के हो भन्ने पनि उनीहरू जान्दैनन्। ‘मधेसमा समस्या छ, हाम्रा माग छन्, ती पूरा गर्नुपर्छ भन्ने सुनेको छु’, कलावतीले भनिन्। उनलाई कसैले पनि भनेको छैन समस्या के हो भनेर। 

रायपूरका पूर्व प्रधानपञ्च दीपसिंह क्षेत्री राजनीतिक चेतना फैलाउन दलहरू गाउँमा नआएका बताउँछन्। ‘सबै भोट माग्न मात्रै आउँछन्’, उनी भन्छन्, ‘मधेसका बासिन्दालाई मधेसको खास समस्या के हो, माग के हो, संविधानमा के कुरा छन्, के छैनन् भन्ने बुझाउने मान्छे नै छैन।’

मर्चवारका महिलाहरू राजनीतिका बारेमा कुरा गर्नै खोज्दैनन्। तर्किन खोज्छन्। क्षेत्री भन्छन्, ‘उनीहरूलाई कसैले भनेको हुँदैन, तिमीहरूले पनि यस्ता कुरा जान्नुपर्छ, खास कुरा यस्तो हो भनेर भनेकै हुँदैन। राजनीतिका बारेमा कसैले सोध्दा नजानेको भइन्छ भन्ने एकखालको हिनताबोध उनीहरूमा छ। यसकारण पनि कोही तपाईँसँग कुरा गर्न तयार नहुनसक्छ।’ 

संविधानसभाको निर्वाचनपछि मर्चवार क्षेत्रमा राजनीतिक दलहरूले कुनै कार्यक्रम गरेका छैनन्। कुनै सभा भएका छैनन्। यही मौका पारेर सीके राउत नेतृत्वको गठबन्धनले ‘भुसको आगो सल्काउने प्रयास’ गरेको थियो। प्रशासनले कडा निगरानी गरेपछि उनीहरू पनि सीमापारि आश्रय लिइरहेका छन्। 

मधेसमा राजनीति गर्नेहरू जनताभन्दा बढी सत्ता र शक्तिप्रति केन्द्रित रहेको स्थानीय शिक्षक राजकिशोर पाण्डे बताउँछन्। ‘जनताले अहिले पनि चुनाव होस् भन्ने चाहिरहेका छन्, उनीहरू देशको संरचनाको बारेमा जान्न बुझ्न चाहन्छन्, तर नेताहरू जनताका घरमा पुग्दैनन्’, उनले भने, ‘जमिन्दारी शैलीको राजनीति हावी छ, जनताले सोध्ने र नेताले बताउने भन्ने छैन, जमिन्दारले जे भन्यो, त्यही मान्ने चलन छ।’ 

यो कुरा स्वीकार्छन् पूर्व कृषिमन्त्री ओमप्रकाश यादव गुल्जारी। उनी सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष छन्। मर्चवारको गोनाहामा बसोवास रहेका उनी रूपन्देही– २ बाट पहिलो संविधानसभामा विजयी भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा मर्चवार क्षेत्रसमेत रहेको निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका थिए। यो क्षेत्रबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले जितेका थिए। 

केन्द्रीय उपाध्यक्ष रहेका गुल्जारी भन्छन्, ‘मर्चवार पहिले जमिन्दारी प्रथाका कारण पछि पर्‍यो, अहिले विभिन्न आन्दोलन र संघर्षले पछि पार्‍यो।’ उनले मधेसमा चेतनास्तर माथि उठाउन नसकिएको स्वीकार गरे। ‘सरकारले संविधानको बारेमा जनतामा चेतना जगाउनुपर्ने थियो, सरकारले नगरेपछि हामीले गर्नुपर्ने थियो, हामीले पनि गरेनौं’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.