|

काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष विपिन रावत नेपालको चार दिने ओपचारिक भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका छन्। चिनियाँ रक्षामन्त्री चाङवान क्वान स्वदेश फर्किएको दुई दिनपछि भारतीय स्थल सेना प्रमुख रावत नेपाल भ्रमणमा आएका हुन्।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणमा आएका सेनाध्यक्ष रावतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गरे। उनी बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा सरिक हुने नेपाली सेनाले जनाएको छ। समारोहमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी उपाधि ग्रहण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, रक्षामन्त्री एवम् प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग सेनाध्यक्ष रावतले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। तीन दिने नेपाल बसाइका क्रममा  चिनिया रक्षामन्त्री क्वानले पनि प्रधानमन्त्री, रक्षामन्त्री एवम् प्रधानसेनापतिसँग भेटवार्ता गरेका थिए। भारतीय स्थल सेना प्रमुख रावतले नेपालको केही महत्वपूर्ण पर्यटकीय एवम् धार्मिकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण पनि गर्नेछन्। यस्तै पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत उनले निरीक्षण गर्ने कार्यक्रम छ ।

छिमेकी उच्चपदस्थ सैनिक अधिकारीको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् विस्तार गर्न थप योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।

चैत १० देखि १३ गतेसम्म नेपाल भ्रमण गरेर चीनका रक्षामन्त्री चाङवान क्वानले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, गृह मन्त्री र प्रधान सेनापतिसँग भेट गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.