|

लहान : सिरहाको गोलबजार नगरपालिका अन्तर्गतको विकट मानिने मुक्सारका हरेक गाउँ टोलमा खुला ठाउँमा दिसा गर्नेहरुलाई एक हजार आर्थिक जरिवाना गर्न थालिएको छ। मुक्सारमा वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको पहलमा खुल्ला दिसा मुक्त अभियान सञ्चालनसँगै घरमा शौचालय भए पनि खुला ठाउँमा दिसा गर्नेहरुलाई एक हजार रुपैयाँ जरिवाना गर्न थालिएको  हो।

त्यसरी जरिवाना गर्दा असहलेसम्म १९ हजार रुपैयाँ उठिसकेको छ। यस पैसाले पायक पर्ने ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने मुक्सारका सामाजिक परिचालक विनोद सुनुवारले बताए।

खुला दिसामुक्त क्षेत्रको अभियानअन्तर्गत घरमा शौचालय भए पनि खुला ठाउँमा दिसा बस्ने प्रवृत्ति बढ्दै गएपछि यसरी जरिवाना गर्न थालिएको सुनुवारले बताए। स्थानीय शिक्षक तथा समाजसेवी सागर पूर्वेले भने, ‘शौचालय घरमा हुँदाहुँदै पनि बाहिर जानेहरुलाई जरिवाना ठोक्न थालेपछि अवस्था सुध्रिएको छ।’

खुला रुपले दिसा गर्दा जरिवानामा परिने डरले पनि अहिले मुक्सारको बरडाँडा, अन्ध्रा, गोला, गुलरिया, भुल्किया, बहिरी बाँध लगायतका गाउँका ८ सय ९३ घरधुरीका बासिन्दाले प्रायः आफ्नो घरमा शौचालय बनाएर प्रयोग गर्न थालेको स्थानीय दलित अगुवा तेतर रामले सुनाए।

‘अभियान सुरु गर्नुपूर्व मुक्सारमा करिब पाँच प्रतिशतले मात्र शौचालयको प्रयोग गर्थे’ वडा सचिव मदनकुमार सुसलिङ मगरले भने, ‘अभियानपछि पिउने पानीका लागि समेत संकट झेलिरहेका स्थानीय बासिन्दाले शौचालय त बनाए तर, प्रयोग कसरी गर्छन् भन्ने चुनौती छ।’ 

गाउँ-गाउँमा नियन्त्रण टोली

सन् २०१७ भित्र सिरहा जिल्लालाई खुला दिसामुक्त जिल्ला बनाउने अभियानअन्तर्गत जिल्लाका तत्कालीन ३३ गाविस र ६ वटा नगरपालिका अन्तर्गतका गाउँ टोलहरुमा निगरानी तथा नियन्त्रण टोली बनाइएको छ।

जिल्ला समन्वय समिति सिरहाका वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन अधिकृत रमेश निधिका अनुसार सिरहा जिल्लाभर खुला दिसा मुक्त नभएका गाउँपालिका तथा नगरपालिकामा पर्ने गाउँ टोलमा स्थानीय सरसफाइ अभियानसँग जोडिएका युवा युवतीहरुको संलग्नतामा समिति बनाएर परिचालन गरिएको छ। समितिले खुला रुपले दिसा गर्दा हुने समस्या, सरसफाइको महत्व र शौचालय निर्माणको विषयमा स्थानीय बासिन्दालाई सहजीकरण गर्नुका साथै निगरानीसमेत गरिरहेको छ।

जिल्लामा ८० प्रतिशत शौचालय

गाउँ गाउँमा शौचालय निर्माण अभियानसँगै शतप्रतिशत निर्माण गरी प्रयोग गर्न थालेको अवस्थाको स्थलगत अनुगमन गरी अहिलेसम्म जिल्लाका तत्कालीन ३० गाविस. र ६ नगरपालिकाका ३० वडाहरु खुला दिसा मुक्त क्षेत्र घोषित भइसकेको खानेपानी तथा सरसफाइ अभियानको फोकल पर्सनसमेत रहेका निधिले बताए।

जिल्लाका एक लाख १७ हजार ९ सय २९ घरधुरीमध्ये ७९ दशमलव २६ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको छ। सिरहामा अहिले ३३ गा.वि.स. र ६ नगरपालिकाका ८६ वटा वडामा आगामी कात्तिक मसान्तभित्र जिल्लालाई खुला दिसा मुक्त घोषणा गर्ने गरी शौचालय निर्माण अभियान तीव्र बनाइएको छ।

शौचालय निर्माण अभियानमा गैसस

गाउँ गाउँमा शौचालय निर्माण अभियानमा सहजीरकणका लागि स्थानीय करिब एक दर्जन गैससहरुले काम गरिरहेका छन्। युनिसेफ, वाटर एड, युएन ह्याविट्या, एसएनभिको सहयोगमा नेवाः, युम्स, सिर्जना सामुदायिक विकास केन्द्र, इकार्डस नेपाल, आइडिइ नेपाल, सूर्योदय नेपाल, भवानी एकीकृत विकास केन्द्र, नेपाल रेडक्रस सोसाइटी सिरहा, जानकी महिला जागरण समाज लगायतका संस्थाहरुले शौचालय निर्माण अभियानमा काम गरिरहेको जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति सिरहाले जनाएको छ। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.