|

लहान : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिरहा सप्तरी जिल्लास्थित निर्वाचन कार्यालयमा घेराउसहित धर्ना दिएका छन्। मोर्चाका कार्यकर्ताहरुले जिल्ला सदरमुकाम सिरहास्थित जिल्ला निर्वाचन कार्यालयको मूल गेटमा मंगलबार मध्याह्न १२ बजेदेखि करिब अढाई घण्टा धर्नामा बस्नुका साथै नाराबाजी गरेका थिए।

निर्वाचन कार्यालय घेराउसहित धर्नामा बसेका मोर्चाका कार्यकर्ताहरुले कार्यालयको मूल गेटमा तालासमेत लगाएको मोर्चा सम्बद्ध घटक संघीय समाजवादी फोरम नेपाल सिरहाका अध्यक्ष बादल यादवले बताए। तालाबन्दीको कारणले कर्मचारीहरु कार्यालयभित्रै थुनिएका थिए।

मूल गेटमा लगाएको ताला प्रहरीले फुटाएको थियो। आफूहरुले उठाएको माग पूरा नभएसम्म निर्वाचन हुनै नदिने उद्घोषसहित आन्दोलन गरिरहेको मोर्चाका कार्यकर्ताहरुले कार्यालय तोडफोड गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। यद्यपि घेराउ र धर्ना शान्तिपूर्ण रुपले सम्पन्न भएको मोर्चाले जनाएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.