|
फोटो : कोल्बुङको प्लास्टिकबाट बनाइएको हाँस पोखरी

  • नमिन ढकाल 

इलाम : जलवायु परिर्वतनका कारण सुख्खा बनेका इलामका पर्यटकिय महत्वका पोखरीहरुको संरक्षणमा र पुनर्निर्माणमा स्थानीय जुटेका छन्।  विभिन्न समयमा सुख्खा बनेका जिल्लाका ३ दर्जन पर्यटकिय महत्व वोकेका पोखरीहरुलाई पुरानो अवस्थामा ल्याउन मेची पहाडी पर्यटन प्रर्वद्धन समिती, जिल्ला विकास समिती र गाँउ विकास समितीको सहयोगमा स्थानीयहरुले काम थालेका छन्।

पोखरी बनेपछि पर्यटकको आगमन हुने, व्यवसायिक ढंगले संचालन गर्न सकिने,पानीका स्रोत बढ्ने, आगलागी र सुख्खायाममा त्यहाँको पानी प्रयोग गर्न सकिने जस्ता फाइदा अनेकौं फाइदा छन्। 'इलाम र मेचीका अन्य पहाडी क्षेत्रवाट पनि बर्षेनी पोखरी निर्माणको माग उच्च आउने गरेको छ,' पर्यटन विकास लक्षित मेची पहाडीका कार्यकारी निर्देशक केशव धौरालीले भने, 'पोखरी निर्माणसँगै अन्य आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटकीय महत्वको बनाउने प्रयासमा छौं।’

संरक्षणको अभावमा सुक्दै गएका पोखरीलाई पुनर्जीवन दिन मेची पहाडीले ६० लाखको जति रकम खर्च गरिसकेको छ। माइखोलामा पनि पौडी पोखरी बनाउने काम थालिएको छ।

त्यसैगरी युवाहरुले फुटबल लगायतका खेल खेल्ने जीतपुरको झ्याउपोखरीलाई पोखरीको स्वरुप दिने काम भैरहेको छ।  बर्खाको भलबाढीले पुरेर सुकेको पोखरी अहिले फेरि पुनः उत्थान थालिएको हो। मेची पर्यटनको चार लाख ५० हजार रुपैयाँ सहयोगसहित स्थानीयको सक्रियतामा पोखरीलाई पहिलाकै अवस्थमा ल्याउने काम भैरहेको छ।

ऐतिहासिक महत्व बोकेको सुखानीमा रहेको पोखरी संरक्षणको काम पनि भैरहेको छ। त्यस्तै नयाँ बजारमा पार्कलाई थप सौन्दर्य प्रदान गर्न पोखरी निर्माण हुँदैछ। आमचोकको उत्तरे पोखरी र फूएतप्पाका पोखरी संरक्षणका लागि बजेट विनियोजन भएको छ।

सूर्योदय नगरपालिकाको थलथले पोखरी, कोल्बुङ मार्सेको अर्को पोखरी संरक्षणका लागि स्थानीयले माग गरेका छन्। त्यस्तै माइमझुवामा भएका पोखरीको संरक्षणका लागि पनि स्थानीय सक्रिय छन्।

एक अध्ययन अनुसार इलाममा रहेका  ३९ वटा पोखरीमध्ये थुप्रै पोखरी चौरमा परिणत भैसकेका छन्। स्थानीय प्रयास र सरकारी निकायको सहयोगपछि अहिले धेरै पोखरीको पुर्नउत्थान कार्य भैरहेको छ।

पर्यटकलाई आर्कषण गर्न सिँगारिदै ढाप पोखरी

जमुनामा रहेको रमणीय ढाप सीमासार क्षेत्रलाई पोखरीको स्वरुप दिइएको छ। करिब ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा पालन गर्ने सुरसारमा छन्। पोखरी बनेपछि त्यस क्षेत्रमा पानीका स्रोत बढेका छन्।

मेची पहाडी क्षेत्र पर्यटन प्रबर्द्धन विकास समिति, भू– संरक्षण कार्यालय, जिल्ला विकास समिती, गाउँ विकास समिती र स्थानीय जनश्रमदानमा पूर्वी मोहाडामा एकसय फिट लामो ड्याम तयार भएपछि ढापक्षेत्र भरिभराउ भएको हो।

ढाप पोखरी सिमसार संरक्षण समितीका अध्यक्ष युवराज भट्टराई 'विप्लव' भन्छन्,' जिल्लाकै अग्लो स्थान सन्दकपुर, धार्मिक जैविक महत्वको माइपोखरी रामसार क्षेत्र, टोड्के झर्ना, जमुनाको हाँगेथाम र चोयाटारको रेडपाण्डा क्षेत्रलगायत उत्तरी गाउँका दर्जनौ पर्यटकीय क्षेत्रमा आउने पर्यटकका लागि यो क्षेत्र आर्कषणको केन्द्र बनाउने तयारी थालिएको थालिएको छ। जिल्लाकै ठूलो पोखरी बनाएर पर्यटकीय गन्तव्य बनाउने स्थानीयको उदेश्य छ।'

आफ्नै पर्याप्त पानीको स्रोत भएको यो स्थानमा पोखरी निर्माण गर्नका लागि ५० रोपनी जग्गा उपलब्ध छ। करिब साढें तीन सय मिटर लम्बाई र दुई सय मिटर चौडाईमा पानी भरिएको यो पोखरीमा बारबेरा, ट्रेकिङ रुट, शौचालय, पार्क, भ्यूटावर जस्ता पुर्वाधार आवश्यक छ।

यो सबै काम स्थानीयस्तरवाट सम्भव नभएकाले सरोकारवाला निकायले सहयोग गरिदिए सीमावर्ती भारतीय क्षेत्रबाट पनि उल्लेख्य पर्यटक भित्र्याउन सकिने संभावना रहेको अध्यक्ष भट्टराइले बताए। सदरमुकामवाट २५ किलोमिटर उत्तरी गाविस जमुनामा ढापक्षेत्र सहित विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिएका स्थान छन्।

पर्यावरण संरक्षण गर्न प्लाष्टिकबाट पर्यटकीय पोखरी

कोल्वुङको पाथिभरा मन्दिर छेउमा रहेको हाँसपोखरीलाई व्युँताउन हरेक उपाय असफल भएपछि प्लाष्टिक लगाएर पानी जमाइएको छ। ६ महिना अघि भारतवाट मोटो प्लाष्टिक झिकाएर लगाइएपछि करिव पाँच रोपनी क्षेत्रको पोखरीमा पानी टनाटन छ।

त्यस आसपासको जैविक विविधताको रक्षा र पर्यटकीय आर्कषणलाई ध्यान दिदै हाँसपोखरी निर्माण समितीको सक्रियतामा पोखरी बनाइएको हो। हाँस पोखरी संरक्षण समितीका अध्यक्ष योगेश चाम्लिङ भन्छन्, ‘पर्यटक आर्कषण र जैविक विविधतालाई रक्षा गर्ने उदेश्यले प्लाष्टिक प्रयोग गरेर बनाइएको यो पोखरी मूलुककै नौलो हो।’

सरोकारवाला निकायबाट न्युन लगानी भएकाले बारबेरा, पानीको व्यवस्थापन लगायतका कामका लागि बजेट अभाव भएको उनको भनाइ छ । मेची राजमार्गसँग जोडिएको यो पोखरी पछिल्लो समय मेची पर्यटनको पाँच लाख सहयोगले निर्माण भएको हो।

२०२८ सालमा मेची राजमार्ग खुलेपछि क्रमश सुक्दै गएको पोखरी दशकपछि सडक स्तरोन्नती गर्ने क्रममा पूर्णरुपमा सुकेको थियो। चियावगानको रमणीयतामा रम्न आउनेसँगै पाथिभरा मन्दिरको दर्शनका लागि भिड बढेकाले स्थानीयमा पोखरी संरक्षणको आवश्यकता खड्किएको हो। पोखरी आसपास रहेको वन क्षेत्रमा विश्वमा दुर्लभ मानिए ४ सहित ३८ प्रजातिका सुनगाभा पाइन्छन्। त्यहाँ रहेका चराचुरुङ्गी र जंगली जनावारका लागि पोखरी आवश्यक देखिएकाले प्लाष्टिक लगाएरै भएपनि पोखरी निर्माण गरिएको चाम्लिङले बताए।

पोखरी संरक्षणका लागि यस अघि पटक-पटक गरिएका प्रयास असफल थिए। कन्यामबाट चिम्टिया माटो ल्याएर पोखरीको फेदमा रोलरले थिचेर पनि स्थानीयले संरक्षण प्रयास गरेका थिए। यो पोखरीमा निरन्तर दुई वटा हाँस रहने र झरेका पातपतिंगर हटाउने गरेको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.