सरकारले थाल्यो स्थानीय तह अभिमुखीकरण

|

काठमाडौं : उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले नेपालको संघीयता मौलिक भएको बताएका छन्।

स्थानीय तहका कार्यकारी अधिकृत र स्थानीय विकास अधिकारीका लागि सातवटै प्रदेशमा मंगलबारदेखि सुरु अभिमुखीकरणको उद्‍घाटन गर्दै मन्त्री थापाले नेपालको संघीयता मौलिक भएको बताएका हुन्। 

प्रदेश नम्बर ३ मा भएको कार्यक्रम उद्‍घाटन गर्दै मन्त्री थापाले जनताको घरदैलोमा पुगेको अधिकार र सेवाको पहुँचलाई सुनिश्चित गर्दै स्थानीय तहको सञ्चालन गर्न निर्देशन दिए।

नेपालले 'संघीय प्रणालीको अबलम्बनमा विश्वका अन्य मुलुक भन्दा फरक र फराकिलो ढंगले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइ मौलिक मोडेल स्थापित गर्न सफल भएको' थापाले बताए। 'राष्ट्रसेवक तथा सरोकारवाला सबैले यो संवैधानिक र संरचनागत परिवर्तनमा आफ्नो सीप, कौशल र क्षमताको भरपूर उपयोग गरी वडा कार्यालय तथा गाउँपालिका र नगरपालिका कार्यालयहरुको आधुनिक स्वरुपमा संस्थागत हुने गरी कार्य गर्नुहोला', थापाले भने।

'ऐतिहासिक रुपमा प्राप्त अवसरलाई उपलब्ध साधनश्रोतको समन्वयात्मक तरिकाले परिचालन एवं व्यवस्थापनको संस्थागत तयारी गर्न' मन्त्री थापाले निर्देशन दिए।

प्रदेश नम्बर ३ मा भएको कार्यक्रम स्काइपबाट अन्य ठाउँमा भएका अभिमुखीकरणका सहभागीले हेर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

अभिमुखीकरण

सरकारले स्थानीय विकास अधिकारी र स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई स्थानीय तह सञ्चालन एवं व्यवस्थापन सम्बन्धी अभिमुखीकरण दिएको छ।

मंगलबारदेखि सातवटा प्रदेशमा अलग अलग सुरु भएका कार्यक्रममा ७५ जिल्ला समन्वय कार्यालयबाट स्थानीय विकास अधिकारीहरु र ७४४ स्थानीय तहका कार्यकारी अधिकृतहरु सहभागी छन्।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को बर्दिवास, प्रदेश नम्बर ३ को नगरकोट, प्रदेशन नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को बाँके, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को कैलालीमा अभिमुखीकरण कार्यक्रमहरु भएका हुन्।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले ७४४ स्थानीय तह र ६ हजार ६८२ वडा कार्यालयमा प्रविधिमैत्री सरकारको परिकल्पनालाई साकार गर्न दिगो प्रयास सुरु गरी जनप्रतिनिधि बहाल नभएसम्म नयाँ परिवेशमा काम गर्न निर्देशन दिए। कार्यक्रम तीन दिन चल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.