प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

फिचर

'पहिचान भनेको लिम्बुले जाँड खानु र सुँगुर मारेर खानु होइन' : हरि चोङवाङ सेन्छेनहाङ्ग
SHARES

चैत १५, २०७३

    दमक : लामो समयदेखि किरात इतिहासको अध्ययनमा समर्पित हरि चोङवाङ सेन्छेनहाङ्ग किरात इतिहाससँगै नेपाली साहित्यमा समेत कलम चलाउँदै आएका छन्। किराती संस्कृतिको पहिचानको आन्दोलनमा उनको योगदान उच्च छ। किरात समुदायको इतिहासलाई उनले किताबमा समेत उतारेका छन्। 

    उमेरले ६७ वर्ष पूरा भएका उनी २०२८ सालदेखि निरन्तर नेपाली साहित्यसँगै किरात संस्कृतिको उत्थानमा लागिरहेका छन्। उनले पञ्चायती व्यवस्थामै जेल जीवन पनि बिताइसकेका छन्। ‘त्यतिबेलाका पञ्चायती शासकहरूले पहिचानको पक्षमा उभिएका मानिसहरूलाई देख्न सक्दैनथे’, उनी भन्छन्, ‘मैले किरात संस्कृतिको विषयमा कलम चलाएकै कारण २०२९ सालमा जेल पर्नुपर्‍यो।’ उनलाई १९ महिना विराटनगरको जेलमा राखियो। 

    हरिले नेपाली साहत्यिको विकासमा समेत योगदान गरेका छन्। उनको बुझाइमा साहत्य भनेको समाजको दर्पण हो। भन्छन्, ‘साहित्य तथा लेखन भनेको समाजको ऐना हो, यसले समाज परिवर्तनका लागि, महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।’ साहित्यकारको लेखनले समाज परिवर्तन गराउन सक्नुपर्ने उनको धारणा छ। समाजमा साहित्यकारहरूले देश र समाजका लागि लेख्नुपर्ने बताउँछन् हरि। साहित्यबाट समाजमा चेतना जगाउनुपर्ने उनी बताउँछन्। भन्छन्, ‘साहित्यकारले समाजमा पछाडि परेका वर्गको प्रतिनिधित्व गर्नुपर्छ, उनीहरूमा चेतना जगाउनुपर्छ।’ तर नेपालमा यस्ता साहित्यकारहरू कमै मात्रामा पाएका छन् रे उनले। 

    साहित्यको माध्यमबाट कमैले मात्र समाज परिर्वतन गरेको उनले बताए। उनको नजरमा अहिलेसम्म पहिचानको पक्षमा कलम चलाउने साहित्यकार आएका छैनन्। ‘अहिलेसम्म पहिचानको विषयमा खासै कलम चलाउने मान्छे भेटिएको छैन’, भन्छन्, ‘अब पहिचानको विषयमा कलम चलाउने साहित्यकारको आवश्यकता छ।’ धेरैजसो मानिसले पहिचान नबुझेको उनी बताउँछन्। ‘लेखकलाई धेरैले बौद्धिक व्यक्तित्वका रूपमा चिनेका हुन्छन्’, भन्छन्, ‘तर बौद्धिक भनिएका उनीहरूले पहिचानलाई नकारात्मक रूपले बुझेका छन्, धेरैले पहिचान भनेको लिम्बुले जाँड खानु र सुँगुर मारेर खानु भन्ने बुझेका छन् तर त्यसो होइन।’ 

    पहिचान भनेको कुनै जातिको धर्म, संस्कार र संस्कृति भएको र यसलाई मात्र पहिचान भन्न सकिने उनको बुझाइ छ। साहित्यकारको कलमले कुसंस्कारको अन्त्य गर्न सक्नुपर्ने उनी बताउँछन्। ‘साहित्यले कुससंस्कारको विरुद्धमा लेखेर, कुसंस्कार अन्त्य गर्नुपर्छ तर अहिले खासै यस्तो लेख्ने भेट्न गाह्रो छ’, हरि भन्छन्, ‘अहिले त लेखक, साहित्यकारको कलम पनि माया प्रेममा बढी चल्न थालेको छ।’ 

    साहित्यकारले कागजमा मात्र शब्द पोखेर केही नहुने उनी बताउँछन्। साहित्यकारहरूले शब्द होइन, व्यवहार र आचरण सुधार्नुपर्ने उनी बताउँछन्। ‘कतिपय साहित्यकारहरू आफू लेख्छन् तर त्यसलाई व्यवहारमा ल्याउँदैनन्’, हरि भन्छन्, ‘त्यस्तो साहित्यको आवश्यकता छैन। आफूले लेखेका कुरालाई व्यवहारमा ल्याउन सक्नुपर्छ।’

    पछिल्लो समय नेपालमा जातजाति र धर्म–धर्मबीच युद्ध हुने खतरा रहेको उनी बताउँछन्। भन्छन्, ‘अहिले देशको परिस्थिति हेर्दा देशमा युद्धको खतरा देखेको छु, यसलाई सरकारले बेलैमा ध्यान दिन नसके देशमा ठूलो गृहयुद्ध हुने खतरा छ।’ देशको कहिले पनि धर्म नहुने उनको बुझाइ छ। उनी भन्छन्, ‘सरकारमै रहेको एकथरि हिन्दु राष्ट्रको माग गर्दै बसेका छन् भने अर्काथरि धर्मनिरपेक्षता भन्दै बसेका छन्।’ सबै धर्मको मूल सार मानव सभ्यताको विकास र अहिंसा भएकाले सबै धर्मको सम्मान गरिनु आवश्यकता रहेको उनी बताउँछन्। 

    अहिलेको संविधान अपूर्ण रहेको उनको बुझाइ छ। अन्तरिम संविधान, २०६३ ले व्यवस्था गरेका कतिपय अधिकारलाई अहिलेको संविधानले संस्थागत गर्न नसकेको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिलेको सरकारले संघीयता लागू गरेर धेरै राम्रो काम गरेको छ, तर पहिचानको आधारमा राज्यको पुनर्संरचना गर्न सकेको छैन।’ कुनै जातको विशेष क्षेत्र भएको ठाउँमा उसको मातृभाषाबाट पठनपाठन हुनुपर्ने उनी बताउँछन्। ‘कुनै एक जातिको संख्या धेरै रहेको क्षेत्रमा सरकारले त्यही जातिको मातृभाषाबाट पठनपाठन गर्नु÷गराउनुपर्छ’, हरि भन्छन्, ‘आफ्ना मातृभाषाबाट नभए उसलाई असहज हुनसक्छ।’

    समाजमा जरो गाडेर जातीय विभेद अन्त्य नभएको उनी बताउँछन्। उनी भन्छन्, ‘यहाँ पिछडिएको वर्ग अझै विभेदमै छ, छोएको खाँदैमा विभेद अन्त्य हुँदैन। व्यवहार परिवर्तन हुनुपर्छ, अझै पिछडिएको वर्गले उचित शिक्षा, रोजगारसमेत पाएका छैनन्।’

    उनी अहिलेसम्म कुनै पार्टीको राजनीतिमा सक्रिय छैनन्। राजनीतिक स्थायित्व हुन नसक्दा देश गम्भीर अवस्थामा गइरहेको उनी बताउँछन्। अहिलेको अवस्थामा दलहरूका कारण जाति–जातिमा युद्धको खतरा रहेको उनी बताउछन्। अहिलेका दलहरूले पहिचानका आधारमा राज्य माग्दा जातीय राज्य मागेको सम्झने गरेको उनले बताए। ‘लिम्बुवानका कुरा गर्दा सरकारले लिम्बुको मात्र राज्य भन्ने सम्झन्छ, तर त्यस्तो होइन’, उनी भन्छन्, ‘लिम्बुवान राज्यमा सबै जातजाति अटाउन सक्छन्, यहाँको विकासमा यहाँकै समुदायको हात हुन्छ।’ 

    उनले लिम्बु भाषामामा आफ्नो काव्यसमेत प्रकाशन गरिसकेका छन्। उनले ‘थाक्लारेन तारप्पो तगो पोमाले’ नामक काव्य प्रकाशन गरेका छन्। यसको अर्थ ‘जीवनको लक्ष्यमा अघि बढ्दा’ हुने उनले बताए। ‘किरात ऐतिहासिक दर्पण भाग– १’ प्रकाशन गरेका छन्। यसमा मानव सभ्यताका साथै किरातहरूको इतिहास समेटिएको छ। त्यस्तै ‘तेअङ्सी सिरिजंगाको जीवनी एवम् केही ऐतिहासिक घटना’ पनि उनले प्रकाशन गरेका छन्। उनले नेपाली कवितासंग्रहसमेत प्रकाशित गरेका छन्। ‘वर्णमा फुलेका फूलहरू’ नामक कवितासंग्रह पनि प्रकाशित छ।

    उनका कृति तथा लेखहरूमा पहिचानका पक्षहरू धेरै समावेश भएको पाइन्छ। उनले धेरै कृतिमा समाजमा भएका विकृति तथा विचलनका कुराहरूलाई लेख्ने गरेका छन्। लिम्बु भाषा साहित्यमा निरन्तर लागिरहेका हरि हाल किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष छन्।

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]