|

पर्वत : जिल्ला प्रशासन कार्यालय मुस्ताङले बेनी-जोमसोम सडकखण्डमा २६ भन्दा बढी सिट क्षमता भएका सवारीमाथि प्रतिबन्ध लगाएको छ। जिल्ला प्रशासन कार्यालयले दुर्घटना जोखिम न्यूनिकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाएको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी भिमनाथ पोख्रेलका अनुसार यातायात व्यवस्था समितीले यसअघि नै गरेको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याएको हो। उक्त क्षेत्रमा २६ सिट भन्दा माथिको क्षमता भएका सवारी नचलाउन सडक डिभिजन कार्यालय बाग्लुङले यस अगाडि नै सिफारिस गरेको थियो।

७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखण्डमा यातायात सेवा दिँदै आएका स्थानीय व्यवसायीले समेत बाहिरबाट आउने गाडीका कारण आफ्नो व्यवसाय धरासायी बनेको भन्दै २६ सिट क्षमताको मापदण्ड लागु गराउन दबाब दिँदै आएका थिए। अञ्चल यातायात व्यवस्थापन समितिको २०७१ असार १३ गते बसेको बैठकले उक्त सडकखण्डमा २६ जनासम्म सिट क्षमता भएका गाडीलाई मात्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

यो मापदण्ड लागू भएपछि देशका विभिन्न ठाउँबाट मुस्ताङ जानका लागि बढी सिट क्षमत्ता भएका गाडी ल्याएर आएका पर्यटक तथा तीर्थयात्री समस्यामा पर्नेछन्। पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ भ्रमणमा जाने आन्तरिक पर्यटक र तीर्थयात्रीको चाप बढे पनि यातायात सेवा असहज छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.