|

जेनेभा :  इराकको इस्लामिक स्टेट (आईएस) समूहको पडक क्षेत्र मानिँदै आएको पश्चिमी मोसुलमा इराकी सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तिमा तीन सय इराकी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। 

संयुक्त राष्ट्रसङ्घ मानवअधिकार कार्यालय इराकस्थित राष्ट्रसङ्घको सहयोग मिसनले पुष्टि गरेको सूचनाअनुसार फेब्रुअरी १७ देखि मार्च २२ सम्मको अवधिमा सेनाद्वारा गरिएका हवाई आक्रमणमा ३०७ सर्वसाधारणको मृत्यु भएको छ।

यस बाहेक मार्च २३ देखि २६ सम्म भएका थप कारबाहीमा पश्चिम मोसुल र वरपरका क्षेत्रमा ९९ जनाको मृत्यु भएको खबर प्राप्त भएका छन्। पछिल्ला दिनमा कति सर्वसाधारणको भृत्यु भएको थियो भन्ने कुराको स्वतन्त्र पुष्टि भएको छैन। 

इराकी सेनाले इराकको दोस्रो ठूलो सहर मोसुलबाट जिहादी विद्रोहीलाई हटाउने प्रयास स्वरुप लगातार स्थल तथा हवाई आक्रमणलाई तीव्र पारेको छ। 

इराक र अमेरिकी रक्षा विभागले गत हप्ता मोसुलमा भएका हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको भन्ने सूचनाबारे छानबिन सुरु गरेको बताएको छ। विभागले उक्त कारबाहीमा दर्जनौँ मानिसको मृत्यु भएको आफलाई जानकारी प्राप्त भएपनि केही सञ्चारमाध्यममा सयौँ मानिसको मृत्यु भएको भनी आएका खरबप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ। 

संयक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद राउद अल हुसैनले विभागले सुरु गरेको अनुसन्धानको स्वागत गर्दै राष्ट्रसङ्घले गठबन्धन सेनालाई मृतक सङ्ख्याका आधारमा आलोचना नगरेको तर ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएको भनी आएका समाचारप्रति ध्यानाकर्षण गराउन चाहेको बताए। 

दुई लाख ७९ हजार लाख इराकी विस्थापित

उत्तरी इराकको मोसुल सरहमा पछिल्लो समयमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीका कारण दुई लाख ७९ हजार इराकी जनता विस्थापित भएका छन्। 
राष्ट्रसङ्घका सहायक प्रवक्ता फर्हान हकले सोमबार पत्रकारलाई दिएको जानकारीअनुसार दुई लाख २० हजार इराकी पश्चिमी मोसुलबाट गत फेब्रुअरीदेखि अहिलेसम्म विस्थापित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.