|

काठमाडौं : सभामुख ओनसरी घर्तीमगरले आफ्नो भूमिका निष्पक्ष हुँदाहुँदै माओवादी भनेर पूर्वाग्रही ढंगले हेरिएको गुनासो गरेकी छन्। मंगलबार आफ्नै निवासमा भएको पत्रकारसँगको भेटमा सभामुख घर्तीले संसदमा अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा पनि आफुले निष्पक्ष भूमिका नै निर्वाह गरेको दावी गरिन्।

'म माओवादी हो भन्ने कसलाई थाहा छैन र?', सभामुखले प्रश्न गरिन्, 'म अहिले सभामुखको भूमिकामा छु। मैले पदीय जिम्मेवारी र मर्यादा ख्याल गरेको छु। संविधान, कानुन, संसदीय अभ्यास तथा परम्पराभन्दा बाहिर गएको छैन तर मलाई माओवादी भनेर पूर्वाग्रही ढंगले हेरियो।'

उनले दलहरुबीच सहमति भएमा अविश्वासको प्रस्ताव वा बजेट सम्बन्धी आश्रित विधेयकमध्ये जुनसुकैलाई संसदको कार्यसूचीमा अगाडि राख्न सकिने स्पष्ट पारेकी छन्। 'मुख्य कुरा राजनीतिक दलबीचको सहमति हो। अविश्वासको प्रस्ताव अघि लैजाँदा पनि हुन्छ, विधेयक अघि लैजाँदा पनि हुन्छ', उनले भनिन्, 'दलहरु यो सहमति भयो भनेर आउन्, म लचिलो छु, संसदको कार्यसूची मेरो अधिकारको विषय हो, म फेर्न सक्छु', उनले भनिन्।

मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दलहरुबीच सहमति गर्न आग्रह गरेकी सभामुख घर्तीले पत्रकारसँगको भेटमा दलहरुबीच सहमति नभएमा कार्यसूची अनुसार अविश्वास प्रस्ताव अगाडि बढाउन आफू बाध्य हुने बताइन्।

सरकारलाई जानकारी नै नदिई असार ३१ गते बजेट सम्बन्धी तीनवटा आश्रित विधेयक पारित गर्ने कार्यसूची हटाएको भन्ने आरोप गलत भएको उनले बताइन्। 'मैले प्रधानमन्त्रीलाई भेट्न उहाँको कार्यकक्षमा ९/९ पटकसम्म मान्छे पठाएँ, आधा घण्टा पर्खिएँ', सभामुखले भनिन्, 'तर सभामुखले भेट्न नखोजेको, नचाहेको भनेर गलत रिपोर्टिङ गरिएछ।' 

सरकारले आर्थिक वर्ष २०७३/७४ का लागि पेश गरेको विनियोजन विधेयक अर्थात् १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट असार २५ गते पारित भएपनि बजेट सम्बन्धी अरु तीनवटा आश्रित विधेयक संसदबाट पारित हुन बाँकी नै छ। आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानतसम्बन्धी विधेयक पारित गर्न बाँकी छ।

प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीले राजीनामा नदिए बजेट पारित नगर्ने अडान लिएपछि २९ र ३१ गते बोलाइएका संसद बैठक सूचना टाँसेर स्थगित भएका थिए। उनले भनिन् 'मैले ३१ गतेलाई बैठक सारेको नै सहमति जुटाउनलाई थियो।'

सभामुखले दलहरुबीच मुद्धामा असहमति भए पनि प्रक्रियामा सहमति जुटाउन आग्रह गरिन्। 'दलहरुका मुद्दा फरक छन् तर प्रक्रियामा सहमति जुटाउनुस् भन्ने मेरो आग्रह हो', उनले भनिन्।

शंकाको वातावरण

सभामुखले दलहरुबीचको आपसी शंकाको वातावरणले अहिलेको राजनीतिक जटिलता आएको बताइन्। उनले सबै दलका नेताहरुमा एकअर्काप्रति शंका रहेको बताइन्। 'सबैतिर शंका छ। कसले के बोल्यो भनेर सबैले शंका गर्छन्', सभामुखले भनिन्, 'यसले जटिलता पैदा गरेको छ। कम्तिमा प्रक्रियामा सहमति भयो भने समस्या हुँदैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.