|

उदयपुरः सरकारले आगामी ०७४ वैशाख ३१ घोषणा गरेको स्थानीय तहको चुनावले ग्रामीण क्षेत्रका सर्वसाधरणमा उत्साह ल्याएको छ। दुई दशक जनप्रतिनिधिविहीन भएको स्थानीय क्षेत्रमा जनप्रतिनिधि निर्वाचित गराउन पाउने भएपछि उदयपुरका सर्वसाधरण खुलेरै चुनावी बहसमा जुट्न थालेका छन्।

‘झन्डै २० वर्षपछि नयाँ संरचनामा स्थानीय तहको चुनाव हुँदै छ’ कटारी नगरपालिका १३ पर्ने पहाडी क्षेत्र मयाँखुका स्थानीय शिक्षक तोकबहादुर श्रेष्ठले भने, ‘गाँउघरका सर्वसाधारण पार्टी उम्मेदवारभन्दा स्थानीय गाउँकै उम्मेदवारलाई भोट दिने पक्षमा खुलेर बोल्न थालेका छन्।’ अहिले उदयपुरका सरमुकाम गाईघाटका चिया पसलदेखि विभिन्न औपचारिक कार्यक्रममा मात्र चुनावी चर्चा चलेको छैन, पहाडी क्षेत्रका गाँउघरमा समेत साँझपख सर्वसाधरणहरु चुनावी पक्षमा बहस गर्न थालेका छन्।

नेकपा एमालेको तर्फबाट हर्देनी गाविसमा अध्यक्षमा निर्वाचित भएका पूर्व–गाविस अध्यक्ष योगेन्द्र खड्का २० वर्षअघि भएको स्थानीय निर्वाचनभन्दा अहिले फरक अनुभव गरेको बताउँछन्। ‘पहिला म हर्देनी गाविस अध्यक्ष हुँदा पार्टीलाई भोट माग्दा जितेको थिएँ,’ खड्का भन्छन्, ‘अहिले मतदाता पनि धेरै शिक्षित भएका छन्, सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको व्यक्ति खोजी गर्नुपर्नेमा छलफल गर्न थालेका छन्।’

तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र युद्ध, जनआन्दोलन र विभिन्न राजनीति उत्तारचढापछि हुन लागेको स्थानीय निर्वाचनमा जनप्रतिनिधि निर्वाचित गराउन गाउँ फर्कने पनि भीड लागेको छ। ‘शान्ति र समृद्धि ल्याउने नयाँ संविधान कार्यन्वयको लागि हुन लागेको समाजसेवी मान्छेलाई निर्वाचित गराउनु छ’ साविक जाँते गाविस सुनकोसी नगरपालिका ५ मा स्थायी घर भएका माओवादी पूर्व–लडाकु भुपाल थापा भन्छन्, ‘अहिले चुनावलाई जनयुद्धको जित मानेर खट्नुपर्ने भएकाले काठमाडांैको व्यवसाय छाडेर गाउँ आएको छु।’

स्वतन्त्र उम्मेदवारी घोषणा सुरु

उदयपुरको चौदण्डीगढी नगरपालिकामा मेयर पदको लागि वडा नम्बर ६ बेल्टारका स्थानीय राजेश खतिवडाले गएको सोमबार एक विज्ञप्ति जारी गरी मेयर पदको स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। खतिवडाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक पार्टीमा उम्मेदवारीको बहस चलिरहेको बेला स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

‘वैशाख ३१ गते घोषित निर्वाचनलाई मध्यनजर राख्दै मैले पनि उदयपुरको चौदण्डीगढी नगरपालिकामा मेयर पदको लागि उम्मेदवारी दिने घोषणा गरेको छु।’ चौदण्डीगडी नगरपालिकामा मेरो उम्मेदवारी समाज सेवाको लागि हो। मैले थोरै खर्चमा चुनाव लड्ने छु’ विज्ञप्तिमा भनिएको छ। उनले भनेका छन्, ‘जनताले मलाई विश्वास गरेर चुनाव जिताएको खण्डमा मैले आफ्नो कार्यकालमा चौदण्डीगढी नगरपालिकालाई नेपालकै नमुना नगरपालिका बनाउने लक्ष्य राखेको छु।’

के गर्दै छन्, उदयपुरका राजनीतिक दल?

उदयपुरका राजनीतिक दल चुनावी कार्यक्रम लिएर अहिले गाँउ–गाँउ पुगेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्र चुनावी कार्यक्रममा व्यस्त छन्। ३ नगरपालिका, ४० गाउँ विकास समिति, ११ वटा इलाका र ३ निर्वाचन क्षेत्र रहेको जिल्लामा ८ स्थानीय तह बनेको छ। जसमा ४ नगरपालिका  र ४ गाँउपालिका छन्।

विशेष गरेर एमाले र माओवादी केन्द्रले पुरानो संगठनको संरचना भत्काइ ८ वटै स्थानीय तहमा नयाँ संरचना निर्माण गरिसकेका छन्। नेपाली कांग्रेसले भने पुरानै संरचनामा गाउँ जागरण अभियान जारी राखेको छ। नेपाली कांग्रेस उदयपुरका सचिव रामकुमार राईले केन्द्रीय कार्यालयबाट पार्टीलाई नयाँ ढाँचामा बदल्ने निर्देशन आएकाले दुई दिनभित्रै ८ स्थानीय तहमा कार्य विभाजन गरी नयाँ संरचनामा जाने बताए।

‘अकास्किम बैठक बोलाउने तयारीमा नेपाली कांग्रेस उदयपुर छ।’ राईले भने, ‘अब ८ वटै स्थानीय तहबाट एकसाथ चुनावी कार्यक्रम गर्दै उम्मेदवारीको पनि टुंगो लगाउने छौं।’यसैगरी, नेकपा एमाले उदयपुरको चैत्र १३ र १४ गते बसेको विशेष जिल्ला बैठकले नगरपालिका र गाउँपालिकामा कार्य विभाज गरेर चुनावी मैदानमा उत्रिएको एमाले उदयपुरका सचिव परमेश घिमिरेले बताए।

घिमिरेका अनुसार त्रियुगा नगरपालिकाको संयोजकमा प्रकाशकुमार बस्नेत बेलका नगरपालिकामा संयोजकमा दुर्गा कुमार थापा, चौैदण्डी नगरपालिकामा राजेन्द्र कटुवाल, यसैगरी कटारी नगरपालिकामा शम्भु पौडेललाई संयोजक, रौतामाई गाउँपालिकाको संयोजकमा कैशाल बस्नेत, सुनकोशी गाउँपालिकामा विनोद राईलाई जिम्मेवारी तोकिएको छ। ताप्ली गाउँपालिकामा बाबुराम राई, उदयपुरगढी गाउँपालिकामा गोपाल खत्री संयोजक तोकिएको छ।

सचिव घिमिरेका अनुसारका सबै गाउँ र नगरपालिकामा चैत्र ३० गतेभित्र चुनावी सभा सकेर उम्मेदवारी टुंगो लगाउने योजनामा एमाले उदयपुर रहेको छ।उम्मेदवारीको मापदण्डसमेत पार्टीले पठाइसकेको सचिव घिमिरेले बताए। सत्तारुढ दल नकेपा माओवादी केन्द्र अहिले ‘जनताको माओवादी जनताकै घरमा’ भन्ने कार्यक्रम लिएर ८ वटै स्थानीय तहको प्रत्येक वडामा कार्यक्रम गरिरहेको नेकपा माओवादी पोलिटब्युरो सदस्य तथा इन्चार्ज मोहनबहादुर खत्रीले बताए।

‘हामीले ८ वटै स्थानीय तहमा पार्टीको संरचना निर्माण गरिसकेको छ।’ खत्रीले भने, ‘जिल्ला तथा प्रदेशका नेताहरुको उपस्थितिमा अहिले गाँपा र नपाको वडा सम्मेलन गरिरहेका छांै, त्यसलाई सकेर गापा र नपाकै सम्मेलन गर्दै चुनावीसभामा केन्द्रित हुने कार्यक्रम छ।’

अहिलेको पहिलो चरणको कार्यक्रम भएकाले त्यसलाई चैत्र ३० गतेभित्र सकि उम्मेदवारीको टुङ्गो लगाउने तयारीमा माओवादी केन्द्र उदयपुर छ। जिल्लामा रहेका साना दलहरु समेत चुनावी प्रचार प्रसार कार्यक्रममा लागि परेका छन्।

दलमा उम्मेदवारी पाउन लविङ सुरु

१ सय ५८ महिलासहित  ३ सय ९१ जना जनप्रतिनिधिले उदयपुरबाट  जिम्मेवारी पाउने भएका छन्। ८ स्थानीय तहबाट निर्वाचिन हुन अहिले कोही स्वतन्त्र र कोही राजनीतिक पार्टीबाट चुनाव लडी विजय हुने दाउमा दौडिएका छन्। पार्टीमा ८ वटै स्थानीय तहममा उम्मेदवारी बन्न लबिङ सुरु भएको छ। जिल्ला तथा केन्द्रका नेताहरुलाई फोन गर्नेदेखि टिकट पाउन घुरक्याउने समेत काम सुरु भएको दलका कार्यकर्ताको भनाइ छ।

जुनसुकै गाँउपालिकामा पनि उम्मेदवारीको एक दर्जन नाम आउने गरेको छ। स्थानीय तह घोषणासँगै सरकारले ल्याएको पछिल्लो समावेशी अवधारणाअनुसार गाउँरनगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये १ अनिवार्य र प्रत्येक वडामा १ दलितसहित २ जना सदस्य अनिवार्य गरेसँगै सो संख्यामा महिला जनप्रतिनिधित्व बन्नेहरुको कमै मात्रमा उदयपुरमा चर्चा छ।

८ तहमा ८ जना र ७५ वडामा अनिवार्य २ जनाका दरले १ सय ५० जना महिलाले जनप्रतिनिधित्व गर्नेछन्। महिलाले चाहे वडा अध्यक्ष र ४ जनै सदस्यमा पनि उम्मेदवारी दिन पाउनेछन्। ८ तहमा प्रमुख र उपप्रमुख गरी १६ जना र हरेक वडामा ५ जनाका दरले ३ सय ९१ जनप्रतिनिधि चुनावबाट निर्वाचित हुने भए पनि ८ वटै स्थानीय तहबाट अहिले हजारभन्दा बढी आकांक्षी देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.