|

उदयपुर : जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कटारी नगरपालिकामा रहेको विद्युत् प्राधिकरणको शाखा कार्यालयले पैसा तिर्न बाँकी छ भन्दै १० वर्ष अघिको पैसा माग्न थालेपछि सेवाग्राही चकित भएका छन्। कार्यालयले विद्युत् महसुल लेऊ भन्दै ०६२ सालदेखि ०६७ साल सम्मको पैसा माग्न थालेपछि सेवाग्रही चकित भएका हुन्।

कार्यालयले ढड्ढा (खाता) पल्टाएर बाँकी पैसा छ भन्दै माग्न थालेपछि आफूहरु चकित परेको कटारी स्थानीय अभी लामिछानेले बताए। ‘०६२ सालदेखि ०६७ सालसम्मको तिर्न बाँकी रहेको भन्दै महिनै पिच्छे शुल्क तिर्ने ग्राहकलाई निरन्तर रुपमा पैसा माग्न थालेको छ,’ लामिछानेले भने, ‘अच्चम लाग्छ खातामा बाँकी छ भन्छ।’

महिनैपच्छिे विद्युत्को बिल भुक्तान गर्दा पनि तपाईंको पहिलाको पैसा बाँकी भएको भन्दै कार्यालयले माग्ने गरेको कटारी ५ अर्का मन्जु दनुवारले बताइन्। ‘सधैं पैसा बुझाएकी छु’ दनुवारले भनिन्, ‘बाँकी मात्र भएको विद्युत् कार्यालयले भन्ने गरेको छ।’

कार्यालयलाई तिरेको पैसा विगतमा ढड्डामा नचढाउनाले समस्या आएको सेवाग्रहीकै भनाइ छ। ‘१० वर्ष अघि तिरेको बिलको रसिद कता हराइसक्यो,’ स्थानीय मेघबाहादुर कार्की भन्छन्, ‘कर्मचारीले पैसा लिएर पनी खाता (ढड्डा) मा चढ़ाउँदैन क्यारे, तिरेको पैसा पनि पुनः तिर्नुपर्ने भए रसिद सुरक्षित राखिन्थो होला भन्दै प्राधिकरणको कामकाजप्रति आक्रोश पोखे।

कार्यालयले तत्कालीन माओवादीको द्वन्द्वको समयमा कटारीवासीले विद्युत्को शुल्क नतिरेको भेटिएको कार्यालय प्रमुख रामस्वार्थ शाहले बताए। ‘संकटकालको समयमा कटारीका धेरै ग्राहकले पैसा नतिरेको खाता भेटिन थालेको छ,’ कार्यालय प्रमुख शाहले भने, ‘कति ग्राहकले रकम तिरेको छ भन्ने जम्मा संख्यामा म भन्न सक्दिनँ तर, कार्यालयले भने खाता हेरेर पैसा असुल्न थालेको छ।’ कार्यालय द्वन्द्वको समयमा कहिले विस्थापित भयो र कहिले स्थापित भयो मलाई थाहा छैन, शाहले भने।

यता शाखामा लेजर सेस्स खाता फाँट प्रमुख दिनेशकुमार सिंहले कटारीमा ०६२, ०६३, ०६४, ०६५, ०६६ र ०६७ सालमा धेरैले विद्युत् महशुल नरितेको भेटिन थालेको बताए। ‘ग्राहकले तिरेको दाबी गरिरहेको छ।’ आफू ०६७ सालदेखि हालसम्म कटारी प्रशाखामा कार्यारत रहेको बताउँदै सिंह भन्छन्, ‘त्यतिबेला कुन कर्मचारीलाई दिएको हो? कसले लिएको म भन्न सक्दिनँ, को थियो म त्यो पनि भन्न सक्दिनँ तर, खातामा धेरै ग्राहकको बाँकी पैसा देखिएको छ।’

कार्यालय प्रमुख शाहले संकटकालको समयको बाँकी बक्यौदा भनिरहेको बेला सिंहले संकटकालमा कार्यालय कहिले विस्थापित भयो अनि कहिले पुनःस्थापित भयो भन्ने बारेमा पनि आफू जानकार नभएको बताए। ‘कानुनी प्रक्रियामा गएर ग्राहकले प्रमाणसहित खोज्ने हो भने कुन कर्मचारी थिए, र कसले लिए भन्ने कुरा पत्ता लाग्ने खाता शाखा प्रमुख रहेका सिंहको दाबी छ।

‘०६२ देखि ०६७ सम्मका जम्मा बाँकी  बक्यौता कति ग्राहकको छ त्यो पनि भन्न सक्दिनँ,’ सिंहले भने, ‘गएको फागुन २३ गतेबाट कटारी कम्युटर सिस्टम लागू गरियो, अनि त्यही सिस्टममा यस्तो समस्या देखियो।’ हाल कटारी प्रशाखामा आबद्ध ५ हजार ग्राहक रहेको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.