|

सल्यानः सल्यानमा तरकारी बोट काट्ने किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित हुन थालेका छन्। बारीमा लगाएको तरकारीको विरुवाको फेद किराले काट्न थालेपछि किसानहरु चिन्तित हुन थालेका हुन्।

मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आइरहेका किसानहरु फेद काट्ने किराले बारीमा खाली बनाएपछि किसानहरु चिन्तित भएका हुन्। आफ्नो आम्दानीको मुख्य स्रोत बनाउँदै आइरहेको तरकारीको सम्पूर्ण बोटहरु किराले काटिदिएपछि समस्या भएको कालिमाटी गाउँपालिका वडा न २ की गंगा भण्डारीले जानकारी दिइन्।

उनले भनिन्, ‘दिनभर देखिँदैन राति आएर सबै काटिदिन्छ। अनेक उपाय लगाउँदा पनि किरा मार्न सकिएन। दिउँसो राम्रो भएको विरुवा अर्को दिन बिहान सद्दे भेटिँदैन, बोट काटेको वरिपरि खनेर हेर्दा मानाको हिसाबले किरा भेटिन्छ।’

तरकारीलगायत अन्नजन्य विरुवासमेत काट्न थालेको साविक लेखपोखरा गाविस २ की ललिता पुनले बताइन्। बारीमा लगाएको सिमी, बोडी, भिन्डी, मकै, करेला लगायतका विरुवाको डाँठ काटिदिने गरेको उनले बताइन्।

जिल्लाको अधिकांश ठाउँमा फेदकाटुवा किराको प्रकोप रहेको किसानहरुको भनाइ रहेको छ। साविकका कालिमाटी रामपुर, निगालचुला, दमाचौर, लेखपोखरा लगायतका गाविसमा किराको प्रकोप रहेको छ। खेतबारीको सरसफाइ गरेमा तथा जमिन गहिरोसम्म भिज्ने गरी सिँचाइ गरेमा फेदकटुवा किरालाई नष्ट गर्न सकिने जिल्ला कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ।

अन्न तथा तरकारी लगाएको बारीको नियमित सरसफाइ, माटो राम्रोसँग भिज्ने गरी सिँचाइ गर्ने र जैविक विषादीको प्रयोग गरेमा किराको अन्त्य गर्न सकिने कार्यालयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.