|

इलाम : माइभ्याली गोल्डकप पूर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हो। २०७१ साल देखि वर्षेनी इलाममा माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले संयुक्त रुपमा यस प्रतियोगिता आयोजना गर्दै आएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्लबहरु सहभागी हुने यस प्रतियोगिताको पुरस्कार राशी पनि निरन्तर बढ्दो छ। चैत १७ गतेबाट सुरु हुने यस संस्करणमा २ विदेशीसहित १० टिम सहभागी हुँदैछन्। यसै सन्दर्भमा प्रतियोगिताको आयोजना र इलाममा बढ्दो फुटबलको क्रेजका विषयमा थाहाकर्मी नमिन ढकालले माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङसँग कुराकानी गरेका छन्।

माइभ्याली गोल्डकपको 'कन्सेप्ट' कसरी सुरु भयो ?

माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा प्रतियोगिता सुरु गरिएको हो। विद्यालय स्तरमा अध्ययनरत राष्ट्रका कर्णधार युवाहरु कुलत र दुव्र्यसनमा फस्ने गरेको पाइएपछि विद्यार्थीलाई सकारात्मक रुपमा अगाडी कसरी बढाउने भन्ने सल्लाह भयो। त्यसपछि फुटबलका उनीहरुलाई आकर्षित गर्न २०७१ सालमा क्लबको पुर्नगठन गरियो।

त्यसअघि पनि भुकम्प पीडित स्मृति कपको नाममा २०५४ साल अघि प्रतियोगिता खेलाइदैं आएको थियो। देशको राजनिति र विभिन्न परिस्थितीका कारण १७ वर्षदेखि प्रतियोगिता स्थगित थियो। यसअघि नै इलाममा माइभ्याली स्पोर्टिङ क्लब थियो। त्यही क्लबले 'भूकम्प पीडित कप' आयोजना गरेको हो।

स्पोर्टिङ क्लबले खेलका विभिन्न विधाहरु समेट्नुपर्ने भएकाले फुटबलमा मात्रै फोकस गर्न हामीले माइभ्याली फुटबल क्लब बनायौं। २०७१ सालमा पहिलो संस्करणको प्रतियोगिता सुरु भयो।

तेश्रो संस्करणसम्म आइपुग्दा के-कस्ता परिवर्तन देखिएका छन् ?

हामीले खेल मैदानको स्तरनोन्नती गरेका छौं। एन्फा टेक्निकल कमिटीले समेत स्तरोन्नती गरी नरम बनाउनुका साथै अन्तराष्ट्रिय मापदण्डको बनाउन नसक्ने भए प्रतियोगिता आयोजना रोक्ने बताएपछि चौर रोपियो, १७०० ट्रयाक्टर बढी माटो हालेर फिलिङ गरिएको छ  जसले गर्दा प्रतिभावान खेलाडीलाई कौशल देखाउन सहज हुनेछ। 

स्तरिय क्लबलाई प्रतियोगितामा सहभागी गराउन सफल भएका छौं। जेष्ठ नागरिक, विद्यार्थीलाई प्रवेशमा सहुलियत दिनुका साथै छुट्टै बस्ने स्थान बनाइएको छ। अघिल्लो संस्करणमा सहभागी गराउन नसकिएको मनाङ मस्याङदी र संकटालाई समेत यस संस्करणमा इलामको मैदानमा देख्न सकिन्छ। यस संस्करणमा सर्वोत्कुष्ट खेलाडीलाई यमाहाको १५० सीसीको मोटरसाइकल, सर्वाधिक गोलकर्तालाई नगद २५ हजार र प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ७ हजार प्रदान गरिनेछ। पुरस्कार पनि बढाइएको छ। अघिल्लो संस्करणमा प्रथम पुरस्कार ३ लाख र द्धितिय पुरस्कार १ लाख ७५ हजार रहेकोमा यस संस्करण सो राशी ४ लाख र २ लाख ५० हजार पुर्‍याइएको छ।

प्रतियोगिता निरन्तर संचालनका लागी आम्दानीका स्रोतहरु के के छन्?

प्रतियोगिता संचालनका लागी मुख्य स्रोत भनेको टिकटको आम्दानी नै हो। पुर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएकाले पनि दर्शकहरुको माया अपेक्षा गरे अनुरुपको छ। ६० हजार भन्दा बढी दर्शकले प्रत्यक्ष यो प्रतियोगिता अवलोकन गर्दै आएका छन्। त्यसपछि देश-विदेशमा रहेको इलामेलीहरुको सहयोग र प्रायोजकहरुको सहयोग नै हो।

पहिलो संस्करणबाट नै प्रतियोगिताको प्रथम पुरस्कार सुर्योदय नगरपालिका जहरसिँह गाँउका तारा र रोजु सापकोटाले प्रदान गर्दै आउनुभएको छ। आगामी दिनमा पनि पुरस्कार प्रायोजन गर्ने उहाँहरुको प्रतिवद्धता नै छ। त्यसै गरी यस संस्करणको द्धितिय पुरस्कार बेलायातमा बसोवास गर्ने इलामेलीहरुले प्रायोजन गर्ने भएका छन्। प्रतियोगिताका लागि विदेशमा रहने इलामेलीहरुबाट सहयोग आउने क्रम निरन्तर छ।  कुल प्रतियोगितामा ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं।  त्यसमा २० लाख रुपैयाँ बचत हुने अपेक्षा छ।

प्रतियोगिता आयोजना गर्ने क्रममा के-कस्ता चुनौती देखिएका छन्?

हामीले प्रतियोगिता आयोजनाका लागि धेरै ठुलो समस्या भोग्नु परेको छ। पहिलो कुरो त खेल मैदानको अभाव हो। हाल प्रतियोगिता आयोजना गरिरहेको ठुलो टुडिंखेल नेपाली सेनाको परेड मैदान हो त्यो पनि स्तरीय नभएकाले पहिलो संस्करण देखि नै स्तरिकरणमा खर्च गर्नुपर्यो। रंगशाला नभएकाले खुल्ला डाडाँमा प्रतियोगिता संचालन गर्नुपरेको छ।

प्रायोजकसम्म पुग्नका लागी विश्वसनियता थिएन। रंगशाला नभएका कारण उनीहरुको विश्‍वास जित्न गाह्रो थियो। अहिले आएर यस्ता समस्या केही हदसम्म हल भएका छन्। इलाममा जस्तो भव्य फुटबल प्रतियोगिता अन्य पहाडी जिल्लामा हुँदैन भन्‍ने मान्यता स्थापित गरेका छौं। 

अहिले हाम्रो समस्या भनेको रंगशालाको प्याराफिट निर्माण हो। बाँसको प्याराफिट निर्माण गरेर प्रतियोगिता आयोजना गर्ने गरेका छौं। प्याराफिट बनाउँन वर्षेनी ८-१० लाख खर्च हुन्छ। प्रतियोगिता सकिएपछि बाँस बेच्दा ३०-४० हजारमात्रै आउँछ।

सरकारले यस विषयमा खासै चासो राख्न सकेको छैन। सरकारले  नीतिगत निर्णय गरिदिए हामी आफै यहाँ ट्रस्टको प्याराफिट बनाउने थियौं। कम्तीमा १५-१६ वर्षसम्म टिक्थ्यो। २ वर्षको नाफाले ट्रस्ट बनाउन सकिन्थ्यो बाँकी बर्षको नाफा बचत गरी फुटबल खेलको प्रर्वद्धनका अन्य कार्यक्रमहरु संचालन गर्न सकिन्थ्यो। 

खेलकुद मन्त्रालयमा रंगशाला निर्माणको लागी प्रस्ताव लिएर जाँदा नेपाली सेनाको मैदानमा बजेट लगाउन नमिल्ने जवाफ पाउने गरेका छौ। स्तरिकरणको समयमा पनि विभिन्न विकासे कार्यालयमा सहयोग माग्न जाँदा नेपाली सेनाको परेड मैदानमा बजेट छुटयाउन नमिल्ने भन्ने समस्या भोगेका छौं।  

राष्ट्रिय स्तरका नेताहरु जन्माएको इलामको खेल प्रर्वद्धनमा उनीहरुले खेलकुद र रक्षा मन्त्रालयसँग पहल गरिदिने हो भने इलाममा रंगशाला बन्न धेरै समय नलाग्ला।

फुटबल विकासका लागि क्लब र जिल्ला संघका के-कस्ता योजना छन्?

माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको मुख्य लक्ष्य भनेको इलाममा फुटबलरहरु जन्माउने हो। विद्यालय स्तरमा पढने विद्यार्थीहरु दुव्र्यसनको सिकार पर्ने गरेकाले उनीहरुमा सकारात्मक सोचको विकास गर्न फुटबल क्लब गठन गरिएको हो।

प्रतियोगितापछिको इलाममा फुटबल एकाडेमी संचालन गर्नका लागी पहिलो औपचारिक बसाइ निजी तथा आवसिय विद्यालय संगठन (प्याव्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएन (एन–प्याव्सन) सँग हुनेछ।

माइभ्याली र जिल्ला फुटबल संघले एकाडेमी संचालन गर्ने लक्ष्य राखेका छौं। कम्तीमा २५ जनासम्म फुटबलरलाई छात्रवृत्ति दिएर पढ्ने-बस्ने र फुटबल ट्रेनिङको व्यवस्था  मिलाउने योजना छ। इलामबाट देशलाई नवयुग श्रेष्ठ जस्ता दर्जनौ फुटबल जन्माएर दिने हाम्रो योजना छ।

राष्ट्रिय फुटबलमा इलामको योगदान कस्तो छ?

विगतदेखी नै इलामले धेरै राष्ट्रिय प्रतिभाहरु जन्मायो । जस्तै ८० को दशकमा धिरेन्द्र प्रधान जो हाल एन्फाको महासचिव हुनुहुन्छ उहाँ पनि इलामकै हो। जिवन श्रेष्ठ, मंगेश बस्नेत, विनोद श्रेष्ठ, दर्शन भक्तराजले राष्ट्रमा चर्चा कमाए।

त्यसपछि हामीले एन्फा एकाडेमीसम्म पुर्‍याएका सुवास राई, लोकबन्धु गुरुङले अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागीता जनाउने अवसर पाए। अहिले पनि विभिन्न 'ए' डिभिजन, 'बी' डिभिनजका क्लबहरुमा इलामका खेलाडीहरुले कौशल देखाइरहेका छन्। अहिलेका पुस्ताका नवयुग श्रेष्ठ, छिरिङ गुरुङ, दर्शन गुरुङ लगायतले राष्ट्रिय र अन्तराष्ट्रिय फुटबलका अमिट छाप छोड्न सफल भएका छन्।

इलामले जस्तो सफलता पाउनुपर्ने हो त्यति नभैरहेको कारण हामीले फुटबल क्षेत्रमा ठुलो लगानी गरिरहेका छौं। एकाडेमी इलामका संचालन भएपछि राष्ट्रिय टोलीमा इलामको प्रतिनिधित्व बाक्लो होस भन्ने चाहना हो।

तपाईले फुटबल खेल्दाको समयसँग अहिलेको तुलना गर्दा,के-कस्ता परिवर्तन देख्नुहुन्छ?

सन् १९८० को  दशकको कुरा हो, जतिबेला हामीले फुटबल खेलमा इलामको प्रतिनिधित्व गरिरहेका थियौं। त्यस समयमा खेलकुद सामाग्रीको चरम अभाव भोग्नुपर्थ्यो न त तालिमको व्यवस्था नै थियो। एउटा फुटबल फुटेपछि महिना पर्खनुपर्थ्यो अर्को फुटबलका लागि। बल्लतल्ल पैसा उठाएर नयाँ फुटबल खरिद गरिन्थ्यो।

अहिले गाँउ- गाँउमा क्लबहरु छन्। जिल्लामा फुटबल संघ छ। खेलाडीलाई प्राविधिक रुपमा सक्षम बनाउन प्रशिक्षकहरु छन, प्रर्वद्धन गर्ने संघ संस्था छन्। खेलकुद सामाग्रीको अभाव छैन। हाम्रो पालामा कहीं खेल्न जानुपर्‍यो भने घरको भात खाएर दिनभरी भोकै बसेर खेल्नुपर्थ्यो। बारी-बारी चहारेर फलफुल टिपेर पेट भर्नुपर्ने बाध्यता थियो। खेलकुद क्षेत्रमा व्यवसायिकता थिएन।

अहिले माइभ्याली क्लबबाट खेल्ने र छनौटमा सहभागीलाई राम्रो खाने बस्नेको प्रबन्ध छ। छनौटमा असफल भएका खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न खेलकुद सामाग्रीहरु समेत प्रदान गरेका छौं। अब फुटबल खेल व्यवसायिक बन्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.