|

बुटवल : लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमण डरलाग्दो गरी बढेको छ। चालु आर्थिक वर्षको फागुनसम्ममा रुपन्देहीमा १ सय ६१ जनामा डेंगुको संक्रमण देखिएको छ।

गत आर्थिक वर्षमा ७ जनामा संक्रमण देखिएकोमा अहिले यो संख्या ह्वात्तै बढेर १ सय ६१ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए। जसमध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी ९० जना संक्रमित रहेको उनले जानकारी दिए।

डेंगु संक्रमणको हिसाबले जोखिमयुक्त क्षेत्रमा रुपन्देही दोस्रो स्थानमा परेको छ। सबैभन्दा बढी जोखिमयुक्त जिल्ला चितवन हो। रुपन्देहीपछि झापा, विरगञ्ज, नेपालगञ्ज लगायतका क्षेत्रहरु पनि डेंगु रोगको जोखिममा छन्।

भारतमा डेंगुको महामारी भएका कारणले बिरामीको संख्या बढेको जनस्वास्थ्यले जनाएको छ।  अघिल्लो वर्षभन्दा यसपटक मनसुन लम्बिएका कारण डेंगुका बिरामी बढी देखिएको उनले बताए। उनले भने,‘बर्खा लामो समयसम्म रह्यो, त्यसका साथै विगतका वर्षहरूभन्दा यसपटक सचेत भई समयमै स्वास्थ्य संस्था आएकाले डेंगुका बिरामी बढी देखिएका हुन्।’ 

डेंगुको संक्रमण रोक्न जनस्वास्थ्य कार्यालय रुपन्देहीले देवदह र सालझण्डीमा ३० हजार झुल वितरण गरेको छ। २ वर्षअघि जनस्वास्थ्यले बुटवल उपमहानगरपालिकामा ६० हजार झुल वितरण गरेको थियो।

गत वर्ष ३१ जिल्लाका १ सय ३४ जनामा डेंगु संक्रमण पाइएको थियो ।  आर्थिक वर्ष ०७०-७१ मा ७ सय ८५, ०७१-७२ मा ३ सय २, ०७२-७३ मा १ सय ३४ जना डेंगुका रोगी भेटिएका थिए। गत वर्षको तुलनामा चालू वर्षको अहिलेसम्मको देशभरको तथ्यांक ११ गुणाले बढी हो।

तराईमा बढी देखिए पनि उपत्यकासहित, पोखरा, वागलुङ, बैतडी, रूकुम, कालिकोट, प्यूठान, स्याङ्जालगायत पहाडी जिल्लामा पनि डेंगु संक्रमण देखिएको छ। ठूलो संख्यामा डेंगुका बिरामी देखिए पनि चितवनमा एक जनाको मात्र ज्यान गएको पुष्टि भएको छ। गत वर्ष दाङ र चितवनमा गरी दुई जनाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.