|

काठमाडौं : विवाह बन्धनमा बाँधिएपछि नेपाली फिल्म क्षेत्र छाड्ने महिला कलाकारको जमात ठुलो छ। धेरैजसो नायिका विवाहपछि बच्चा जन्माएर फिल्म क्षेत्रबाट नै हराएका छन्।

तर यसको मतलब सबै नायिका विवाहपछि वा बच्चा जन्माएपछि फिल्म क्षेत्रबाट हराए भन्ने होइन। केही त्यस्ता नायिकाहरु पनि छन् जो बच्चा जन्माएपछि पनि हिट फिल्म दिइरहेका छन्।

विभिन्न कालखण्डका चर्चित नायिकाहरु आमा बनेपछि के गर्दैछन् त ? हामीले त्यस्ता १० चर्चित नायिकाहरुको खोजी गरेका छौं। जसमध्ये ५ नायिका फिल्मी दुनियाँबाट पलायन भैसकेका छन्। ५ जना आमा बनिसकेपछि पनि निरन्तर यसै क्षेत्रमा सक्रिय छन्।

जल शाह

जल शाह कुनै समयकी चर्चित नायिका हुन्। उनले अभिनय गरेका धेरै फिल्महरु सफल छन्। उनले 'नेपाली बाबु', 'नाता रगतको', 'ठुल्दाई', 'माईती', 'सन्यास' लगायत थुप्रै सफल फिल्ममा काम गरेकी छिन्।

फिल्म क्षेत्रमा सफल भैरहदाँ सुटुक्क भागेर विवाह गरेकी जल शाह अहिले एक सन्तानकी आमा बनिसकेकी छिन्। उनी आफ्ना श्रीमान् शरदकुमार रिमाल र छोरीसँगै अमेरिकामा बसोबास गर्छिन्। अर्थात उनी अहिले फिल्म क्षेत्रबाट टाढा छिन्।

विपना थापा 

कुनै समयकी चर्चित नायिका विपना थापा अहिले भारत मथोरमा बस्छिन्। उनले भारतीय उद्योगपति आशुतेष भारद्वाजसँग प्रेम विवाह गरेकी हुन्। उनका एक छोरा छन्।

विवाहअघि विपना नेपाली फिल्मकी सफल नायिका थिइन्। उनले 'अप्सरा', 'जन्मभुमी', 'नाता रगतको', 'मितिनी', 'वरमाला' लगायतका थुप्रै सफल फिल्ममा अभिनय गरेकी छिन्।

झरना बज्रचार्य

सन् १९९७ की मिस नेपाल झरना बज्राचार्य पनि पछिल्लो समय फिल्मी दुनियाँबाट टाढा छिन्। उनले 'हतियार' फिल्मबाट यस क्षेत्रमा कदम राखेकी थिइन्। झरना आफ्नो व्यक्तित्व र अभिनयका कारण सधैं चर्चामा रहिन्। तर उनका फिल्महरु सफल हुन सकेनन्। उनले 'मेड इन नेपाल' नामक चलचित्रमार्फत बलिउडमा समेत पाइला राखेकी थिइन्। तर कलिउडमा सफल फिल्म दिन नसकेकी झरनाले बलिउडमा राम्रा फिल्म पाउन सकिनन्।

बेलायती नागरिकसँगको इंगेज्मेन्ट बिहेमा परिणत हुन नसक्दा दुखित बनेकी झरनाले त्यसको केही समयपछि भारतीय मूलका मलेसियन व्यापारी राहुल अग्रवालसँग बिहे गरिन्। बिहेपछि झरनाले छोरा जन्माइन्। त्यसपछि उनी फिल्मी क्षेत्रबाट टाढा छिन्। छोरा र श्रीमानसँगै अहिले मलेसियामा बस्छिन्।

अरुणिमा लम्साल

धेरै सफल फिल्ममा अभिनय गरिसकेकी नायिका अरुणिमा लम्साल पछिल्लो समय यस क्षेत्रबाट टाढिएकी छिन्। आफ्नो मान्छे आफनै हुन्छ, अग्नी ज्वाला, दाग, धड्कन,निगरानी लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी अरुणिमाले बैंकर अमित अर्यालसँग विवाह गरेकी हुन्। उनी एक छोरीकी आमा हुन्।

अहिले उनी छोरी र श्रीमानसँगै अमेरिकामा बसोबास गर्छिन्।

ऋचा घिमिरे

बच्चा जन्माएपछि फिल्म क्षेत्रबाट टाढा हुने अर्की नायिका हुन्, ऋचा घिमिरे। निर्देशक शंकर घिमिरेसँग विवाह गरेकी ऋचा विवाहसँगै फिल्म क्षेत्रबाट टाढिन थालिन्। अहिले उनका ३ सन्तान छन्।

२ छोरf १ एक छोरीकी आमा ऋचा अमेरिकामा बसोबास गर्छिन्। ऋचा कुनै समयकी हिट नायिका हुन्।

यी हिट नायिका आमा बनेर पनि फिल्मी दुनियाँमा सक्रिय छन्।

करिश्मा मानन्धर

आफ्नो सुन्दरता र अभिनय कलाले धेरै फ्यान बटुल्न सफल नायिका हुन् करिश्मा मानन्धर। उनी जहाँ जान्छिन् त्यहाँ उनको रुपको प्रशंसा हुने गर्छ। करिश्माले अभिनय गरेका सन्तान, वसन्ती, ढुकढुकी, ट्रक ड्राइभर, एक नम्बरको पाखे लगायतका थुप्रै फिल्म सफल मानिन्छन्। फिल्म क्षेत्रमा नायिका साथै निर्माता समेत बनेकी करिश्माले विनोद मानन्धरसँग विवाह गरेकी हुन्। उनकी छोरी कविता मानन्धर फिल्ममा डेब्यु गर्ने तयारीमा छिन्। कविताले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ।

छोरी सानै छदाँ थुप्रै हिट फिल्म दिएकी करिश्मा छोरी हुर्किएपछि फिल्मसँगै राजनीतिमा सक्रिय छिन्। उनी अहिले बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिमा संलग्न छिन्। उनको अभिनय रहेको 'हिरोज' छिट्टै प्रदर्शनमा आउँदैछ।

झरना थापा

सानै उमेरबाट फिल्म क्षेत्रमा लागेकी नायिका झरना थापा बच्चा जन्माएर पनि सक्रिय हुने अर्की नायिका हुन्। २०५२ सालमा दाइजो फिल्ममा काम गर्दा उनको उमेर केवल १७ वर्षको थियो। उनले १८ वर्षकै उमेरमा निर्माता सुनिलकुमार थापासँग बिहे गरिन्। त्यसको एक वर्षपछि छोरी जन्माइन्। अन्य नायिकाजस्तो छोरी जन्मिएपछि झरना फिल्म क्षेत्रबाट टाढा हुनपरेन, बरु हिट भइन्। उनले छोरी जन्मिसकेपछि नायिकाका रुपमा गोर्खाली, ए मेरो हजुर, तकदिर, खलनायक लगायतका थुप्रै फिल्ममा अभिनय गरिन्।

अहिले झरनाकी छोरी सुहाना थापा १८ वर्षकी भैसकिन्। झरनाले फिल्म खेल्न थालेको २१ वर्ष नाध्यो। तर झरना अझै फिल्म क्षेत्रमै सक्रिय छिन्। नायिकाबाट निर्माता हुँदै उनी निर्देशक बनेकी छिन्।  उनको निर्देशनमा बनेको 'ए मेरो हजुर २' भदौ १६ गतेबाट प्रदशर्नमा आउँदैछ।

सञ्चिता लुइटेंल

'अप्सरा' फिल्मबाट रजपटमा डेब्यु गरेकी नयिका सञ्चिता लुइटेंल नेपाली सिने जगतकी एकदमै रुचाइएकी नायिका हुन्। उनले 'अप्सरा', 'रघुविर', 'सपुत', 'माया त माया हो', 'दाग', 'पापि मान्छे', 'छोडी गए पाप लाग्ला', आदि  फिल्महरुमा अभिनय गरेकी छिन्।

६ वर्ष पहिले नायक निखिल उप्रेतीसँग भागेर विवाह गरेकी  सञ्चिता केही वर्ष फिल्मी दुनियाँबाट टाढा भएकी थिइन्। उनी आफ्ना श्रीमान निखिलसँगै मुम्बईमा बस्थिन्। त्यसक्रममा उनले १ छोरा र १ छोरी जन्माइन्। सञ्चित अहिले फेरि फिल्ममा क्षेत्रमा व्यस्त छिन्।

उनले बच्चा जन्मिसकेपछि 'नाई नभन्नु ल-३', 'राधा' लगायत फिल्ममा अभिनय गरिसकेकी छिन्। उनले अभिनय गरेकी अर्को फिल्म 'गुनगुन' प्रर्दशनको क्रममा छ।

मेलिना मानन्धर

पाँच दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी नायिका मेलिना मानन्धर कुनै समयकी चर्चित नायिका हुन्। नायक मुकेश ढकालसँग वैवाहिक सम्बन्ध गाँसेकी उनको अहिले एक छोरी छिन्।

विवाहपछि पनि केही समय अभिनयलाई निरन्तरता दिएकी मेलिनाको सक्रिया बच्चा जन्मिएपछि घटेको छ। तर उनी फिल्म क्षेत्रबाट पुरै टाढा भने भएकी छैनन्।  उनले अभिनय गरेको फिल्म 'रोमियो' प्रर्दशनको क्रममा छ।

स्वेच्छा थापा

विवाह र सन्तान लाभपछि पनि निरन्तर फिल्म क्षेत्रमै सक्रिय रहेकी अर्की नायिका हुन्, स्वेच्छा थापा।  स्वेच्छाकी छोरी अहिले लक्का जवान भैसकेकी छिन्। तर फिल्ममा स्वेच्छा अझै पनि बोल्ड सिनहरु दिन पछि पर्दिनन्। गप्रदर्शनका कारण पनि उनको चर्चा धेरै हुन्छ। 'बिन्दास ३' मा शरिरमा खादामात्रै लगाएर उनले अर्धनग्न पोज दिएकी छिन्। यो फोटो निकै विवादित बनेको थियो।

विवादका बाबजुद पनि स्वेच्छा फिल्मी दुनियाँमा छाइरहेकी छिन्। उनको अभिनय रहेको 'मखमली' प्रर्दशनको क्रममा छ। उनी अहिले 'बिन्दास जीवन' र 'शिवम'को सुटिङमा व्यस्त छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.