|

धनकुटा : संघीय समाजवादी फोरम नेपालमा अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव गरेको औचित्य नहुने बताएका छन्। 

संघीय समाजवादी फोरम नेपाल, धनकुटाको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए।

स्थानीय तहको चुनाव संघीयता भएको देशमा प्रदेश सरकारले गराउने भएकाले पहिले संसद र प्रदेशको चुनावपछि मात्र स्थानीय तहको चुनाव हुनुपर्ने उनको भनाइ थियो। स्थानीय तह पूर्ण रूपले प्रदेशको मातहतमा रहने भएकाले पहिले संसद र प्रदेशको चुनाव सरकारले र स्थानीय तहको चुनाव प्रदेशले गरेमा पूर्ण रूपमा संघीय लोकतन्त्रको अवधारणाअनुसार अघि बढ्ने यादवले बताए।

अहिले कार्यान्वयन गर्न खोजिएको संघियता वास्तवमा संघीयता नभएको भन्दै यादवले संघीयताको नाममा एकात्मकता लादिन खोजिएको आरोप लगाए। देशमा अहिले खडा गरिएको स्थानीय तहको संरचना तराई, हिमाल र पहाड तीनै ठाउँका जनतालाई यातना दिने खालको भएको यादवको दावी थियो।

उनले अहिल्यै चुनाव गर्ने हो भने पुरानै संरचनाअनुसार बोर्ड फेरेर गाविसलाई र साविकका नगरपालिकालाई यथावत राखेर चुनाव गर्नुपर्ने तर त्यो भन्दा पहिला संविधान संशोधन गर्नुपर्ने बताए।

अहिलेको संविधानले लामो समयदेखि विभेदमा पारिएकालाई अधिकारसम्पन्न बनाउन नसक्ने बताए। वर्तमान संविधान एकलौटी र विभेदकारी भएको भन्दै यसले एकल जातीय प्रभुत्व लाद्ने दावी पनि गरे। वर्तमान संविधानमा प्रशस्त गल्ती र त्रुटि भएकाले त्यसलाई सच्याउन संविधान संशोधन हुनुपर्ने यादवको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.