|

इलाम : सदस्यता विवादबाट सुरु भएको नेपाल पत्रकार महासंघ इलाम शाखाभित्रको द्वन्द्व विभाजनसम्म पुगेको छ। अध्यक्षको हैसियतमा दुईजनाका अलगअलग विज्ञप्ति सार्वजनिक भएपछि महासंघ इलाम शाखाको विभाजन सतहमा आएको हो।

इलाममा बिहीबार माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उद्‍घाटन कार्यक्रम थियो। उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघको नेतृत्वलाई आसन ग्रहण गराउने/नगराउनेमा आयोजक नै अलमलमा थिए।

अलमल किन?

फागुन ७ गते पत्रकार महासंघ इलाम शाखाको अधिवेशन थियो। सदस्यता विवाद छानबिन नै नगरी अधिवेशन गरेको भन्दै एकपक्षले अधिवेशन बहिष्कार गरेको थियो। उक्त समूहमा नेपाल प्रेस युनियन र संघीय प्रेस फोरम थिए। एक समूहले अधिवेशन बहिस्कार गरे पनि प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको समर्थन रहेको समूह भने अधिवेशनको पक्षमा रह्‍यो।

उक्त अधिवेशनले कोकिला ढकालको अध्यक्षतामा कार्यसमिति चयन गर्‍यो। अधिवेशन बहिस्कार गर्ने पक्षले विप्लव भट्टराईको अध्यक्षतामा अर्को कार्यसमिति गठन गरेको थियो। सदस्यता विवादबाट सुरु भएको द्वन्द्व दुई कार्यसमिति गठनसम्म पुगेको थियो।

महासंघमा दुई समूहले आफूलाई आधिकारिक दाबी गरेपछि आयोजकले कसैलाई पनि आसन ग्रहण नगराउने योजना बनायो। आयोजकले आसन ग्रहण नगराएपछि ढकाल अध्यक्ष रहेको समूहले विज्ञप्ति निकालेर पत्रकारलाई कार्यक्रमको समाचार प्रकाशित नगर्न निर्देशन दियो भने भट्टराई नेतृत्वको समूहले उक्त विज्ञप्ति निकाल्नेलाई कारबाही प्रक्रिया थालेको दाबी गर्‍यो।

माइभ्याली गोल्ड कपका आयोजक समितिका अध्यक्ष धिरेन चेम्जोङ महासंघको दुईवटा समिति अस्तित्वमा रहेकाले विवाद हुने देखेर मौनतापूर्वक अघि बढ्नुपरेको बताउँछन्। 'आयोजकलाई यति थाहा छ कि नेपाल पत्रकार महासंघको एउटा जिल्लामा एउटा शाखा रहन्छ। त्यसकारण शाखालाई निमन्त्रणा गरिएको हो। त्यसको आधिकारिकता प्रमाणित गर्ने संस्था आयोजक नभएको र कार्यक्रमको दौरान दुईवटा समितिले बेग्ला बेग्लै अस्तित्व दाबी गरेका कारण प्रतियोगितालाई ध्यानमा राखी विवादरहित ढंगले गोल्डकप सम्पन्न गर्न मौनतापूर्वक अगाडि बढ्नुपरेको बाध्यात्मक स्थिति हो। कुन आधिकारिक कुन अनाधिकृत भन्ने जिम्मा हाम्रो होइन। खेल मैदानमा आधिकारिकता खोजिँदैन' उनले भने।

के छ विज्ञप्तिमा?

एउटा विज्ञप्तिमा खेल प्रतियोगिताको आयोजकले महासंघको अस्तित्व स्वीकार्न नसकेको ठहर गर्दै पत्रकारहरुलाई उक्त खेल प्रतियोगिताको समाचार प्रकाशन प्रसारण नगर्न निर्देशन दिइएको छ भने अर्को विज्ञप्तिमा पहिला विज्ञप्ति निकाल्ने समूहलाई कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

अध्यक्षको हैसियतमा कोकिला ढकालद्वारा जारी विज्ञप्तिमा ‘प्रतियोगिताको उद्‍घाटन सत्रका लागि नेपाल पत्रकार महासंघलाई अतिथिका रुपमा निमन्त्रणा गरिए पनि आम नागरिकको सूचनाको हक सुनिश्चित गर्दै सुसूचित गराउन दिनरात खटिरहने पत्रकारहरुको छाता संस्था महासंघलाई कार्यक्रममा सहभागी नगराउने कार्यले आयोजकले महासंघको अस्तित्व स्वीकार्न नसकेको ठहर महासंघले गरेको’ उल्लेख छ।

उक्त विज्ञप्तिमा २०७३ चैत १७ गते बसेको महासंघप्रतियोगिताको उद्‍घाटन सश र उद्‍घाटन खेल बहिस्कार गर्ने निर्णय गरेको जनाइएको छ। विज्ञप्तिमा ‘उद्‍घाटन सत्र र उद्‍घाटन खेलको समाचार समेत संकलन र प्रकाशन प्रशारण नगर्न महासंघका सदस्यलाई निर्देशन’ दिइएको छ।

तर अध्यक्षकै हैसियतमा विप्लव भट्टराईद्वारा जारी अर्को विज्ञप्तिमा ‘प्रतियोगिताको विषयलाई लिएर केही पत्रकारहरुले नेपाल पत्रकार महासंघ इलाम शाखाको लेटर प्याड र छापको दुरुपयोग गर्दै गोल्डकप बहिस्कार गरेको’ आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ- हामी जिल्लाको प्रतिष्ठासँग जोडिएको यो प्रतियोगिताको समाचार संकलनकै क्रममा मैदान परिसरमा रहेको बेला गोल्डकप बहिस्कार गर्ने नाममा सो समूहले नियोजित ढंगबाट पत्रकार महासंघ इलाम शाखाको कार्यालयमा तोडफोड गरी आम जगतलाई भ्रम सिर्जना हुने ढंगबाट विज्ञप्ति जारी गरिएकोमा खेद व्यक्त गर्दछौँ।‘

भट्टराईद्वारा जारी विज्ञप्तिमा उक्त ‘हर्कत गर्ने पत्रकारको पहिचान भैसकेको र नेपाल पत्रकार महासंघ इलाम शाखाको आकस्मिक पूर्ण बैठकले निजलाई कारबाहीको प्रक्रिया अघि बढाइसकेको’ उल्लेख छ।

ढकाल वा भट्टराई को हो अध्यक्ष?

 विज्ञप्ति निकाल्ने कोकिला ढकाल र विप्लव भट्टराई दुबै आफूलाई अध्यक्ष दावी गर्छन्। ढकाल महासंघ केन्द्रका प्रतिनिधि आएर ५१ प्रतिशतभन्दा बढी सदस्य सहभागी भएको अधिवेशनले आफूलाई अध्यक्ष निर्वाचित गरेको बताउँछिन् भने भट्टराई केन्द्रमा भएको सहमति उल्लंघन गरी जबर्जस्ती अधिवेशन गरिएपछि बाध्य भएर अर्को कार्यसमिति गठन गर्नुपरेको बताउँछन्।

‘उहाँहरुको फर्जी हो। अधिवेशन छोडेर जानुभएकोले आधिकारिक होइन’, ढकाल भन्छिन्, ‘फागुन ७ गते केन्द्रीय प्रतिनिधिले ५१ प्रतिशत सदस्यको उपस्थितिमा अधिवेशन गर्नुभएको हो। उहाँहरु कोठामा अधिवेशन गराएर आफैलाई अध्यक्ष घोषणा गर्नुभएको छ।' पत्रकारहरुलाई खेल प्रतियोगिताको रिपोर्टिङ नगर्न दिइएको निर्देशन सांकेतिकमात्र भएको भन्दै उनले आफूहरु रिपोर्टिङमा लागिसकेको बताइन्।

भट्टराई भने आफूहरुले सदस्यता विवाद समाधान नगरी अधिवेशन नगर्ने पक्षमा रहे पनि जबर्जस्ती अधिवेशन गरिएको बताउँछन्। ‘केन्द्रमा पनि यही विषयमा तालाबन्दी थियो। जिल्लामा पनि तालाबन्दी थियो। जबर्जस्ती गरिएपछि हामीले पनि अलग बसेर अधिवेशन गर्नुको विकल्प थिएन’, उनले भने, ‘यो सबै केन्द्रको गैरजिम्मेवारीका कारण भएको हो।‘

हेर्नुस् ढकालले जारी गरेको विज्ञप्ति

हेर्नुस् भट्टराईले जारी गरेको विज्ञप्ति

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.