तत्काल सुधारका लागि ३० बुँदे कार्ययोजना

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले तत्काल सुधार गर्ने गरी ३० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। शुक्रबार महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले प्रदुषण नियन्त्रणदेखि तीनकुने क्षेत्रको सुधार तथा व्यवस्थापनसम्मका ३० बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्। 

उनले काठमाडौं उपत्यकाभित्र बढ्दै गएको प्रदुषण अबको ३ महिनाभित्र नियन्त्रण गर्ने घोषणा पनि गरे। त्यसका लागि धुलो तान्ने उच्च क्षमताको  'बुब्रर' मेसिन १० वटा किनेर सडक सफाइ अभियान थाल्ने कार्यकारी अधिकृत पौडेलले बताए।

महानगरपालिकाले सफाइ कर्मचारीहरुलाई भित्री टोलमा परिचालन गर्ने भएको छ। सफाइ कर्मचारीलाई काठमाडौं क्लिनरको नाम दिएर हाफ ज्याकेट र टोपी दिएर कार्यस्थलमा खटाउने महागरपालिकाको योजना छ। त्यस्तै महानगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि नुवाकोटको सिसडोल, ओखरपौवा र बञ्चरे डाँडामा एकीकृत व्यवस्थापन गर्ने योजना बनाएको छ।  

काठमाडौंका पर्यटकीय स्थलहरुलाई समेटेर स्काई बस सञ्चालन गर्ने बताए। यसका लागि पर्यटन ब्यवसायीहरुसँग छलफल तथा सहकार्य थाल्ने उनको योजना छ। 

त्यसैगरी महानगरपालिकाले आफ्ना सेवाहरुलाई चुस्त, पारदर्शी र सेवाग्राही मैत्री बनाउन सबै विभागमा रेपिड रेस्पोन्स टीम गठन गर्ने योजना बनाएको छ। यसले नागरिकको गुनासो सुन्ने र समस्या समाधानको पहल गर्ने पौडेलले बताए। यस्तै महानगरपालिकाले कर्मचारीलाई तीन सिफ्टमा परिचालन गर्ने पनि योजना बनाएको छ।

ब्याकुल माइला ‘विकास दूत’

महानगरले राष्ट्रिय गानको सर्जक ब्याकुल माइलालाई महानगरले विकास दूत नियुक्त गरेको छ। महानगरको विकासका गतिविधिलाई साथ दिने र सफाइ प्रर्वद्धनमा सहयोग गर्नका लागि महानगरले व्याकुल माइलालाई विकास दूत नियुक्त गरेको कार्यकारी अधिकृत पौडेलले जानकारी दिए। 

महानगरका मुख्य क्षेत्रमा ठूला रुख रोप्ने

अबको ६ महिनाभित्र महानगरका नदी किनारमा ठूला रुख रोप्ने महानगरपालिकाको योजना छ। रुख रोप्न सकिने ठाउँको पहिचान गरी ठूला खाले विरुवा रोपेर काठमाडौंलाई हरियाली बनाउने कार्यकारी अधिकृत पौडेलले बताए। अनावश्यक ठाउँमा भएका रुखहरुलाई उखेल्न ५ थान ट्री ट्रान्सप्लान्टर मेसिन पनि खरिद गरिने उनले जानकारी दिए। विकासका काम गर्दा रुख काट्नुपर्ने भएमा वा उखेलेर अन्तै लगेर सार्नका लागि यी मेसिन उपयोगी हुने महानगरपालिकाले जनाएको छ। 

घर निर्माणको इजाजत फिल्डबाटै 

अबको तीन महिनाभित्र महानगरले घर निर्माण इजाजतका लागि निरीक्षण बढाउने र ३००० वर्ग फिटसम्म बन्ने घरको निर्माण इजाजत निर्माण स्थलबाटै दिने ब्यवस्था मिलाइने कार्यकारी पौडेले बताए। जसको लागि ५००० वर्ग फिटभन्दा ठूलो जमिनमा निर्माणधीन घरबारे महानगरको प्राविधिकको विवरणसहित डिस्प्ले बोर्ड राखिने उनले बताए।

यस्तै आगामी ३ महिना भित्र महानगरपालिकाभित्र रहेका सार्वजनिक सम्पत्ति, जग्गा, नदी उकास, सम्पदा समेतको लगत अद्यावधिक र संरक्षण गर्ने पौडेलले बताए। यसका लागि महानगरपालिकाले छुट्टै नापी कर्मचारी नियुक्त गरी विभिन्न अतिक्रमित भूमी सम्पती खाली गराउदैँ  महानगरपालिकाको स्वामित्वमा ल्याइने पौडेले बताए।

यसैगरी अबको ३ महिनाभित्र करको दायरा बढाउन प्रत्येक करदाताको पहिचानका लागि फारामको प्रयोग गर्ने महानगरपालिकाको उद्देश्य रहेको हुनाले डाटा बेस तयारीका लागि स्नातकोत्तर तह व्यवस्थापनका विद्यार्थी परिचालन गर्ने, ठूला करदाता पहिचान गरी ट्याक्ट पेयर्स प्रिभिलेज काउन्टरको छुट्टै व्यवस्था गर्ने, यातायात कार्यालयहरुमा रहेका महानगरका काउन्टरलाई हरुलाई रिफर्म गरिने पौडेलले बताए।

उज्यालो काठमाडौं कार्यक्रम

काठमाडौं महानगरपालिकाले अबको १ बर्षभित्र काठमाडौंलाई उज्यालो बनाउने योजना रहेको कार्यकारी अधिकृत पौडेलले जानकारी दिए। जसका लागि महानगरपालिकाका सार्वजनिक सडक पार्कहरुमा सौर्य बत्ति जडान गर्ने, निजी घर, व्यापारिक भवन अगाडिका भागमा 'फोकस' लाइट राख्न लगाउने, एउटै सडक वा गल्लीमा बनेका घरहरुमा एकै प्रकारको रङ लगाउने, सडकबाट देखिने घरहरुमा प्लास्टरसहित रंग रोगन गर्ने लगाउने पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.