|

काठमाडौं : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुले चुनावी तयारीलाई तीव्रता दिएका छन्। उम्मेदवार चयनको कसरत र प्रचारप्रसार मात्र भएको छैन, चुनावी तालमेल र मोर्चाबन्दीको तयारी पनि भित्रभित्रै चलिरहेको छ।

यसैक्रममा प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि चुनावका लागि मोर्चाबन्दी र तालमेलको आन्तरिक रणनीति तय गरेको छ। माओवादीले तयार पारेको 'स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार तय गर्ने कार्यविधि र मापदण्ड' मा 'उम्मेदवार उठाउने र चुनावी तालमेल वा मोर्चाबन्दीबारे' भन्ने उपशीर्षक नै दिएर के आधारमा तालमेल गर्ने भन्ने विषय उल्लेख गरिएको छ।

तालमेल कुन दलसँग ?

माओवादीले चुनावी तालमेल वा मोर्चाबन्दीका लागि नाम नै तोकेर यही दल भनेको छैन। अर्थात्, जोसँग पनि तालमेल हुनसक्छ। तर, त्यसका लागि मुख्य प्रतिद्वन्द्वी वा स्थान विशेषको अन्तरविरोधको प्रधानता हेरी निर्णय लिनुपर्नेछ।

'स्थानीय तहको कुनै एकाइमा हाम्रो पार्टीको एकल शक्तिको भरमा जीत निश्चित देखिएको स्थानमा एकल प्यानल बनाइ निर्वाचन लड्नुपर्नेछ,' रणनीतिको बुँदा नम्बर एकमा भनिएको छ।

एकल जित सुनिश्चित नहुने र अरुसँग तालमेल पनि सम्भव नरहेको स्थानमा भने पार्टीको मत संरक्षणका लागि एकल उम्मेदवारी नै दिइनेछ।

चुनावी तालमेल वा मोर्चाबन्दीको निर्णय उम्मेदवारको एकल निर्णयले गर्न पाइने छैन। 'चुनावी तालमेल वा मोर्चाबन्दी गर्नु पर्दा उम्मेदवारको एकल निर्णयले होइन, उम्मेदवारीको निर्णय लिने पहिलो कमिटीको रायमा उम्मेदवारको अन्तिम निर्णय दिने कमिटीको स्वीकृतिमा मात्र हुनेछ,' आठौँ बुँदामा भनिएको छ।

'कुनै दलसँग तालमेल नै नगर्ने भन्ने छ कि ?' अनौपचारिक कुराकानीमा माओवादीका एक पोलिटब्यूरो सदस्यले भने, 'त्यस्तो छैन। स्थानीय तहमा रहेको सम्बन्ध, एजेण्डा र अवस्था हेरेर जिल्ला कमिटीले नै निर्णय लिनेछ।'

स्थानीय तह निर्वाचन आगामी वैशाख ३१ गतेका लागि तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.