|

काठमाडौं : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुमा कसलाई उम्मेदवार बनाउने भन्ने छलफल सुरु भएको छ। आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा दलहरुले कसलाई उम्मेदवार बनाउँछन् भन्ने चासो आम नागरिकमा देखिन्छ।

स्थानीय तहको पुनर्संरचना भएसँगै काठमाडौं उपत्यकामा दुई महानगरपालिका काठमाडौं र ललितपुर छन्। मुलुकको केन्द्रीय राजधानी भएकाले काठमाडौं महानगरपालिकामा को उम्मेदवार बन्छन् भन्ने चासो सर्वाधिक छ। काठमाडौंसँगै जोडिएको ललितपुर महानगरपालिकामा दलहरुले छान्ने उम्मेदवारहरुलाई पनि चासोका साथ हेरिएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दल काठमाडौं र ललितपुर महानगरपालिकामा कसलाई उम्मेदवार बनाउने भनेर गृहकार्यमा जुटेका छन्।

कांग्रेसमा हेवी वेटको चर्चा

कांग्रेसले काठमाडौंमा 'हेवी वेट' वा लोकप्रिय उम्मेदवार उठाउने तयारी गरेको छ। स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने र निर्णय गर्ने अधिकार क्षेत्रीय र जिल्ला कार्य समितिलाई दिने निर्णय केन्द्रीय कार्यसमितिले गत मंगलबार गरेसँगै कांग्रेसमा उम्मेदवार दाबी गर्ने बढेका छन्।

कांग्रेसले क्षेत्र वा जिल्ला कार्य समितिलाई महानगरपालिकाको प्रमुख र उपप्रमुख छनोट गर्ने अधिकार दिएपनि त्यस्ता उम्मेदवार 'हेवी वेट' र लोकप्रिय हुनुपर्ने बहस कांग्रेसमा छ। यसका लागि केन्द्रीय पदाधिकारीदेखि प्रभावशाली नेताहरुले समेत काठमाडौं र ललितपुरको उम्मेदवार छनोटको विषयलाई निकै चासोका साथ लिएको देखिन्छ।

काठमाडौं महानगरपालिकाको मेयरका लागि हाल दुई जना मन्त्रीहरु उद्योग मन्त्री नवीन्द्रराज जोशी र स्वास्थ्य मन्त्री गगन थापाको चर्चा र माग बढेपनि स्वयं उनीहरुले भने उम्मेदवार बन्न तत्काल रुची देखाएका छैनन्। जोशी काठमाडौंका पूर्व उपमेयर हुन भने थापा युवाबीच लोकप्रिय नेता हुन्।

पार्टीका पुराना, पाका र केन्द्रीय नेताहरुले काठमाडौं नगरपञ्चायतमा उपमेयर भइसकेका पूर्व सांसद तीर्थराम डंगोलको नाम अघि सारेका छन्। डंगोल जनआन्दोलन २०६२/०६३ मा उपत्यका आन्दोलन परिचालन समितिका संयोजक पनि हुन्।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह भने डंगोल र थापाप्रति त्यति सकारात्मक छैनन। सिंहले नविन्द्रराज जोशीलाई भन्दा उनका सहोदर दाइ काठमाडौं कांग्रेसका पूर्वसचिव राजुराज जोशीलाई अघि सार्दैछन्। काठमाडौंको प्रमुखमा जीवन डंगोलले पनि दाबी गरेकी छन्। तर उनको लक्ष्य उपप्रमुख भएको कांग्रेस नेताहरु बताउँछन्।

काठमाडौं महानगरपालिकामा ९ वटा क्षेत्र पर्ने भएकोले महानगरको प्रमुखको सिफारिस एउटा क्षेत्रीय कार्य समितिले मात्र गर्न सक्ने अवस्था छैन। संयुक्त क्षेत्रीय कार्य समितिबाट सर्वसम्मत गर्ने नत्र जिल्ला कार्य समितिले निर्णय गर्नुपर्ने हुन्छ। जिल्ला कार्य समितिमा नेता प्रकाशमान सिंह निकटका पदाधिकारीको बाहुल्यता भएकोले काठमाडौंको प्रमुख, उपप्रमुखको उम्मेदवारमा डंगोल र जोशीबीच प्रतिस्पर्धा हुने देखिन्छ।

एमालेमा योगेशसहित ६ नेताको दावी

नेकपा एमालेभित्र पनि काठमाडौं र ललितपुरमा कसलाई उम्मेदवार बनाउने भन्ने चर्चा सुरु भएको छ। एक पदका लागि तीन जनासम्मको नाम सिफारिस गर्ने निर्णय चैत १० को स्थायी समितिले निर्णय गरेको छ। एमाले वृत्तमा को उम्मेदवार बन्छ र कसलाई उम्मेदवार बनाउने बन्ने चर्चा चुलिएको छ।

एमालेले स्थायी कमिटी वा केन्द्रीय नेतामध्येबाटै काठमाडौंमा मेयरको उम्मेदवार तयारी गरेको छ। महानगरको उम्मेदवार छनोटका लागि अन्तिम निर्णय केन्द्रले लिने निर्णय गरेको छ। एमालेका तर्फबाट सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई लगायत आधा दर्जन एमाले नेता मेयरका दाबेदार छन्।

सचिव भट्टराई लगायत पोलिटब्युरो सदस्य सानु श्रेष्ठ, एमालेका तर्फबाट पूर्वमेयर केशव स्थापित, एमाले केन्द्रीय सदस्यहरु जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, काठमाडौं जिल्ला सचिव विद्यासुन्दर शाक्यको मेयरमा दाबी छ।

यद्यपी एमालेले उम्मेदवार छनोट गर्दा जित्न सक्ने, आफ्नो क्षेत्रमा लोकप्रिय व्यक्ति तथा विकास निर्माणप्रति समर्पित व्यक्तिलाई उमेदवार बनाउने निर्णय गरिसकेकाले यसमध्येकै पपुलर व्यक्ति उठाउने निश्चित छ। पूर्व मेयर स्थापित पार्टी परित्याग गरेर पुन फर्किएकाले जीवनराम श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठमध्ये एकजना मेयरको उम्मेदवारी बन्ने पक्का छ।

काठमाडौं निवासी एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका कृष्णगोपाल श्रेष्ठले पार्टी निर्वाचनमा जुटिसकेको र पार्टीको निर्णय अनुसार नै मेयरको उमेदवार तय हुने बताए।

माओवादीबाट शर्मा र शाक्यसहित ३ उम्मेदवार

वैशाख ३१ गते हुन लागेको स्थानिय तह चुनावको सरगर्मी बढ्दै जाँदा नेकपा (माओवादी केन्द्र)ले आफ्नो तयारी तिव्र पारेको छ। हेडक्वार्टर समितिका सदस्य देव गुरुङ नेतृत्वको चुनाव परिचालन समितिले प्रतिवद्धतापत्रका साथै उम्मेदवारका लागि चाहिने कार्यविधि र मापदण्ड तयार पारेर छलफलका लागि तल्ला कमिटीहरुमा पठाइसकेको छ ।

विधि र मापदण्डका साथै प्रतिवद्धतापत्र पनि आइसकेपछि सम्बन्धित तहका पार्टी कमिटीहरु योग्य उम्मेदवार छनोटमा लागेका छन्। चैत अन्तिम सातासम्म टुंगो लगाइसक्नु पर्ने देशैभरीका ३६ हजार ६ सय ८० जना विभिन्न तहका सम्भावित उम्मेदवारको चर्चाले माओवादी वृत्तमा यत्रतत्र सर्वत्र चर्चा पाएको छ। 

काठमाडौं महानगरपालिकामा माओवादीका सम्भावित उम्मेदवारहरुमा हितमान शाक्य, हिमाल शर्मा रहेका छन्। शाक्य माओवादी हेडक्वार्टर कमिटीका सदस्य रहनुका साथै ३ नं. प्रदेशका इन्चार्जको जिम्मेवारीमा छन्। अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष शर्मा हाल पार्टीका पोलिटव्यूरो सदस्य हुनुका साथै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराका स्वकीय सचिवको जिम्मेवारीमा रहेका छन्।

त्यसैगरी काठमाडौं महानगरका मेयरका अर्का सम्भावित प्रत्यासी सर्वोत्तम डंगोल पार्टीको पोलिटव्यूरो सदस्यका साथै महानगरपालिकाका इन्चार्जको रुपमा कार्यरत छन्। महानगरकी पार्टी संयोजक तथा प्रधानमन्त्री पुत्री रेणु दाहालको पनि सम्भावित मेयरका रुपमा चर्चा चलेपनि उनी काठमाडौंको मेयर पदमा उठ्न नपाउने भएकी छन्। त्यसको कारण अरु केही नभएर उनको मतदाता नामावालीमा काठमाडौंमा नाम नरहनु हो। उनको मतदाता नामावली अर्को महानगर भरतपुरमा रहेको छ।

राप्रपाबाट रेखा थापाको समेत चर्चा

काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्न राप्रपाका नेताहरुले पनि लबिङ सुरु गरेका छन्। राप्रपाबाट पार्टी केन्द्रीय सदस्य राजाराम श्रेष्ठ,  अभिनेत्री तथा केन्द्रीय सदस्य रेखा थापा र व्यवसायी राजेशकाजी श्रेष्ठको नाम चर्चामा छ।  यद्यपी राप्रपाले भने उम्मेदवार तोकिसकेको छैन। महानगरपालिकाको उम्मेदवार सम्बन्धित जिल्ला पार्टी समितिको सिफारिसको आधारमा उम्मेदवार चयन गरिने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनले चुनाव जित्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउने बताए।

ललितपुरमा कांग्रेसका चार जना आकांक्षी

ललितपुर महानगरपालिकाको प्रमुखमा पनि जिल्लाका अनुभवी र पुराना नेता मेयरमा उम्मेदवार बन्ने सम्भावना छ। ललितपुरमा केन्द्रीय तहका नेताको भने चाहना वा दाबी देखिँदैन। ललितपुर महानगरपालिकामा महासमिति सदस्य प्रेमकृष्ण महर्जन, ललितपुर उपमहानगर इकाईका पूर्व सभापति भरतलाल न्याछोँ, ललितपुर जिल्ला सदस्य चिरिबाबु महर्जन र पूर्व सांसद रामकृष्ण चित्रकारमध्ये एक जना उम्मेदवार बन्ने करिब निश्चित छ।

प्रेमकृष्ण महर्जनको ललितपुर तीन नम्बर क्षेत्रका सांसद चन्द्र महर्जन र पार्टी केन्द्रीय नेता रामचन्द्र पौडेलसँग निकट सम्बन्ध छ। भरतलाल न्याछोँ पनि नेता पौडेल निकटका हुन्। चिरिबाबु महर्जन र रामकृष्ण चित्रकार भने पार्टी जिल्ला अध्यक्ष एवं सांसद मदनलाल अमात्य र पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन्। पार्टी नेतृत्वको छायाँ जिल्लामा पनि पर्ने भएकोले सभापति देउवा पक्षधर जिल्ला सभापतिको प्रभाव ललितपुरमा पनि नदेखिएला भन्न सकिँदैन।

एमालेमा हरिकृष्णको चर्चा

ललितपुरको मेयरमा एमाले ललितपुर जिल्ला कमिटिका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार सहित ५ जना नेताहरुको दाबी छ।

एमालेका ललितपुर दुई नम्बर क्षेत्रको क्षेत्रीय अध्यक्ष प्रेम महर्जन, ३ नम्बर वडाको पूर्व वडा अध्यक्ष श्रीगोपाल महर्जन तथा १८ नम्बर वडा अध्यक्ष ज्ञानेन्द्र शाक्यले समेत आफ्नो दाबी गर्दै आएका छन्।

ललितपुरमा यसअघिको स्थानीय निकायको निर्वाचनमा एमालेले जितेको थियो। २०५४ सालमा मेयर जितेका बुद्धिराज बज्राचार्यले पार्टी परित्याग गरी २०६१ पछिको शाही सरकारमा मन्त्री भएका थिए।

यसपटक ललितपुरमा जो उठे पनि नयाँ अनुहार नै आउने देखिन्छ। त्यसो त परिचित व्यक्ति मानिने भएकाले हालका पार्टी अध्यक्ष ब्यञ्जनकारले नै पार्टीबाट मेयरको टिकट पाउने एमाले सर्कलको चर्चा छ। उनी सामान्य जीवन शैली जिउने र सामाजिक छवि उच्च भएको मान्छेमा चिनिन्छन्। पार्टीभित्र लोकप्रिय भएका उनी मेयरका सशक्त दावेदार हुन्।

यद्यपी अहिले निर्वाचनको तयारीमा जुटेकाले एमालेभित्र पार्टीमा आधिकारिक छलफल भने नभएको ललितपुर एमालेका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताए।

ललितपुरमा माओवादीका तीन आकांक्षी

ललितपुर महानगरपालिकाका मेयर पदमा तिनजना संभावित आकांक्षी देखिएका छन्।  पार्टीका पोलिटव्यूरो सदस्य एवं युवा नेता राजकाजी महर्जन, केन्द्रीय समितिका सदस्य कुलालाल डंगोल र अर्का केन्द्रिय सदस्य सरोजसिंह मेयरका सम्भावित उम्मेदवारको सूचीमा छन्। त्यसैगरी महिला तर्फबाट मञ्जली शाक्यको पनि चर्चा चलिरहेको छ।

राप्रपामा श्रेष्ठ

ललितपुर महानगरपालिकामा राप्रपाबाट महेशकुमार श्रेष्ठको सम्भावना बढी रहेको राप्रपा श्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.