|

इलाम : तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुर्बोग माइभ्याली फुटबल प्रतियोगितामा रुपन्देही–११ ले  दुर्गापुर स्टिल एफसी कोलकातालाई हराएको छ। 

ठुलो टुडिंखेलमा भएको खेलमा रुपन्देहीले ट्राइबेकरमा ४–२ गोल अन्तरको जित निकालेको हो। जितसँगै रुपन्देही प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।निर्धारित समयमा दुबै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। सुरुवातमा रुपन्देहीको तुलनामा दुर्गापुर स्टिल बढी आक्रमक देखिएको थियो।

खेलमा अग्रता पनि दुर्गापुरले लिएको थियो। रुपन्देहीको रक्षापंक्तीलाई छलाउँदै बाबुलाल मन्डीले गोल गरेपछि दुर्गापुरले २३ औं मिनेटमा अग्रता लिएको थियो। त्यसपछि रुपन्देहीले गोलका लागि थुप्रै प्रयास गर्‍यो।रुपन्देहीका आधा दर्जन प्रहार दुर्गापुरका गोलरक्षक एस घोषले विफल बनाइदिए। 

रुपन्देहीले पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्कायो। दुर्गापुरका खेलाडीले डिबक्सभित्र  फल खेलेपछि रुपन्देहीले ४५ औं मिनेटमा पेनाल्टी प्रहारको अवसर पाएको थियो। प्राप्त पेनाल्टीमा विजय धिमालले गोल गरेपछि रुपन्देही खेलमा फर्कियो। 

दोस्रो हाफमा दुर्गापुर निकै आक्रामक देखियो। तर गोल हुन सकेन।  अधिकांश अन्डर नाइन्टिनका खेलाडीको बाहुल्यता रहेको रुपन्देही दोश्रो हाफमा रक्षात्मक खेल देखाएको थियो। 

दोश्रो हाफ र थपिएको १५ मिनेटमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा रुपन्देहीका निरज बस्नेत, विजय धिमाल, लक्ष्मण रुचाल र कालु थापाले गोल गरे भने अफ्रिकन खेलाडी एरोनको प्रहार बाहिरियो।

दुर्गापुरका विदेशी खेलाडी मिरडा र ज्याक्सनको बलले पोष्टको दिशा लियो भने सेमुएल्सको प्रहार बाहिरियो।   विवेक सिंहको प्रहार रुपन्देहीका गोलरक्षक सोजित गुरुङले विफल तुल्याए।  खेल रुपन्देहीले ४-२ ले आफ्नो पक्षमा पार्‍यो।

दुर्गापुरका बाबुलाल मन्डी 'म्यान अफ दि म्याच' घोषित भए। उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे। खेलपछि प्रतिक्रिया दिँदै रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले विपक्षी खेलाडीले आक्रमक खेलेका कारण आफुहरु अधिकांश समय रक्षात्मक बनेको बताए। गत वर्ष समेत दुर्गापुरलाई रुपन्देहीले हराएको थियो।

दुर्गापुरका टिम म्यानेजर असिन रोयले रेफ्रिको गल्तीका कारण पराजित भएको प्रतिक्रिया दिए। उनले रेफ्रीले डिबक्सभित्रका फाउल र हेन्डबल नदिएपछि पराजित भएको बताए।

दोश्रो हाफमा ३ जना खेलाडीहरु घाइते हुनु हारको अर्को कारण रहेको उनले बताए। जितसँगै क्वाटरफाइनल पुगेको रुपन्देहीले चैत २० गते सेमिफाइनल प्रवेशका लागि साबिक विजेता झापा-११ सँग खेल्नेछ। 

भोली हुने खेलमा ग्लोबल एफसी आसाम अनुपस्थित भएपछि खर्साङ–११ र विभागीय टोली नेपाल आर्मीबीच प्रतिस्पर्धा हुनेछ। आर्मी गत वर्ष प्रतियोगिताको फाइनलमा पुगेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.