|

काठमाडौं : स्ववियु चुनावपछि फुर्सदमा रहेका विद्यार्थी संगठनहरूलाई फेरि स्थानीय तहको निर्वाचन लागेको छ। विशेषगरी ठूला ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनहरूलाई स्थानीय तहको निर्वाचन चटारोले छपक्कै छोपेको छ। चैतको गर्मी बढ्दै गर्दा विद्यार्थी नेताहरूमा स्थानीय निर्वाचनको पारो चढ्दै गएको शुक्रबार दिउँसो ती संगठनका केन्द्रीय कार्यालयमा देखिएका यी दृश्यले प्रस्ट पार्छन्।  

दृश्य १ : नेविसंघ

शुक्रबार अपराह्न ४ बजेतिर नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर निर्वाचन आयोगले निकालेको ७४४ स्थानीय तहको सूची सहितको मोटो किताब बोकेर पुतलीसडकमा रहेको केन्द्रीय कार्यालय छिरे। एकछिन पाना पल्टाए। डोल्पा, सुर्खेत, कैलाली र दार्चुलालगायत जिल्लाका स्थानीय तहका नाम पढे। महरको कार्यकक्षमा रहेका नेविसंघका कार्यकर्ता पनि चासो दिएर हेरिरहेका थिए, उनीहरु स्थानीय तह र यसको निर्वाचनबारे कुराकानी गरिरहेका थिए।

एकछिनमा कार्यकर्ताहरूतिर फर्केर हाँस्दै भने, 'बिपी कोइराला ३३ वर्षको उमेरमा क्रान्ति सफल पारेर देशको प्रधानमन्त्री भइसकेका थिए। हाम्रा साथीहरू भने ३५\४० वर्षका भएर पनि स्थानीय तहको चुनाव लड्न जाँदैनन्।' उनको कार्यकक्षमा भएकाहरू अलि चनाखो भए। अलि-अलि मुस्कुराए पनि। महरले फेरि गोरखा घर भएकी कार्यकर्तातिर हेरेर हाँस्दै भने, 'तिम्रो उमेरमा कृष्णप्रसाद भट्टराई सभामुख भइसकेका थिए, तिमी पनि अब चुनाव लड्न जानुपर्छ।'

दृश्य २ : अनेरास्ववियु

शुक्रबार करिब साढे २ बजे नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कार्यालयमा कार्यवाहक अध्यक्ष रश्मी आचार्य विज्ञप्ति तयार गरिरहेका थिए। अर्को कोठामा रहेका केही केन्द्रीय सदस्य र कार्यकर्ता स्थानीय तहको निर्वाचनबारे कुराकानी गरिरहेका थिए। उनीहरू आ–आफ्ना ठाउँमा एमालेको अवस्था कस्तो छ भनेर एकअर्कालाई जानकारी गराइरहेका थिए।

त्यसैबेला उनीहरूमा विद्यार्थीका कुन नेता कहाँबाट चुनाव लडिरहेका छन् भनेर छलफल चल्यो। जसमा कार्याबाहक अध्यक्ष रश्मी आचार्यको नाम देशकै ठूलो महानगरपालिका पोखरा-लेखनाथका लागि चर्चामा रहेको कुरा गरिरहेका थिए। उनीहरूमध्ये केही भनिरहेका थिए, 'यो उमेरमै त्यहाँको मेयर भए विकास हुन्छ। आचार्य दाजु मेयरमा उठ्नुपर्छ।'

दृश्य ३ : अखिल (क्रान्तिकारी)

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालयमा स्थानीय तहको चुनावी माहोलबारे कुराकानी गरिरहेका थिए, प्रदेश नम्बर ५ का संयोजक एवं केन्द्रीय सचिव ध्रुवविक्रम वली, सचिवालय सदस्य एवं काठमाडौं जिल्ला समितिका इन्चार्ज प्रकाश घिमिरे। उनीहरू कार्यकर्तासँग माउ पार्टी माओवादीको अवस्था विस्तारै राम्रो हुँदै गएको र अझै सुधार गर्न लाग्नुपर्ने बताइरहेका थिए।

त्यसैबीच केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपाने कोहलपुर नगरपालिकाको मेयर पदमा र सचिव भगतसिंह ठेकरे बोहरा दार्चुलाको अपि हिमाल गाउँपालिकाका अध्यक्षमा उठ्न लागेको विषयमा छलफल भइरहेको थियो। धेरै पदाधिकारी र केन्द्रीय सदस्य भएको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालयमा कार्यकर्ताको उपस्थिति न्यून थियो। सबै नेता कार्यकर्ता स्थानीय तहको निर्वाचनमा पार्टीलाई सहयोग गर्न आ-आफ्नो क्षेत्रमा गएकोले कार्यलयमा न्यून उपस्थिति रहेको भनाइ थियो सचिवालय सदस्य एवं क्रान्तिकारीकी छात्रा विभाग प्रमुख राजेश्वरी सुवेदीको।

विद्यार्थी संगठनका नेता पार्टीलाई सघाउन गाउँतिर

फागुन १८ गतेसम्म स्ववियु निर्वाचनमा खटिएका विद्यार्थी संगठनका नेताहरुलाई अहिले स्थानीय तहको निर्वाचन लागेको छ भन्ने माथिका दृश्यहरुले स्पष्ट पारेका छन्।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपाने ६ नम्बर प्रदेश अन्तरगत बाँके जिल्लाको कोहलपुर नगरपालिकामा पार्टीका लागि मत मागिरहेका छन्। उनको चर्चा कोहलपुर नगरपालिकाको मेयर पदमा पनि छ। क्रान्तिकारीले निर्णय नै गरेर आफ्ना सबै काम स्थगित गरेर सबै केन्द्रीय पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्यहरुलाई आफ्नो क्षेत्रमा पार्टीको पक्षमा चुनाव प्रचार प्रसारमा जुट्न भनेको न्यौपानेले थाहाखबरलाई जानकारी दिए।

त्यस्तै, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थानीय तहमा उम्मेदवार हुने नेताहरु कार्यक्षेत्रमा रहेको र उनीहरुलाई उम्मेदवार बनाउन पार्टीलाई दबाब दिन लागिपरेको कार्यबाहक अध्यक्ष रश्मी आचार्यले जानकारी दिए। नेपाली कांग्रेसको नेविसंघ अबको केही दिनमा आफ्ना केन्द्रीय नेताहरूलाई स्थानीय तहमा कसरी प्रस्तुत हुने भनेर प्रशिक्षण दिएर स्थानीय तहमा पाठाउने तयारीमा रहेको केन्द्रीय कार्यालय मुख्य सचिव डिल्लीराज हमालले बताए।

युवाले स्थानीय तहमा परिवर्तन ल्याउन सक्छन्

'मैले नेविसंघको ११ औं महाधिवेशनको एजेण्डा नै २० प्रतिशत भन्दा बढी नेविसंघका युवाहरूलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाइनुपर्छ भनेर राखेको थिएँ', स्थानीय तहमा विद्यार्थी नेताहरूको सहभागिताबारे नेविसंघ अध्यक्ष नैनसिंह महरले भने, 'पढेलेखेका र देश विदेश घुमेका विद्यार्थी नेताहरु स्थानीय सरकार सञ्चालन गर्न गए भने नयाँ किसिमले सञ्चालन गर्नेछन् र विकासको रफ्तार नयाँ किसिमले अगाडि बढ्नेछ।'

स्ववियुमा २८ वर्षे उमेर हद लगाउन महत्त्वपूर्ण भूमिका खेलेका अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने स्थानीय तहको निर्वाचनमा विद्यार्थी नेताहरूको सहभागिताले नेपाली राजनीतिक प्रणालीमा नै परिवर्तन आउने दावी गर्छन्। उनले भने, 'हिजो स्ववियुमा २८ वर्षको उमेरहद लगाउनुपर्छ भन्दा मिडिया र सरोकारवालाहरु भन्थे, 'तपाईंहरू आफैं पनि उम्मेदवार हुन नपाउने व्यवस्था किन ल्याउनु हुँदैछ?  हामीले के भनेका थियौ भने, यसले नेपालको राजनीतिक प्रणालीमा परिवर्तन ल्याउँछ।'

न्यौपानेले भने, '२८ वर्ष मुनिका विद्यार्थी राजनीति गर्छन्, ३० देखि ३५ वर्षमा स्थानीय तहमा राजनीति गर्छन् ४० वर्षको उमेरका मन्त्री र केन्द्रीय नेता बन्छन्। नेपालका प्रधानमन्त्री ५० वर्ष वरपरका हुन्छन् भनेका थियौं।' उनले भने, 'जोश र जाँगर भएको नेता आउनेछन र ७० वर्षकाहरुलाई प्रधानमन्त्री मान्नुपर्ने बाध्यता अन्त्य हुनेछ र देशको समग्र विकास हुनेछ।'

'विद्यार्थीबाट गएका नेताहरुले स्थानीय राजनीतिबाट आएका अन्य नेताहरूले भन्दा राम्रो जोश जाँगरका साथ काम गर्नेछन्।' यो विश्वास हो अनेरास्ववियुका कार्यबाहक अध्यक्ष रश्मी आचार्यको। उनी भन्छन्, 'विद्यार्थीबाट जाने नेताहरू स्थानीय तहका समस्याको समाधान पनि तत्काल निकाल्न सक्नेछन्।'

आचार्यले स्थानीय तहको निर्वाचन युवाहरूका लागि स्थानीय विकासमा जोडिने र स्थानीय तहबाटै नेतृत्वमा आउने अवसर भएको बताए। उनले लामो समय विद्यार्थी राजनीतिमा लागेकालाई काम गर्ने उपयुक्त अवसर स्थानीय निर्वाचन रहेको बताए।

विद्यार्थी नेतालाई टिकट दिन दबाब दिँदै विद्यार्थी नेताहरू

विभिन्न विद्यार्थी संगठनमा धेरै नेता लामो समय विद्यार्थी राजनीति गरेर उमेर ३०\३५ वर्षको उमेरमै 'रिटार्यड'को अवस्थामा छन्। स्ववियुमा उम्मेदवार हुनलाई २८ वर्षे उमेरहद लागेको छ भने पार्टी राजनीति गर्नका लागि उनीहरुभन्दा अगाडि धेरै नेता लाइनमा छन्। यसका कारण पार्टीका भातृ संगठनमा बसेर अगाडिको राजनीतिक बाटो कुरिरहेका छन्। स्थानीय तहको निर्वाचनले उनीहरुलाई काम गर्ने अवसर जुराएको छ। अहिलेको अवस्थामा उनीहरूलाई अवसर दिन विद्यार्थी नेताहरू लागिपरेका छन्।  

अध्यक्ष महरले देशभरका स्थानीय तहमा नेविसंघबाट राजनीति गर्ने नेताहरुलाई उम्मेदवार बनाउन पार्टीलाई दबाब दिइरहेको बताए। उनले भने, 'स्थानीय तहमा उठ्न चाहने र जित्ने सम्भावना भएका साथीहरुलाई टिकट दिन हामी पार्टीलाई बाध्य पार्न तयार छौं, उनले भने, 'यसले भोलि नेपाली कांग्रेसलाई युवाहरूको पार्टी बनाउँछ।' उनले विगतमा नेविसंघमा राजनीति गरेका नेताहरु र अहिले पनि केन्द्रीय तहमा रहेका नेताहरु आफ्नो क्षेत्रबाट फोन गरेर पार्टी नेतृत्वलाई टlकट उपलब्ध गराइदिन फोनबाट र भेटेरै भनिरहेको बताए। उनले २ सय भन्दा बढी नेविसंघका नेताहरू चुनावमा उठ्ने तयारी गरिरहेको जानकारी दिए।

पार्टीसँगको सहकार्यमा धेरैभन्दा धेरै विद्यार्थीबाट राजनीति गर्ने नेताहरूलाई स्थानीय तहमा उम्मेदवार बनाउन लागिरहेको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए। त्यस्तै अनेरास्ववियुका कार्यबाहक अध्यक्ष रश्मी आचार्यले केन्द्रीय पदाधिकारी,सचिवालय सदस्य र केन्द्रीय सदस्यहरु स्थानीय तहमा उम्मेदवार बन्ने तयारीमा रहेको बताए। उनले भने, 'हाम्रो नीति नै युवाहरुलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने छ। त्यसैले इच्छा देखाएका र चर्चित साथीहरुलाई उम्मेदवार बनाउने तयारीमा छौं।'

जसको चर्चा छ-

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको कोहलपुर नगरपालिकाको मेयरमा चर्चा रहेको छ। उनले आफ्नो चर्चालाई सकरात्मक रूपमा लिएको बताएका छन्। पार्टीबाट औपचारिक निर्णय भइनसकेको चुनावको प्रचार–प्रसारमा रहेका उनले बताए। त्यस्तै, अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यको पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा चर्चा छ। आचार्यले भने अनेरास्ववियुको अध्यक्ष बन्ने इच्छा राखेका छन्। त्यस्तै अनेरास्ववियु उपाध्यक्ष महेश बर्तौलाले हेटौंडा नगरपालिकाको मेयरमा उठ्ने इच्छा व्यक्त गरेका छन्।

अनेरास्ववियुबाट चर्चामा रहेकाहरू

निशा अधिकारी, चितवन

धर्मेन्द्र रोकाया, जुम्ला

टिकाजंग थापा, सिन्धुली

सूर्य रोकाया, बाँके

जेनिश लामा, काभ्रे

फरमूल्लाह मन्सुर, बारा

एल. बी. सिंह, बझाङ

गोविन्द गिरी, बैतडी

वीर उदास श्रेष्ठ, सोलुखुम्बु

राजकिशोर यादव, धनुषा

ईश्वर तिमल्सिना, सिन्धुपाल्चोक

दिव्यचन्द्र सोती, लमजुङ

ज्ञानुभक्त डंगोल, ललितपुर

दिपेश प्रसार्इं, काठमाडौं

माङ्गयुङ लिम्बु, पाँचथर

अशेष गोइत, सिरहा

केशव चामलिङ, उदयपुर

तिलक हमाल, प्युठान

सुविन थपलिया, लमजुङ

क्रान्तिकारीबाट चर्चामा रहेकाहरू

भगतसिंह ठेकरे बोहरा, दार्चुला

नवराज ऐर, कञ्चनपुर

उद्धव भट्टराई, कैलाली

खेमबहादुर सिंह, कालिकोट

पञ्चा सिंह, सुर्खेत

युगराज पाण्डे, रूपन्देही

दिपेश योञ्जन पाँचथर

कविता ढुंगाना, नुवाकोट

महेन्द्र भट्टराई, झापा

रामबाबु बैठा, पर्सा

गन्जु प्रधान, इलाम

मनोज राजवंशी, मोरङ

नेविसंघबाट चर्चामा रहेकाहरू

अम्बिका चलाउने, अछाम

खड्कबहादुर डाँगी, रुकुम

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.