|

पाँचथर : फालेलुङ गाउँपालिकाको चाररातेमा वैशाख १ गते चौँरी महोत्सव हुने भएको छ। चौंरीपालन व्यवसाय घट्दै गएपछि किसानहरूलाई आकर्षण गराउन महोत्सव गरी यस क्षेत्रका पाँच सय चौँरी प्रदर्शन गरिन लागेको हो। 

सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्थाले चौँरी महोत्सव आयोजना गरी प्रदर्शन गर्ने भएको हो। महोत्सवमा चौँरीसँगै दुग्धजन्य पदार्थ,भेडाको घ्यु तथा ऊनबाट उत्पादित वस्तु, जडिबुटी तथा कृषिजन्य वस्तुको स्टल राखिने आयोजकले जनाएको छ। महोत्सवले चौँरीपालन व्यावसायलाई व्यवस्थित गरी चौँरी पर्यापर्यटन विकासमा सहयोग पुग्ने महोत्सव मूल व्यवस्थापन समितिका सदस्य डिल्ली केरुङको विश्वास छ।

महोत्सवले यस क्षेत्रको जैविक विविधता साथै चौँरीको दुग्धजन्य पदार्थको अन्तर्राष्ट्रिय बजारीकरण, लोपोन्मुख जडिबुटीको उद्यान निर्माण गरी पर्यटकीय आकर्षण बढाउन, चौँरीचरन क्षेत्रको दिगो व्यवस्थापनमार्फत स्थानीय रोजगारी सिर्जना गर्न,उच्च हिमाली क्षेत्रको वन वातवरण, संरक्षणसम्बन्धी सचेतनामा सघाउ पुग्ने विश्वास गरेका छन्।

केरुङले पशुपतिनगर, मानेभञ्ज्याङ, तुम्लिङ,कालपोखरी, सन्दकपुर, चारराते,शिखरगुम, फालोट, तीन सीमाना हुँदै  कञ्चनजंघा हिमालको दक्षिणी आधार शिविर रामजेरसम्मको वैकल्पिक पर्यटकीय पदमार्ग निर्माणमा महोत्सवले सघाउ पुग्ने  दाबी गरे।  

महोत्सवमा याक राइडिङ तथा हर्स रेस,चौंरीजन्य परम्परागत क्रियाकलाप प्रदर्शनी र सांस्कृतिक कार्यक्रम पनि हुनेछ। महोत्सवलाई जिल्ला वन कार्यालय, इसिमोड नेपाल,जिल्ला समन्वय समिति,जिल्ला पशु सेवा कार्यालय,मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति, दीपज्योति युवा क्लब,फालेलुङ चाैँरीपालक कृषक समूहलगायतले  प्रवर्धन गरेका छन्। आयोजक संस्थाका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार महोसत्वमा ८ लाख रुपैयाँ खर्च हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.