|

उदयपुरः सामान्यतया आममानिसमा मोटरसाइकल कसरी चलाइन्छ र यसले कसरी काम गर्छ भनेर कौतुहलता हुन्छ। नेपाली समाजको मध्यमवर्गीय परिवारको लोकप्रिय सवारीसाधन पनि मोटारसाइकल नै हो। सवारी दुर्घटनामध्ये सबैभन्दा बढी दुर्घटना हुने जोखिमपूर्ण सवारीसाधनमा पनि मोटरसाइकल नै पर्छ।

तपाईं हामीले देखेको र भोगेको सवारीसाधनमध्ये सबैभन्दा बढी दुर्घटना हुने मोटरसाइकलमा उल्टो बसेर चलाउँदा के हुन्छ होला? कल्पना गर्नुहोस् त ! जो कोहीले एकछिन सोच्नै सक्दैन। कल्पनाभन्दा बाहिरको कुरा हुन्छ। तर, त्यही मोटरसाइकलको फरक कथा चित्रकुमार कार्कीसँग छ।

पातलो शरीर र ख्याउटे अनुहार भएका चित्रले उल्टो मोटरसाइकल कुदाउँछन् भन्दा पहिलो पटक सुन्नेलाई विश्वास लाग्दैन। तर, सत्य कुरा, चित्रले उल्टो बसेर सुल्टो बसेर जस्तै मोटरसाइकल कुदाउँछन्। आम मान्छेले चलाउने सुल्टो मोटरसाइकलको गेयर, ब्रेकदेखि सबै पाटपुर्जा उल्टो हुन्छ। तर, चित्रको लागि सुल्टो र उल्टो एकै बन्छ।

चित्रले उल्टो बसेर मोटरसाइकल चलाउँदा बाटो पनि देख्छन् र ट्राफिक चिह्न पनि थाहा पाउँछन्। अनि अगाडि पछाडिबाट आएका अन्य सवारीसाधन पनि राम्ररी थाहा पाउँछन्। अहिले चित्र गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने अन्तिम तयारीमा पुगेका छन्। नाम लेखाएर उनले प्रामाण पत्र पाएपछि ‘विश्व उल्टो मोटरसाइकल यात्री’ पहिलो हुने उनको दाबी छ।

समाजमा फरक–फरक प्रतिभा व्यक्तिहरु धेरै भेटिन्छन्। तर, संर्घषका कथा बोकेर जीवन जिउने कमै हुन्छन्। त्यही कमैको संख्यामा चित्रकुमारलाई राख्दा फरक पर्दैन। अहिले ‘विश्व उल्टो मोटरसाइकल यात्रीमा प्रथम हुने अवस्थामासम्म आइपुग्दा चित्रसँग मोटरसाइकलसमेत थिएन। यतिसम्म आइपुग्दा सबैलाई लाग्छ उनी कसरी उल्टो मोटरसाइकल यात्री बन्ने भए त?

यस्तो छ चित्रको जीवन कथा

बुबा खड्गबहादुर कार्की र आमा सीता कार्कीको जेष्ठ पुत्रको रुपमा ०४७ साल वैशाख २ गते जन्मेका चित्र अहिले उदयपुर गाईघाटका स्थानीय बासिन्दा हुन्। उनले ६ महिनासम्म मात्र बाबु आमाको साथ पाएका थिए। गरिबीको चरम अभावमा रहेको परिवारमा बुबा घर छोडेर भारत कमाउन पसे भने आमाले अर्को बिहे गरिन्। ६ महिने दूधे बालकमै बेसाहार बनेपछि मावली हजुरआमाको साथमा उनी हुर्किए।

उनी ७ वर्षको हुँदा हजुरआमाको पनि मृत्यु भयो। त्यसपछि उनी (ठूलीआमाको छोरी) दिदीका घरमा बस्न थाले। दिदीको घर भारतको ऋषिकेशमा थियो। भिनाजु भारतीय पुसिलमा जागिरे थिए। चित्रले त्यहीँ कक्षा ७ सम्म पढे।

जब उनी १५ वर्षका भए उनी बाबु आमाको खोजी गर्न नेपाल आए। राम्ररी हिन्दी बोल्ने उनलाई कसैले नेपाली भन्दैथे । ट्रेन र गाडीमा अरुले दिएको जुठोपुठो खाँदै उनी नेपाल आएर बाबुको खोजी गर्न थाले। ‘आमालाई खोज्न मन लागेन, बुबालाई खोज्दै बजार बजारमा खोनेकुरा माग्दै, सोध्दै हिँडेको थिएँ’ कार्की भन्छन् इटहरीमा खोटाङ राजापानीकै कर्णबहादुर बस्नेतसँग भेट भयो। उनको घर गाइघाट रहेछ।

उनले चित्रलाई आफ्नो घर लिएर गए र गाईघाटको त्रियुगा उच्च माध्यामिक विद्यालयमा कक्षा ८ मा  भर्ना पनि गरिदिए। त्यहीँबाट  चित्रले ०६७ सालमा प्रवेशिका परीक्षा (एसएलसी पास गरे। चित्र भन्छन्, ‘मलाई मेरो बुबा र आमाले नदिएको माया दिएर कर्ण दाइले दिनुभयो। मलाई पढाइदिनुभयो, हुर्काइदिनु भयो, नाम लेखाउनेदेखि सारा काममा सहयोग गुर्नभयो।’ कर्ण दाई नै उनलाई बुबासँग भेट गराइदिए। अहिले बुबाको स्वर्गहारोण भएको पनि एक वर्ष भयो।

यसरी सिके चित्रले उल्टो मोटरसाइकल कुदाउन

जब उनी त्रियुगामा पढ्न थाले, तब कामको खोजी पनि गर्न थाले। त्यसपछि उनी विभिन्न ठेक्कपट्टा गर्ने व्यक्तिहरुसँग हिँड्न थाले। त्यसैक्रममा उनले मोटरसाइकल चलाउन सिक्दै गएको उनी सम्झन्छन् ‘दाइहरुको मोटरसाइकल बीच बाटोमा बिग्रेको खण्डमा मलाई डोर¥याउन लगाउँथे,’ चित्र भन्छन्, ‘म मोटरसाइकल डोर¥याएर ग्यारेजमा पुर्‍याउने काम गर्दथें।’ मोटरसाइकल सिकेपछि उनले मोटरसाइकल चलाउन ड्राइभरको रुपमा काम गर्न थाले।

काम गरेर फर्कंदा घरमा जान ढिला भयो भने मोटरसाइकल नै दिएर पठाउँथे। उनी घरमा मोटरसाइकल लगेपछि रातभरि सिक्थे। ‘दाइहरुले नै दिएको पैसाले पेट्रोल किनेर हाल्थें। सिक्दै जाँदा उल्टो पनि चलाउन मन लाग्यो, उल्टो चलाउन थालें पनि’ उनी भन्छन्।

उल्टो कुदाउन खोज्दा कति पटक लडें, कतिपटक चोटपटक लाग्यो सम्झेर साध्ये छैन। मलाई सम्झना छ, ‘उल्टो कुदाउँदा साइलेन्सरले खुट्टा पोलेर एक महिना बिरामी भएँ। एक पटक ट्राफिक प्रहरीले पक्राउ गरेर रातभरि जिल्ला प्रहरी कार्यालय राख्यो।’ उनी सम्झन्छन्।

चन्दा संकलन गरेर सुरु गरे उल्टो मोटरसाइकल यात्रा

चित्रलाई ०६६ सालमा कक्षा ९ मा पढ्दै गर्दा उल्टो बसेर राम्ररी मोटरसाइकल कुदाउन आउँथ्यो। तर, उल्टो कुदाउँदा प्रहरीले पक्राउ गर्दथ्यो। उनले विद्यालय, चोक, मेला बजारमा भएका कार्यक्रममा उल्टो मोटरसाइकल कुदाएर देखाउन थाले। ‘कति ठाउँमा उल्टो कुदाउन स्टाट गरेपछि सबै मान्छे मार्ने भो पागलले भन्दै भाग्थे,’ चित्र भन्छन्, ‘अनि पक्रेर कुट्नसमेत खोज्दथे।’

विस्तारै धेरैभन्दा धेरै कार्यक्रममा जहाँ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनीतिक दलका ठूला नेता, प्रहरी भएका कार्यक्रममा जबरजस्ती मोटरसाइक उल्टो कुदाएर देखाउन थाले।     

त्यसपछि जिल्लामा भएका साना तथा ठूला कार्यक्रममा उल्टो मोटरसाइकल हाँकेर देखाउने वातावरणसमेत मिल्दै जान थाल्यो। उदयपुरको कटारी, बेल्टार, घुर्मी, रामपुर लगायतका बजारमा धेरै पटक उल्टो मोटरसाइकल हाँकेर देखाए। उल्टो मोटरसाइकल चलाएको समाचार स्थानीय पत्रपत्रिका, टेलिभिजन लगायतमा आउन थाल्यो।

कक्षा १० मा पढ्दै गर्दा मेरो उनको प्रतिभा देखेर सिरहा लाहन घर भएका काठको व्यवसायी गर्ने रवीन्द्र कार्कीले यामाहा कम्पनीको एक मोटरसाइकल उपहार दिए।प्रवेशिका परीक्षापछि मलाई सबैले उल्टो मोटरसाइकल कुदाएर नेपालको मेची–महाकाली गर्नुपर्छ भन्दै उनलाई हौस्याए। उनमा आत्माबल पनि बढ्दै गएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयले मन्त्रालयको अनुमति लिएर आउन भन्दै काठमाडौं पठायो।

त्यसपछि उनी उल्टो मोटरसाइकल कुदाएर नेपाललाई विश्वसामु चिनाउने छु भन्दै गृहमन्त्रालय र पर्यटन मन्त्रालय तथा बोर्डमा पुगे। तर मन्त्रालयले अनुमति दिएन। ०६८ सालमा सिंहदरबारमा उल्टो कुदाउँदा कर्मचारी पत्रकारले फोटो र भिडियो खिचेपछि टेलिभिजनमा समाचार आयो। त्यसपछि उनलाई बोलाएर काठमाडौंको रिङरोडमा समेत कुदाउन लगाइयो।

त्यसपछि उनले मन्त्रालयबाट अनुमति पाए। मेची महाकाली गर्नको लागि गृह र पर्यटनले एकसाथ अनुमति पत्र दियो। अनुमति पत्र लिएर आएपछि उनले चन्दा उठाउन सुरु गरे। चन्दाबाट ६०/७० हजार जम्मा भएको थियो। त्यही पैसाले ‘शान्ति र संविधान, युवाको अभियान, भ्रष्टचार मुक्त राष्ट्र निर्माण गरौं, पर्यटन वर्ष २०११ सफल पारौं, पर्यटकलाई आर्कषण गरौं, भन्ने नारा लिएर उल्टो मोटरसाइकल यात्रामा निस्के।

०६८ भदौ १९ गते झापाको मेचीपुलबाट सुरु गरेको उल्टो यात्राले २३ गते भदौ दोधारा चाँदनीमा पुगेर समाप्त गरे। बीचबीचमा नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतले सुरक्षा दियो। बाटोबाटोमा खान, बस्न र पेट्रोलको समेत खर्च गरिदिने दाइहरु भेटे।

चन्दा उठाएको पैसामा अरु पैसा जम्मा गरेर गाईघाट फर्के। ‘चन्दा उठाएर खर्च गर्न गएको,’ चित्र भन्छन्, ‘उल्टै जम्मा गरेर फर्कंदा दंग परें।

त्यसपछि मोटरसाइकल कुदाएको समाचार प्रकाशन / प्रसारण भएपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन बोलाइयो। मागेको प्रमाण पु¥याएर २०११ गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालय लन्डनमा पठाए। उल्टो मोटरसाइकल कुदाउनेमा विश्वमा पहिलो भएको जानकारी आयो।

‘हातमा प्रमाण पत्र मात्र छैन,’ कार्की भन्छन्, ‘प्रक्रिया अलि लामो भएकाले ढिलै आउँछ रे, मलाई गएको मार्च १५ मा प्राप्त भएको इमेलअनुसार अप्रिलभित्र पाउने भएको छु।’

कीर्तिमानी युवा संघ गठन गर्दै चित्र

उल्टो मोटरसाइकल यात्री बनेका चित्र हिजोआज समाज रहेका फरक प्रतिभा खोजी गर्दछन्। त्यसैका खोेजी गर्दै प्रतिभा देखाएर गिनिजबुकमा नाम लेखाएकाहरुसँग सहकार्य गरेर देशैभरि कीर्तिमानी युवा संघ गठन गर्न थालेको छन्।

‘अहिले ७५ जिल्लामध्ये ६४ जिल्लामा कीर्तिमानी युवा संघ गठन गरिसकेको छु’ कार्की भन्छन्,‘अहिले विभिन्न संघ सँस्थाबाट साथसहयो समेत प्रप्त हुन थालेको छ, त्यही भएर समाजमा लुकेर बसेका प्रतिभा खोज्न मेरो कर्तव्य सम्झने गरेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • thank you bidur sir n thahakhabar.com pariwar prati