|

  • रमेश रावल-

कालिकोट :  कालिकोट जिल्लाका सडकमा जडीबुटी बेच्नेको भीड बढ्न थालेको छ। सडक सञ्जालले छोएपछि यहाँका मानिसहरु करौडोको जडीबुटी बेच्ने भएका हुन्। कर्णालीलाई जल, जंगल र जडीबुटीका लागि धनी मानिन्छ।

तिनै कर्णालीका मानिस अहिले सडक सञ्जालले छोएपछि कर्णाली राजमार्गको छेउछाउमा अहिले करौडौंको बहुमूल्य जडीबुटी बेच्ने गरेको दृश्य जताततै देख्न सकिन्छ। शनिबार बिदाको दिन भएकाले स्कुले ससाना नानीदेखि महिला र वृद्धवृद्धाहरु भारीका भारी जडीबुटी बेच्न कर्णाली राजमार्गको सडकमा प्रसस्त देख्न सकिन्थ्यो।

कर्णाली राजमार्गमा टाढाको गाउँबाट सडकमा जडीबुटी बेच्न आएकी कालिका गाउँपालिका–६ की कक्षा ६ मा अध्यायनरत छात्रा अमृता आचार्यले शनिबार सडकमा ठेकेदारले जडीबुटी ल्याएर आउनु भनेकोले जडीबुटी बेच्न बिहानै ५ बजे भोकै सडकमा जडीबुटीको भारी बोकेर आएको बताइन्।

‘ठेकेदारले जडीबुटी ल्याएर सडकमा आउनु भनेका थिए।’ उनले स्थानीय एक पसलमा भोकले चाउचाउ खाँदै भनिन्, ‘अहिलेसम्म पनि उनी आएका छैनन्।’

गाउँमा स्थानीय ठेकेदारहरुले जडीबुटीको उत्खनन् गर्नका लागि आग्रह गर्ने र त्यसैअनुसार आपूmले सडकसम्म जडीबुटी ल्याउने गरेको कालिका गाउँपालिका–५ का केशबहादुर शाहीले बताए। ‘जंगलबाट जडीबुटी टिपेर सडकसम्म ल्याउनु भनेर स्थानीय ठेकेदारले हामीलाई भन्ने गर्छन्।’ उनले भने, ‘त्यसैको आधारमा आफूले सडकसम्म जडीबुटी ल्याउने गरेको छु।’

जंगलमा लोपोन्मुख अवस्थामा रहेको सतबीज नामको जडीबुटीको अहिले बजारमा निकै माग भएका कारणले उत्खननको कार्य तीव्र रुपमा हुने गरेको छ। अब सतबिज सधैंका लागि मासिने अवस्थामा पुगेको कांग्रेसका जिल्ला नेता नन्दबहादुर शाहीले बताए। ‘गाउँमा लोपोन्मुख जडीबुटीको व्यापक उत्खनन भइरहेको छ।’ उनले भने, ‘सतबीजको माग बजारमा निकै रहेको छ।’

गाउँबाट सडकसम्म बोकेर ल्याएको सतबिज जडिबुटीको ठेकेदारले आफुहरुलाई किलोको १ सय रुपैयाँ दिने गरेको बजार मुल्य कति छ त्यसको बारे आफूलाई कुनै पत्तो नभएको स्थानीय संकलनकर्ता रणबिर शाहीले बताए । ‘गाउँबाट भोकै हिँडेर सडकसम्म पुर्‍याउँदा किलोको १ सय रुपैयाँ दिने गरिन्छ।’ उनले भने,–‘त्यसको राष्ट्रिय बजार मूल्य कति छ । हामीलाई केही पनि पत्तो छैन।’

कर्णालीबाट बर्षेनी अर्बोको जडीबुटी जाने गरेको भएपनि राजश्व भने न्यून रुपमा देखाइने गरेको स्थानीयबासीको गुनासो रहेको छ । जडीबुटीको अवैध उत्खननका कारणले बहुमूल्य जडीबुटी मासिने अवस्थामा पुगेको कालिकोटका समाजसेवी चन्द्रप्रसाद कोइरालाले बताए। ‘संरक्षण र सम्बर्द्धन केही छैन।’ उनले भने,‘केवल दोहनले मासिने अवस्थामा पुगेको छ।’

शनिबार कर्णालीको कालिकोट सडकखण्डमा मोल्फादेखि साविकको सदरमुकामनजिक गाउँबाट बहुमूल्य जडीबुटी बोकेर राजमार्ग छेउछाउ भारीका भारी जडीबुटी बेच्नका लागि स्कुले स–साना नानीहरुदेखि महिला र बृद्ध मानिसको लामो घुइँचो लाग्ने गरेको त्यसैको रकमबाट परिवार पाल्ने जोहो हुने गरेको कालिकोटका स्थानीय करवीर बिकले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.