|

पाराग्वेका राष्ट्रपति होरासियो कार्टसले संविधानमा संशोधन गर्ने तयारी गरेपछि आक्रोशित भिडले संसद भवनमा आगो लगाइदिएका छन्। बीबीसीका अनुसार राष्ट्रपति पदमा दोस्रोपटक चुनाव लड्न पाउने व्यवस्था गर्ने विधेयक संसदमा प्रस्तुत गर्न लागेपछि प्रदर्शनकारीहरुले पाराग्वेको संसद भवनमा आगो लगाएका हुन्।

शुक्रबार राति भएको प्रदर्शनमा संसद भवनमा आगो लगाइएको हो। त्यस्तै संशोधन विधेयकको समर्थनमा रहेका सांसहरुका कार्यालय र सवारीसाधनमा समेत लुटपाट गरेका छन्।

प्रदर्शनकारीहरुले संसद भवनका झ्यालका सीसा समेत फुटाएका छन्। प्रदर्शनका क्रममा चलेको गोली लागेर १ प्रदर्शनकारीको मृत्यु भएको विपक्षी पार्टीले जनाएको छ।

पाराग्वेमा ३५ वर्ष लामो एकलौटी शासन पछि सन् १९९२ मा जारी गरिएको संविधानमा संसोधन गरेर राष्ट्रपतिको कार्यकाल एकपटकका लागि ५ वर्षको हुने व्यवस्था राखिएको थियो। जसमा वर्तमान राष्ट्रपति होरासियो कार्टसले संशोधन गरेर दोस्रो कार्यकालका लागि चुनाव लड्न पाउने गरी संविधान संशोधन गर्न चाहेका थिए।

राष्ट्रपति कार्टसको कार्यकाल सन् २०१८ मा सकिदैछ।  

प्रदर्शनका क्रममा भएको झडपमा प्रदर्शनकारी, नेता र सरकारी अधिकारीहरु घाइते भएको स्थानीय समाचार संस्थालाई उल्लेख गर्दै बीबीसीले लेखेको छ।

राष्ट्रपति कार्टसले शान्ति कायम राख्न आग्रह गरेका छन्। उनले भनेका छन्, 'लोकतन्त्रलाई हिंसाद्वारा हराउन र बचाउन सकिदैन। म विश्वास दिन चाहान्छु यो सरकार गणतन्त्रलाई अझ सुदृढ बनाउन प्रयासरत रहनेछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.